‘पूर्खाको आत्मसम्मानका लागि शेर्पा स्वायत्त प्रदेश’ : नेता शेर्पा

161 Shares

काठमाडौं । शेर्पा स्वायत्त प्रदेशको मुद्धा ओझेलमा परेको बेला हिमालयन शेर्पा सांस्कृतिक केन्द्रका निर्वातमान अध्यक्ष तथा संघीय फोरम नेपालका केन्द्रीय सदस्य लाक्पा शेर्पाले ‘पूर्खाको आत्मको सम्मानको लागि शेर्पा स्वायत्त प्रदेश’ स्थापना जरुरी रहेको बताएका छन् । हिमालयन शेर्पा सांस्कृतिक केन्द्रद्धारा आयोजित ग्याल्पो लोसार २१४६ विशेष कार्यक्रमलाई सम्बोधन गर्दै नेता शेर्पाले पहिचानको आधारमा शेर्पा स्वायत्त प्रदेश हुनुपर्ने बताएका हुन् ।

संघात्मक राज्य व्यवस्था स्थापना भई मुलुक तीन तहको सरकारमार्फत अघि बढीरहेको बेला शेर्पाको यस्तो अभिव्यक्तिलाई राज्य सञ्चालकले अर्थपूर्ण रुपमा लिनुपर्ने बताइएको छ । शेर्पा लगायत उत्पीडित समुदायले पहिचानको आधारमा राज्यको नामकरण हुनुपर्ने र स्वायत्त प्रदेश हुनुपर्ने लगायतका माग राखि निरन्तर आन्दोलन गरिरहेका छन् । त्यस्तै, विभिन्न दलहरुले पहिचान र सामाथ्र्यका आधारमा प्रदेशको नामकरण हुनुपर्ने, उत्पीडित वर्गको अधिकार सुनिश्चितताको लागि संविधान संशोधन हुनुपर्ने माग पनि उठाइरहेका छन् ।
शेर्पा स्वायत्त प्रदेश आन्दोलन परिचालन समितिको संयोजक समेत रहेका शेर्पाले ‘हिमाली भूभागमा वसोवास गर्ने शेर्पा र हिमाली समुदायको आफ्नो छुट्टै भाषा, संस्कार, परम्परागत मान्यता र मौलिकता रहेकोले त्यसलाई जोगाई राख्न स्वायत्त प्रदेश स्थापना जरुरी रहेको’ उल्लेख गरे । शेर्पा स्वायत्त प्रदेश कुनै राजनैतिक दल, अमूख संस्था वा व्यक्तिको मद्धा नभई पूर्खाको आत्मसम्मान र जातिको पहिचान सहित मुलुकको समृद्धीका लागि आवश्यक विषय भएको प्रष्ट पार्दै शेर्पाले भने ‘सल्लेरीमा गएर प्रचण्डले बख्खु लगाएपछि वा उपेन्द्र यादवले सोलुखुम्बुमा पुगेर घोषणा गरेपछि मात्रै शेर्पा स्वायत्त प्रदेशको माग उठेको हैन । हामीले आफ्नो थातथलोको रक्षा, निरन्तर विकास र आत्मसम्मानका लागि स्वायत्त राज्य स्थापनाको कुरा उठाएका हौं ।’
शेर्पा स्वायत्त प्रदेश विना शेर्पाहरुको जातीय मुक्तिको कुरा परिकल्पना समेत गर्न नसक्ने उल्लेख गर्दै नेता शेर्पाले भने ‘हामीलाई सदियौंदेखि थिचिएर राखियो । हाम्रो गौरवपूर्ण इतिहासहरु नामेट पार्ने प्रयास भए भने कति त नष्ट नै पारि दिए, हामीले अहिलेपनि आफ्नो स्वपहिचानका लागि संघर्ष गर्नु परेको छ । यो विडम्बना हो !’ शेर्पा समुदायले हिमाल आरोहण मात्रै गरेको भनि संकोचित परिभाषा दिने गरेको प्रति आपती जनाउँदै शेर्पाले भने ‘हामीले हिमाल चढेर आफ्नो क्षमता देखाएका छौं । त्यस्तै, मुलुक निर्माण, राजनैतिक परिवर्तनमा समेत शेर्पा समुदायको ठूलो योगदान छ ।’
अहिलेपनि मुलुक एकात्मक राज्य प्रणाली र एकल जाति हाबी भएको दाबी गर्दै शेर्पाले भने ‘हिमाल चढ्न सक्ने शेर्पाले सिहदरबारको पर्खाल उक्लन त्यति गाह्रो हैन । तर, राज्यले हामीलाई अनेक तरिकाले छलि गर्दै फेरि पुरानै दिशातिर पछि धकेल्न खोजिँदैछ ।’ लोसारलाई नयाँ वर्षका साथै अधिकार प्राप्तिका लागि बहस गर्नुपर्ने थलोको रुपमा विकास गर्नुपर्ने बताउँदै शेर्पाले भने ‘ह्यातको मैदानमा हामी नाच हेर्न मात्रै भेला भएका हैनौं । हामी आफ्नो जातिको इतिहास, पहिचान र पूर्खाको विरासतको खोजिका लागि पनि जम्मा भएका हौं । यही पृष्ठभूमिबाट हामी शेर्पा स्वायत्त प्रदेशसहितको राजनैतिक अधिकार स्थापनाको दिशामा अघि बढ्छौं ।’
हिमाली शेर्पाहरुलाई राज्यले उत्पीडनमा पारेको, सेवा सुविधाबाट विमुख गराउदैछ भन्ने बुझ्न बर्तमान सरकारले गरेको भूमि सम्बन्धि व्यवस्थाले प्रष्ट पार्ने बताउँदै शेर्पाले भने ‘हिमालमा १ पटक बाली पाक्छ हामीलाई ७५ रोपनी कायम गरिएको छ । तराई वा अन्य ठाउँमा वर्षमा ३ बाली पाक्छ त्यहाँ विगौंविगा जग्गा राख्न दिएको छ ।’ उनले थपे ‘हिजो हाम्रो खर्कहरु खोसेर सामुदायिक, राष्ट्रिय वन बनाए, अहिले जग्गामा हदवन्दी लगाएर सुकुम्बासी बनाएर खेद्न खोज्दै छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार