बौद्धनाथमा ६ दिने दसौं ञिङ्मा मोन्लाम शुरु

  आचार्य सार्की शेर्पा
231 Shares

काठमाडौं । बौद्धनाथमा ६ दिने दसौं ञिङ्मा मोन्लाम शुरु भएको छ । विश्व प्रसिद्ध बौद्धहरूको महान् तीर्थस्थल, विश्व सम्पदामा सूचिकृत बौद्धनाथ छोर्तेन ज्यरुङ खशोरको नजिकै रहेको शेर्पा सेवा केन्द्र (शेर्पा गोन्पा)मा ६ दिने ञिङ्मा मोन्लाम शुरु भएको हो ।

नेपाल बौद्ध ञिङमा संघको आयोजनामा सोमबार पौष शुक्लपक्ष दशमीदेखि पुर्णिमासम्म ६ दिने दसौं नेपाल ञिङ्मा मोन्लाम (प्रणिधान पूजापाठ) कार्यक्रम शुरु भएको हो । नेपाल बौद्ध ञिङमा संघले २०६६ सालदेखि वार्षिक रुपमा पवित्रस्थल बौद्धनाथ चैत्य परिसरमा यो मोन्लम कार्यक्रम आयोजना गर्दै आएको भए तापनि बौद्धनाथ चैत्य दर्शन तथा परिक्रमा (कोरा) गर्नेहरुलाई असहज हुने भएकाले यस वर्षदेखि शेर्पा सेवा केन्द्र (शेर्पा गोन्पा)मा कार्यक्रम गरिएको बताइएको छ ।
शाक्यमुनि गौतम बुद्धको जन्मभूमि नेपाल लगायत विश्वमै दिगो शान्ति, सुख, समृद्धि फैलाउन, नेपालमा रहेका बौद्ध तीर्थस्थलहरूको प्रचारप्रसार एवं धार्मिक तथा सांस्कृतिक महत्वलाई अक्षुण राख्न र आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धनको साथै नेपालमा दिगो शान्ति स्थापना गर्नको लागि यो मोन्लाम कार्यक्रम आयोजना गरिएको नेपाल बौद्ध ञिङ्मा संघका अध्यक्ष सेङ्डाक टुल्कु रिन्पोछेले बताए । दैनिक विहान ७ः३० देखि अपरान्ह ४ बजेसम्म हुने पाठपूजा कार्यक्रममा महायान बौद्ध परम्परा अनुसार विहान शरण गमन, बोधिचित्त उत्पाद, प्रज्ञापरामिता हृदय सूत्र, आचार्य पद्मसम्भवका सप्त परिच्छेद, आर्य भद्रचर्या प्रनिधान राजा, आर्य मञ्जुश्री नाम सांगीति, तारा स्तुति आदिको साथै मंगल परिणामनाको पाठ गरिन्छ ।

व्यक्तिगत स्वार्थ र खुशीको सानो परिधिबाट माथि उठेर समस्त प्राणीहरूको हितार्थ बौद्धमार्गीहरूले सामूहिक रुपमा सम्पूर्ण प्राणीहरूको सुख, शान्ति र संवृद्धिको कामना गर्दै बौद्ध भिक्षु, श्रमणेर, श्रमणेरिका, उपसक, उपसिकाहरूले लयबद्ध रुपमा मोन्लाम मन्त्र पाठ गरिन्छ । पूजा स्थलमा रांगीचंगी विभिन्न आकारमा निर्माण गरिएको तोर्मको साथै आठ प्रकारका पूजा र निर्माल जलले सजाएर पूजा गर्ने चलन रहेको छ । आफुले मन्त्र पाठ गर्न नआए पनि रिन्पोछेहरूको दर्शन र लामाहरूले सामूहिक रुपमा पाठ गरेको देख्न र सुन्न मात्र पाएपनि आफुलाई मनमा शान्ति भएको पूजामा उपस्थित श्रद्धालु भक्तजनहरूको भनाई छ ।

पाठपूजा मोन्लम कार्यक्रममा विशिष्ठ धर्म गुरु परम पूज्य नम्खा रिन्पोछे, परम पूज्य तेङबोछे रिन्पोछे, परम पूज्य देफुक टुल्कु रिन्पोछे, परम पूज्य टुल्कु रिन्जीन पेमा रिन्पोछे, परम पूज्य कोन्छोग छिरिङ रिन्पोछे, परम पूज्य मरकोम रिन्पोछे, परम पूज्य पेमा थरछिन रिन्पोछे, परम पूज्य गेटक रिन्पोछे साथै नेपालका विभिन्न जिल्लाका गोन्पाहरूबाट हजारौं बौद्ध भिक्षु, श्रमणेर, श्रमणेरिकाहरूको साथै उपसक, उपसिकाहरूको उलेख्य उपस्थिति रहेको छ ।
पुष २ देखि ७ गतेसम्म ६ दिनसम्म आयोजना हुने मोन्लाम कार्यक्रममा विभिन्न संघ–संस्थाहरूबाट स्वयं सेवकहरूले सरसफाईसँगै मोन्लाममा उपस्थित भिक्षु, श्रमणेर, श्रमणेरिका, उपसक, उपसिका र श्रद्धालु भक्तजनहरूलाई चिया, खाजा, खाना वितरण गर्ने कार्यमा साथ दिई रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार