चाक्चाकुरमा कण्डम वितरण गरिएकोप्रति सामाजिक सञ्जालमा हंगामा, कुलुङ संघको आपत्ति

581 Shares

काठमाडौं । किराती समुदाय अन्तर्गत कुलुङहरुको महान चाड चाक्चाकुरमा कण्डम वितरण गरिएको कार्यको सामाजिक सञ्जालमा विरोध र समर्थनको ओइरो लागेको छ । महाकुलुङ गाउँपालिकाको छेस्काममा धुमधामका साथ मनाइएको चाक्चाकुरमा छेस्काम स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीले चाक्चाकुरमा आएकाहरुलाई हात मिलाउने बहानामा कण्डम वितरण गरेको थियो ।

किरात राई पत्रकार संघका केन्द्रीय महासचिव भक्त राईले भने सो कार्यको समर्थन गरेका छन् । उनले फेसबुक वालमा लेखेका छन्, प्रथमत : किरात कुलुङ समुदायको महान चाड मिनारी दाचाम निङ फाइम दोङ ( चाक्चाकुरको सवैमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
दोस्रो : छेस्काममा आयोजित चाक्चाकुर महोत्सवमा कण्डम बाडिएको विषयमा उठेका सवालहरुमा मेरो बुझाई राख्न चाहान्छु । यो कार्य मेरो नजरमा आपत्तिजनक छैन, वरु यसको स्वागत नै गर्दछु । किनभन्ने सवालमा मेरो बुझाई ।
१. संयुक्त राष्ट्र संघले गास बास कपास संगै शिक्षा, स्वास्थ्य मनोरन्जन, सुरक्षा र यौनलाई पनि आधारभूत आवश्यकताका रुपमा परिभाषित गरेको छ । त्यसैले यसलाई साह्रै अपाच्य विषय र इज्जत प्रतिष्ठाका विषय बनाइनु हुदैन । तपाई हामी सवै यौन कार्यका उपज हौ । यौन सम्पर्क गर्नेहरु बेइजति हुदैनन् मात्र सवाल सामाजिक दायराको हो । छाडापनलाई बढावा दिनुपर्छ भन्ने मेरो मत छैन । तर कण्डम बाड्दा छाडापन वढ्छ भन्ने मलाई लाग्दैन ।
२. म समाजशास्त्र र आमसंचार तथा पत्रकारिताको विद्यार्थी भएको नाताले महाकुलुङमा केही गम्भिर सामाजिक सवालहरुमा अव हामीले निर्ममतापूर्वक वहस गर्नैपर्छ भन्ने लाग्छ ।
क. तुस प्रथा : तुस प्रथा पहिलो हाम्रा पुर्खाहरुले मनोरन्जन लिने एउटा टुल्सका रुपमा प्रयोगमा ल्याएका होलान त्यस हदसम्म स्वीकार्य थियो । तर हाम्रा पुर्खाहरुको केही आधारभूत आचारसंहिता थियो त्यसैले पनि त्यसलाई स्वीकार गरिएको हुनसक्छ, तर हाम्रो पुस्तासम्म आइपुग्दा यो स्वच्छन्द मनोरन्जनको साधन बन्यो । एक ठाउमा भेला भएर खेल खेलेर (हाह्हई भाले जुदाई), गीत गाएर मनोरन्जन गर्ने तुस अहिलेसम्म आइपुग्दा किशोर किशोरीको शयनकक्षमा मात्र सिमित भएको सत्य हो । सायद इमान्दारितापूर्वक स्वीकार्ने हो भने वहसमा उत्रिरहेका तपाई हामी सवैले यो स्च्छन्दताको उपभोग गरेकै हौला । हिजोको हाम्रो गलत प्रथाको एउटा सिकार म आफै हुँ ।
ख. वाल विवाह : हाम्रो ठाउमा वाल विवाहको दर अन्यको तुलनामा उच्च भएकै हो । यकिन तथ्यांक सायद कोही संग नहोला तर वाल विवाहको दर सर्भे नै गरेर खोज्ने हो भने अंकगणितीय सुत्र लाएर हेर्ने हो भने अपत्यारिलो परिणाम आउछ । यसमा पनि रोचक पक्ष के हो भने अन्य ठाउमा बाल बिबाह अभिभावकले गराइदिन्छन । हाम्रो वस्तुस्थिती त्यस्तो होइन, वाल वालिका आफै मिलेर विवाह गर्छन ।
ग. विवाहको प्रकृति : विवाह सम्बन्धी ऐन कानुन वा नियमावली हेर्ने हो भने विभिन्न प्रकारका वैवाहिक विधि उल्लेख छ । तर हाम्रो गाउमा त्यस भन्दा विलकुल फरक ढंगले विवाह हुनेको तथ्य प्रति हामी कति सचेत छौ । वाल वालिकाहरु आफै मिलेर विहे गर्ने प्रचलन छ । त्यसमा पनि अधिकांश चाहेर होइन नचाहादा नचाहादै वैवाहिक जीवनमा बाध्यात्मक तवरले प्रवेश गर्छन । किनभने वालिका गर्भवती भएपछि वाध्य भएर अभिभावकले विहे गराइदिनु परेको तथ्यमा किन बहस नगर्ने ? हाम्रो गाउँमा अभिावकले रोजेर मागी विवाह नभएको कति समय भयो ? हामी कहिल्यै घोत्लिएका छौ ? यसमा यौनका कुरा जोडिएर आउदैन र ? कानूनतः वाल विवाह भए सजायको भागिदार अभिभावक हुन्छ, हाम्रो सवालमा अभिभावकहरुले वालवालिकालाई यौन सम्बन्ध स्थापित गर्न लगाएको अर्थ लगाउने त ?

घ. विग्रदो पारिवारिक सम्बन्ध : हाम्रो गाउमा पारिवारिक सम्बन्ध विग्रने दर पनि सुक्ष्म ढंगले अध्ययन गर्ने हो भने डरलाग्दो स्थितीमा छ । अन्य ठाउमा फरक पृष्ठभूमीका महिला र पुरुषविच अन्य आयामहरुमा विचार नमिलेपछि छुट्टिने प्रचलन रहेपनि हाम्रोमा सानामा विहे गरेकाहरु पारिवारिक जिम्मेवारी वहन गर्ननसकेकैले छुट्टिएका होइनन र ? त्यसो भए साना नानीहरुलाई यौन शिक्षा दिनुपर्छ की पर्दैन ? हामी अभिभावकको यो कर्तव्य हुन आउछ की आउदैन ?
३. कण्डम वितरणको सन्दर्भ : कण्डम वितरण गर्दा छेस्काम रेडलाइट एरिया हो भनेर पनि सवाल उठाइए । रेडलाइट एरिया भन्नाले सरकालाई कर तिरेर सिमित क्षेत्रमा यौन व्यसाय गर्ने स्थान भन्ने बुझिन्छ, के छेस्काममा कसैले त्यसरी यौन व्यवसाय गर्छु भनेर सरकारवाट अनुमति लिएको तपाई संग प्रमाण छ ? के सरकारले अनुमति दियो भने नेपालमा यौन व्यवसायलाई बैधानिक व्यवसायका रुपमा परिभाषित गर्ने कानुन बनेको छ ? कृपया तपाई बुझाईलाई फराकिलो बनाउनुहोस । यौन कार्य हुने सवै स्थान रेडलाइट एरिया हो भने तपाईको घर कसरी अछुतो रह्यो ? तपाई यौन कार्यको उपज होइन र ? कि हिन्दु धर्म शास्त्र अनुसार तपाईलाई पनि पार्वतीले मयलबाट गणेश भगवान जन्माए जस्तै जन्माइएका हुन ? कण्डम वाड्दा चेलीबेटी असुरक्षित भए, उनीहरुको अस्मिता माथि खतरा भयो भन्ने साथीहरुलाई मेरो सवाल के कण्डम वाड्नु भनेको बलात्कार गर्ने लाइसेन्स हो र ? त्यसो भए त सवै औषधी पसल, खुद्रा पसल अनि स्वास्थ्य संस्थामा बलात्कार गर्ने लाइसेन्स थोरै मुल्यमा पाइन्छ । त्यसरी अपव्याख्या गरिनुहुन्न ।
४. अर्को सवाल पनि मनन गरौ, करिव ५० कै दशकमा तत्कालिन श्री ५ को सरकारले चाहिए जति लैजानुहोस भनेर प्रत्येक वडामा वाकसमा कण्डम निशुल्क वितरण गरेको होइन र ? त्यही वाकसको कण्डम कसैले कोही नभएको मौका पारेर निकाल्यो भने होला नत्र आफ्नै साथीको अगाडीको समेत निकाल्न लाज मान्ने हामी नै होइनौ र ? कण्डम किन्न लाज मानेकाले फाप्लु अस्पतालमा अवैध गर्भपतन गराउने को को छन ? खोजी गरेका छौ ? यस परिस्थितीमा स्वास्थ्य चौकीले हात मिलाउने वाहानामा खुसुक्क कण्डम दिएर राम्रो गर्यो भन्ने मलाई लाग्छ ।
५. चाक्चाकुर मै किन बाड्नु : यस सवालमा पनि मेरो केही मत छ । यो कार्य चाक्चाकुर पर्खेर गर्ने कार्य मात्र चाही होइन । अन्य अवसरमा पनि गरेमा स्वास्थ्य चौकी परिवार थप धन्यवादको पात्र वन्छ नै तर अहिले पनि वितरण गर्नै पथ्र्यो । किनभने महाकुलुङमा स्थापित हुदै गएको पर्व चाक्चाकुर हो । अन्य पर्वहरु उल्लासपूवर्क मनाउने प्रचलनको विरोध पनि हामीले नै गरेका हौ । यस अर्थमा पर्व मनाउन भेला हुने क्रम बढेको छ । चाक्चाकुर महोत्सवमा धेरै युवा युवतीको जमघट हुने भएपछि बढि असुरक्षित यौन सम्पर्क हुने जोखिम रहेको कुरा सत्य हो । यसरी मानिसहरुको जमघट हुने ठाउमा कण्डमको व्यापार बढ्ने वा निशुल्क वितरण गर्ने काम के हामी कहा पहिलो पटक भएको हो र ? विश्वकप फुटबलका बेला एकैदिन १ करोड हाराहारी कण्डल विक्री भयो भन्ने समाचार हामीले नसुनेका हौ र ? त्यसले आयोजक राष्ट्रको वेइजत भएको छ र ? भर्खरै सकिएको विश्वकप फुटबलमा रुसमा सरकारले विना कण्डम विदेशी पाहुना संग यौन सम्पर्क नगर्न सार्वजानिक रुपमा आव्हान गरेको घटना तपाईलाई थाहा छ ?

६. महिलाहरु किन असहमत हुने : यो कार्यपछि केही महिलाहरु असहमत भएको पनि पाइयो । तर महिलाहरुले त अझ खुसी हुनुपर्ने होइन र ? किनभने यौन तथा प्रजननको अधिकार पुरुषलाई नभई महिलालाई दिइएको छ । कण्डमको प्रयोगले अनिच्छित रुपमा प्रजनन कार्य नगर्नुपर्ने कुरामा किन खुसी नहुने ? महिलाहरुको असहमतिमा छेस्काममा कण्डम थापेका पुरुषले जवरजस्ती गर्न खोज्यो भने त्यसका विरुद्ध सवैभन्दा अगाडी हामीले नै आवाज उठाउनु पर्छ । तर आफ्नो सहमति हुदा त कण्डमले महिलाको यौन तथा प्रजनन अधिकार सुरक्षित गरेको होइन र ?
७. मिडियामा प्रकाशनको विषय : केही मित्रहरुको तर्क त्यहा जे भएपनि मिडिया आएकाले झन बेइजत भयो भन्ने सवालमा मेरो भन्नु यति छ मिडियाले आफ्नो धर्म निभाएको मात्र होइनमा हाम्रा सामाजिक सवाल उठाइदिएको किन धन्यवाद नदिने ? हामी गलत प्रथाको विषयमा बहस गर्दा बास्तविकता उदांगियो भनेर किन रोइलो गर्ने ? के हामीलाई गलत प्रथा थाहा पाउदा पाउदै पनि राम्रै भएको नाटक गरिरहने ढोंगी समाज निर्माणमा उद्धत छौ ?
निष्कर्ष : मेरो भनाईको तात्पर्य के हो भने हामीले पश्चिमा शैलीमा स्वच्छन्द ढंगले यौन कृयाकलाप गर्नुपर्छ भन्ने मेरो समर्थन होइन, तर सुरक्षित ढंगले सामाजिक मर्यादा ख्याल राखेर गरिने यौन कार्य त्यति निर्मम प्रश्न उठाइनुहुन्न । सुरक्षित यौनका लागि कण्डम आवश्यक छ । त्यो कण्डम सर्वसुलभ नभएको अवस्था, हुदा पनि लिन जान लाज लाग्ने अवस्थामा वितरण गरेर ठिक कार्य भएको मेरो ठहर छ । वितरण गर्नुको मतलव प्रयोग हुनैपर्ने वाध्यकारी कानुन बनाएको भए गलत हुने हो । कहिलेकाही म कोहीसंग नजिक हुन्न भन्दा पनि परिस्थिती त्यसरी निर्माण हुदा आफुसंग सुरक्षित साधन भयो भने पेट वोक्नु त पर्दैन । यसले हाम्रो गाउँको बेइजत भएको छैन बरु स्वास्थ्यका विषयमा सचेत छन् सुरक्षित यौन कृयाकलाप गर्छन भनेर हाम्रो प्रतिष्ठा बढेको छ ।
अव हामीले हाम्रा समाजमा रहेका गलत प्रथाहरु माथि निर्मम ढंगले समिक्षा नगरिकन विकास र समृद्धी तर्फ जान सक्दैनौ । अर्को तर्फ हामी अहिले संवेदनशी भएको पहिचान को जुन मुद्धा छ त्यो कुलुङ भनिदा मात्र पूर्ण हुदैन । कुलुङहरु कस्ता छन भन्दा शिक्षित, प्रतिव्यक्ति आयका अगाडी, चेतनाको तह उच्च, स्वस्थ्य आनीवानी भन्ने पहिचान थपिदा मात्र वास्तविक रुपमा गर्व गर्न लायक पहिचान हुन्छ ।
मित्रहरु नभुलौ महाकुलुङमा एभरेष्ट बैकले शाखा विस्तार गर्दा त्यहीको व्यवस्थापनमा स्नातक गरेको जनशक्ति खोज्दा मुस्किलले केही भेटिए त्यो पनि निकै मेहनत गरेर खोज्दा । त्यो विषय चाही बरु हाम्रो गाउकै बेइजत भएको मेरो निश्कर्ष छ । मेरो नीजि विचारले कसैको भावनामा ठेस पुर्याएमा पहिले नै क्षमा प्रार्थी छु । मैले विषय बुझिन भने बुझ्ने मौका दिनुहोला भन्ने आग्रह पनि गर्न चाहान्छु ।
कण्डम वितरण गरिएकोमा नेपाल किरात कुलुङ भाषा सँस्कृति उत्थान संघले प्रेस विज्ञप्ती निकाल्दै आपत्ती जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार