कुलुङ नयाँ वर्ष र मिनारी-दाचाम्

  निनाम कुलुङ ‘मंगले’
245 Shares

राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा एकसय २५ जातजाति र एकसय २३ भाषाभाषी छन् । ती जातजाति र भाषाभाषीमध्येमा पर्ने एक जाति हो-कुलुङ । तर, नेपाल सरकार र केही आईएनजिओ/एनजिओले भने हालसम्म कुलुङ जातिलाई अन्य जातिसरह अलग्गै जातिका रुपमा मानीसकेका छैनन् । अर्थात् आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८ को दफा दुई (क) अनुसार कुलुङ जातिलाई हालसम्म सूचीकृत गरिएको छैन । तापनि कुलुङ जातिले २०५७/०५८ देखि प्रतिष्ठान ऐन (तत्कालीन जनजाति विकास समिति) २०५८ को दफा दुई (क) अनुसार कुलुङ जातिलाई पनि आदिवासी जनजाति सूचीमा सूचीकृत गरियोस् भनी आन्दोलन सुरु गर्यो । फलस्वरुप २०६५ चैतमा नेपाल सरकारले डाक्टर ओम गुरुङको संयोजकत्वमा ‘उच्चस्तरीय आदिवासी जनजाति अध्ययन तथा पुनः सूचीकरण कार्यदल’ गठन गर्यो । सो कार्यदलले अध्ययन गरी सिफारिस र थप गरेको २५ वटा नयाँ जातिको सूचीमा भने कुलुङ जातिलाई पनि समावेश गरेको छ । तर सो कार्यदलले आफ्नो अध्ययन प्रतिवेदन र सिफारिस सरकारलाई बुझाएको पनि लगभग ८ वर्ष भैसकेको छ । तापनि कुलुङ लगायत थप भएका जाति सूचीकृत हुन सकेका छैनन् । जनगणना २०६८ मा उल्लेख भए अनुसार कुलुङ जातिको जनसंख्या २८ हजार ६ सय ३३ रहेको छ भने कुलुङ मातृभाषीको संख्या लगभग ५ हजार बढी अर्थात् ३३ हजार १ सय २८ रहेको छ । उता कुलुङ जातिको मातृ संस्था ‘नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघ (कूलू गूसखोम)’ का महासचिव इन्द्र होनीत्ती कुलुङको भनाइ अनुसार कुलुङ जातिको जनसंख्या एकलाख ६० हजारभन्दा बढी रहेको छ । उनका अनुसार कुलुङ जातिको उत्पत्ती थलो (सोलुखुम्बु जिल्लाको महाकुलुङ क्षेत्र) जस्तै छेस्खाम, बुङ, गुदेल, सोत्तो, पावै, संखुवासभा, भोजपुर, इलाम, सुनसरी, मोरङ, झापा, काठमाण्डौ लगायत जिल्लामा बाक्लो वस्ती रहेको छ भने धनकुटा, तेह्रथुम, ताप्लेजुङ, पाँचथर, कास्की, ललितपुर, भक्तपुर, उदयपुर, महोत्तरी, सर्लाही, मुस्ताङ, मनाङ, बागलुङ, सुर्खेतलगायत जिल्लामा कुलुङहरुको पातलो वस्ती रहेको छ । यसरी नेपालका २९ भन्दा बढी जिल्लामा कुलुङ जातिको बसोवास रहेको छ भने भारतको दार्जिलिङ, सिक्किम, आसाम, नागाल्याण्ड, मणिपुर, देहरादुन अनि म्यानमार, भुटान, हङकङ, बेलायत, अष्टे्रलिया, क्यानडालगायत देशमा पनि कुलुङहरु रहेको भेटिएको छ ।
कसैले स्वीकारे पनि नस्वीकारे पनि नेपालको वास्तविक चिनारी भनेकै यहाँको विविधता, भाषिक विविधता, सांस्कृतिक विविधता, धार्मिक विविधता, भगौलिक विविधता आदि नै हो । त्यसैले त नेपालको भगौलिक एकीकरणका अभियन्ता मानिएका तथा तत्कालीन गोरखा राज्यका राजा पृथ्वीनारायण शाहले समेत नेपाललाई ‘चार जात र छत्तीस वर्णको साझा फूलबारी हो ।’ भनी सकारेका थिए । हुन पनि कुलुङ जातिको उत्पत्तिथलो अर्थात् ऐतिहासिक भूमि भनेको सोलुखुम्बु जिल्लाको छेस्खाम, बुङ, गुदेल, सत्तो (सोताङ), पावै लगायत साविकका गाविस हुन् जुन हाल महाकुलुङ गाउँपालिका र सोताङ गाउँपालिका भएको भने उक्त क्षेत्रलाई विगत लामो समयदेखि ‘महाकुलुङ’ भनेर चिनिन्छ । नेपालका अन्य जातजातिको जस्तै कुलुङ जातिको पनि आफ्नै विशिष्ट खालको जीवनचक्र, जातीय संरचना, भाषा, धर्म, संस्कार, संस्कृति, परम्परागत कानुन, चाडबाड, रीतिरिवाज, भेषभुषा, गरगहना, बाजागाजा आदि छ । त्यसैले कुलुङ जातिले मनाउने विभिन्न चाडबाड, पर्व र उत्सवहरुको प्रसंगमा लेख्ने क्रममा यहाँ कुलुङ जातिको नयाँ वर्ष अर्थात् ‘नीङ दोङ’को पहिलो महिना ‘चाक्चाकुर’को अवसरमा मनाइने मिनारी–दाचाम् चाक्चाकस्ुरका बारेमा केही लेखने जर्मो गरिएको छ । किनभने, यो पनि कुलुङ समुदायले मनाउने विभिन्न चाड वा पर्वहरुमध्ये एक प्रमुख चाड÷पर्व हो । ‘चाक्चाकुर’ भनेको अंग्रेजी महिनाको जनवरी, नेपाली महिनाको वैशाख भने जस्तै कुलुङ जातिको जीवनचक्र अनुसार नयाँ वर्ष सुरु हुने पहिलो महिनाको नाम हो । यसरी विक्रम संवत्को हरेक पुस १५ गतेदेखि कुलुङ जातिको नयाँ वर्ष ‘यले दोङ ’सुरु हुन्छ ।
‘नेपाल किरात कुलुङ भाषा संस्कृतिथ उत्थान संघ (कूलू गूसखोम)’ ले विसं २०६१ र २०६८ मा सुनसरी जिल्लाको धरानमा आयोजना गरेको पूर्खा सम्मेलनमा भेला भएका कुलुङ पूर्खाहरुका अनुसार प्राचीन कालमा कुलुङ समुदायले चाक्चाकुरको अवसरमा ‘मिनारी–दाचाम्’ चाड मनाउँदा बाँसको ढुंग्रोमा भात र तिहुन पकाएर बाँसकै चोयाले बुनेको डालोम राखी बाँसको खपटा वा पातमा पस्केर खाने गरिन्थ्यो । यसरी बाँसको ढुंग्रोमा पकाएको भात र तिहुनलाई कुलुुङ भाषामा ‘पितितिम’ भनिन्छ । विक्रम संवत् अनुसार पुस १५ गते कुलुङ समुदायको नयाँ वर्ष सुरु हुन्छ भन्ने त माथि उल्लेख भएको छ । खासमा १५ गते नयाँ वर्षको पहिलो दिन गोरु काट्ने (महाकुलुङ लगायत कुलुङ समुदायको बाक्लो वस्ती भएका क्षेत्रहरुमा), दोस्रो दिन १६ गते नयाँ अन्न प्रयोग गर्ने र, १७ गते नयाँ अन्न/भित्र्याउने/भण्डारण गर्ने गरिन्छ । यो कार्यलाई कुलुङ भाषामा ‘मिनारी-दाचाम्’ भनिन्छ । त्यस्तै कुलुङ जातिमा चाक्चाकुरको अवसरमा मनाइने मिनारी-दाचाम् चाडको अवसरमा पहिलो दिन आ–आफनै घरमा मीठो मसिनो जे छ, त्यही खाएर मनाउने गरिन्छ भने दोस्रो दिन चेलीबेटीहरु माइतीहरुको दीर्घायु, सुख, शान्ति र सफल जीवनयापनको कामना गर्न र आशिष दिन आफ्नो माइतीघर आउने प्रचलन छ । यस कार्यलाई कुलुङहरु ‘तोबूवा दोलम्’ भन्छन् भने तेस्रो दिन माइतीपक्ष पनि चेलीबेटीलाई उही रीतले आशिष दिन छोरीचेलीको घर जाने गरिन्छ । यस कार्यलाई ‘तोबूवा पिलम्’ भनिन्छ । हरेक जातजातिले मनाउने चाडपर्वको सुरुवात कसरी भयो ? भन्नेबारेमा विभिन्न किम्बदन्ती वा विश्वासहरु रहने गरेको छ । त्यस्तै कुलुङ जातिले मान्ने ‘मिनारी-दाचाम्’ चाड अर्थात् ‘चाक्चाकुर’ मनाउने सम्बन्धमा कुलुङ जातिमा रहेको किम्बदन्ती र विश्वास अनुसार ‘कुलुङ जातिका विभिन्न आदिम पूर्खामध्ये खार र दुम्दुलिमको दुई छोरी र एक छोरा खोक्चिलिप गरी तीन सन्तान थिए । यिनीहरु सानो छँदै खार र दुम्दुलिमलाई सोक्पा (वनमान्छे) खायो । ती दिदीबहिनीले सानैमा खोक्चिलिपलाई छाडेर गए । खोक्चिलिपले आफ्नी श्रीमती वेइलिम्मालाई आफ्नो दुई दिदीहरु भएको बताए । त्यसो हो भने दिदीहरुलाई खोजेर ल्याउन त भनी वेइलिम्माले भनेपछि खोक्चिलिप आफ्ना दिदीहरु खोज्न गए । नभन्दै भाइ र दिदीहरुको भेट भयो । तर, दिदीहरुले भाइ मरीसकेको ठानेका थिए । यसरी अकस्मात भाइसँग भेट भएपछि दिदीहरु आश्चार्यमा पर्नुका साथै पश्चाताप पनि गरे । तापनि भाइको आग्रहमा भाइको घरमा गएर नयाँ अन्न/बालीबाट पाकेको/बनेको मिठो/मसिनो खाए, पिए, नाचगान गरेर रमाइलो गरे ।’ यसरी कुलुङ जातिमा त्यस दिनदेखि चाक्चाकुर मनाउन थालियो ।
हाल आएको जातीय चेतनासँगै ‘महाकुलुङ’ बाहेकका कुलुङ जातिको घना वस्ती भएका विभिन्न जिल्लाहरु जस्तै भोजपुर, संखुवाशभा, इलाम, सुनसरी, मोरङ, झापा, तेह्रथुम, धनकुटा, काठमाण्डौ, भक्तपुर, ललितपुर, कास्की लगायत जिल्लाहरुमा पनि विभिन्न कार्यक्रमसहित ‘चाक्चाकुर’ मनाउने क्रम बढेको छ । तर राज्यले जाति मान्नु र नमान्नुमा कति फरक छ भने पुस १५, १६ र १७ मा पर्ने कुलुङ जातिको चाड/उत्सव चाक्चाकुरको बारेमा भने, नेपालका कुनै पनि प्रकारका मिडियाहरु (अनलाइन, प्रिन्ट, रेडियो, अडियो, टिभी आदि) ले प्रचार प्रसार गर्दैनन् । तै बिसेक त्यही समयमा पर्ने गुरुङ जातिको चाड ल्होसारको अवसरमा आयोजित नाचगान (समाचार नदिए पनि) को फोटोसम्म प्रकाशित गर्छन् ! तर, कुलुङ जातिको चाड÷उत्सव चाक्चाकुरको बारेमा भने थाहै नपाए झैं गर्छन्, नेपाली मिडियाहरु ! त्यसैले ‘के गर्नु र खै ? तिमी हाँस पो म बसौंला रोई ।’ भने झैं भएको छ, कुलुङ जातिका लागि, नेपाली मिडियाहरु ! जे होस्, काठमाण्डौमा रहेका कुलुङ समुदायबीच भने हरेक वर्षको पुस १५ अघिको शनिबार नाचगानसहितको औपचारिक कार्यक्रम गरेर हरेक वर्ष नयाँ वर्ष चाक्चाकुर मनाउने गरिएको छ । यो वर्षको नयाँ वर्ष ‘चाक्चाकुर–येले दोङ ५०७९’ पनि गत शनिबार कठमाण्डौस्थित धुम्रबराहमा रहेको एसआर बैंकेटमा औपचारिक कार्यक्रम गरेर मनाइयो । त्यस्तै सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा पनि यसपटक राष्ट्रिय कलाकरहरुको सांस्कृतिक कार्यक्रम आयोजना गरी ‘चाक्चाकुर–येले दोङ ५०७९’ मनाइदैछ ।
तर,यसरी चाक्चाकुर मनाउने क्रममा कहिले ‘नीङ दोङ’फाइम चाक्चाकुर भनेर, कहिले ‘नीङ दोङ’फाइम चासुम लो चाक्चाकुर भनेर कहिले मिनारी–दाचाम् ‘नीङ दोङ’फाइम चाक्चाकुर भनेर कहिले को के भनेर …. कहिले के भनेर …. कार्यक्रम गर्नुमा भने औचित्य नदेखिने मात्रै होइन कि, ‘नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघ (कूलू गूसखोम)’ ले विसं २०६१ र २०६८ मा सुनसरी जिल्लाको धरानमा आयोजना गरेको पूर्खा सम्मेलनमा देशको विभिन्न भागबाट सकी नसकी भेला भएका हाम्रा महान र आदरणीय कुलुङ पूर्खाहरुको भनाइ र सुझावअनुसार ‘मिनारी– दाचाम् (चाक्चाकुर)’ भनी मनाउनुपर्ने सुझावलाई पारित गरिएको पूर्खा (बुढापाका) हरुको सल्लाह–सुझाव र भावनालाई नै अनादर गरेको सम्झन्छन्, महाकुलुङ क्षेत्रको बुङ निवासी तथा मानवशास्त्रका विद्यार्थी अर्जुन मान्थेर्बु कुलुङ । त्यसैले कुलुङ समुदायले मनाउने पर्व मिनारी–दाचाम (चाक्चाकुर) को अवसरमा आयोजक हुने वा भएका साथीहरुले यस विषयमा सोच्नुपर्ने देखिन्छ , मनन् गर्नुपर्ने देखिन्छ । kehinajannekulung@gmail.com 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार