अनसन बस्न डा. केसी ३ बुँदे माग सहित इलाम पुगे

98 Shares

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राख्दै आन्दोलनरत डा. गोविन्द केसी १६ औं अनसनका लागि इलाम पुगेका छन् । आफ्नो माग पूरा गर्न आजसम्मको अल्टिमेटम दिएका केसी सत्याग्रहको तयारीका लागि इलाम पुगेका उनका सहयोगी अभिषेकराज सिंहले जानकारी दिएका छन् ।

केसीले बुधबारदेखि अनसन बस्ने तयारी गरेका छन् । केसीले १६ औं अनसनका लागि सरकारसँग ३ बुँदे माग राखेका छन् । पहिलो बुँदामा उनले १५ औं सत्याग्रहका क्रममा गत साउन १० गते सरकारसँग भएको सम्झौता कार्यान्वयनको माग गरेका छन् । उनले आफूसँग भएको सम्झौता बमोजिम अक्षरस संशोधन गरेर संसदबाट चिकित्सा शिक्षा ऐन पारित गर्न माग गरेका छन् ।
सातै प्रदेशमा मेडिकल कलेज खोल्ने काम अघि बढाउन, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसको भर्ना अविलम्ब खोल्न पनि केसीले माग गरेका छन् । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनअनुसार दोषी ठहर देखिएका त्रिभुवन विश्वविद्यालयका पदाधिकारीलाई बर्खास्ती गर्न पनि उनले माग गरेका छन् ।
दोस्रो मागमा केसीले निर्मला पन्तको बलाकार बलात्कार र हत्यामा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी मुद्दा चलाउन माग गरेका छन् । त्यस्तै प्रमाण नष्ट गर्ने, झुटा प्रमाण बनाउने, यातना दिने, न्याय माग्न गएका व्यक्तिमाथि गोली चलाई हत्या, अंगभंग गर्ने व्यक्तिहरूमाथि तत्काल फौजदारी मुद्दा चलाउन पनि माग गरेका छन् । तेस्रो बुँदामा केसीले सरकारको निर्णयको उल्लंघन गरी काठमाडौं विश्वविद्यालयले तोकेको शुल्क तत्काल फिर्ता लिई दोषी पदाधिकारीमाथि कारबाही गर्न माग गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार