स्थानीय जनप्रतिनिधिको पारिश्रमिक शिक्षा क्षेत्रमा खर्च

105 Shares

गलकोट । जननिर्वाचित प्रतिनिधिले पनि पारिश्रमिक पाउने व्यवस्थाको आलोचना भइरहेकै बेला यहाँका एक जनप्रतिनिधिले आफूले पाएको पारिश्रमिक शिक्षा क्षेत्रमा खर्चन थालेका छन् । बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–५ ग्वालीचौरका वडाध्यक्ष अर्जुनप्रसाद खरेलले आफ्नो पारिश्रमिकवापतको रकम वडाको शिक्षा क्षेत्रको विकासका लागि खर्चने भन्दै विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् ।

खरेलले वडाध्यक्ष भएपछि सरकारबाट प्राप्त गरेको पारिश्रमिकवापतको रकमलाई विद्यालयका विपन्न तथा जेहेन्दार विद्यार्थीको शिक्षाका लागि सहयोग पुगोस् भन्दै विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको बताए । उनले ग्वालीचौरको भानु माध्यामिक विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीका लागि दुई लाख ५१ हजार ५५५ को अक्षयकोष स्थापना गरेका हुन् ।
“सामाजिक क्षेत्रमा काम गने भएकाले पारिश्रमिकको अपेक्षा गरेको थिइनँ,” खरेलले भने, “आफूले कार्यकालभरि प्राप्त गरेको पारिश्रमिक विपन्न तथा जेहेन्दार विद्यार्थीका लागि खर्चनेछु,” खरेल उक्त विद्यालयका पूर्व्विद्यार्थी तथा शिक्षकसमेत हुन ।
पन्ध्र वर्ष अनुदान शिक्षकका रूपमा अध्यापन गराएको विद्यालयलाई जनप्रतिनिधिवापतकोे पारिश्रमिक खर्चन थालेको उनले बताए । समाज सेवा गर्नेलाई पैसाभन्दा ठूलो मन चहिने भन्दै खरेलले आगामी दिनमा प्राप्त पारिश्रमिकले वडाकै अन्य विद्यालयमा अक्षयकोष स्थापना गर्ने तथा विपन्न परिवारको खरको छाना विस्थापित गर्नेे लक्ष्य राखेका छन् ।
वडाध्यक्ष भएपछि पूरै समय सामाजिक क्षेत्रमा बिताएका खरेलले श्रीमतीको शिक्षक पेशाबाट आएको रकमले घर खर्च चलाउँदै आउएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार