इञ्जिनीयर्स एशोसियसन नेपालको परिणाम आउने क्रम जारी

63 Shares

सुर्खेत । इञ्जिनीयर्स एशोसियसन नेपाल कर्णाली प्रदेश कार्यकारिणी समितिको सभापतिमा प्रगतिशील सङ्गठनका सोनालाल यादव विजयी भएको छ ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा शुक्रबार सम्पन्न निर्वाचिनबाट प्रगतिशील सङ्गठनका यादव नेतृत्वको सिङ्गो प्यानल विजयी भएको प्रमुख निर्वाचन अधिकृत जगदीश लामिछानेले जानकारी दिए ।

उहाँका अनुसार सभापति यादवले १०५ मत ल्याएर विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक सङ्गठनका हरि केसीले ९९ मत ल्याउनुभएको थियो ।

त्यस्तै, प्रगतिशीलका उपसभापति नवराज खतिवडाले ११० मत ल्याएर विजयी हुनुभएको छ भने उहाँका निकटतम् प्रतिद्वन्द्वी खुमबहादुर भण्डारीले ९३ मत प्राप्त गरेको थियो ।

त्यसैगरी प्रगतिशीलका सचिव ताराकेशर वाग्लेले १२२ र लोकतान्त्रिक सङ्गठनका सचिव जनक भट्टराईले ८१ मत प्राप्त गर्नुभएको थियो । प्रगतिशीलकै सहसचिव रवीन महतले १३१ र उहाँका प्रत्यासी किशोर विसीले ७३, कोषाध्यक्षमा विशाल अधिकारीले १२१ र लोकतान्त्रिकका माधव रिजालले ८१ मत प्राप्त गर्नुभएको प्रमुख निर्वाचन अधिकृत लामिछानेले बताए ।

प्रगतिशीलका सदस्यमा देवेन्द्र भट्टराई, टीकाराम पोख्रेल, तुलराम शर्मा, उज्ज्वल गिरी, कुमार खेमसुन्दर शाही, यज्ञप्रसाद आचार्य, गोविन्द खत्री, मेघराज खत्री, जीवन कठायत र हेमराज राना विजयी हुनुभएको छ । केन्द्रीय कार्यकारिणी समिति सदस्यमा प्रगतिशीलका कृष्णप्रसाद पाण्डे विजयी भएको छ ।

नेपाल इञ्जिनीयर्स एशोसिएसनको ३२औँ कार्यकारिणी समितिको निर्वाचनअन्तर्गत भएको कर्णाली प्रदेशको यो निर्वाचनमा २२५ जना कूल मतदातामध्ये २०५ मतदाता सहभागी भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार