भारत पाकिस्तान युद्ध हुने सम्भावना आरोप पुष्टी गर्न भारतलाई पाकिस्तानको चुनौती

49 Shares

इस्लामाबाद । विवादास्पद काश्मिरमा केही दिन पहिले भएको घटनामा पाकिस्तानी पक्षको संलग्नता रहेको पुष्टी गर्न पाकिस्तानले भारतलाई चुनौती दिएको छ ।

घटनामा पाकिस्तानी पक्षको संलग्नता रहेको आरोप लगाउँदै पाकिस्तानमाथि आक्रमण गर्ने भारतले चेतावनी दिइरहेका बेला पाकिस्तानले यस्तो चुनौती दिएको हो ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले सरकारी टेलिभिजन मार्फत मङ्गलबार गरेको सम्बोधनमा भारतलाई काश्मिर आक्रमणमा संलग्न भएको प्रमाण दिन चुनौती दिएको छ ।

साउदी युवराज मोहम्मद बिन सलमानको भ्रमणका कारण आफूले ढिलो गरी सम्बोधन गरेको बताउँदै उहाँले भारतले आफूहरुमाथि आक्रमण गरेमा पाकिस्तान पनि प्रतिकार गर्न तयार रहेको बताए ।

गतहप्ता भारत प्रशासित काश्मिरमा आत्मघाती आक्रमण हुँदा ४६ सुरक्षाकर्मीको मृत्यु भएपछि सो घटना पाकिस्तानले गराएको भारतको आरोप छ ।

पाकिस्तानी भूमिबाट सञ्चालित लडाकू सङ्गठन जैस ए मोहम्मदले घटना आफूले गराएको दाबी गरेको छ भने पाकिस्तानी प्रधानमन्त्रीले घटनामा आफ्नो संलग्नता नरहेको र संलग्नताको पुष्टी गर्न चुनौती दिएको छ ।

विनाप्रमाण दोष नलगाउन पनि पाकिस्तानी प्रधानमन्त्री खानले भारत पक्षलाई आग्रह गरेको छ । उहाँले भने, “भारतले पाकिस्तानमा आक्रमण गर्नेबारे सोचेको छ भने पाकिस्तानले पनि प्रतिकार गर्न सोच्ने छ र प्रतिकार पनि गर्नेछ भने ।”

काश्मिर घटनाको अनुसन्धानमा सहकार्य गर्न आफूहरु तयार रहेको बताउदै उहाँले पाकिस्तान आफैँ स्थायित्वतिर उन्मुख भएकाले यस्तो आक्रमण गर्न नचाहेको स्पष्ट पारे ।

उहाँले आरोप प्रत्यारोप छाडेर वार्ताबाट समस्याको समाधान गर्न आह्वान पनि गर्नुभयो । त्यसका लागि पाकिस्तान तयार रहेको खानको भनाइ छ ।

सन् १९४७ मा विभाजन भएदेखि नै दुवै देशले काश्मिर आफ्नो अधीनस्थ हुनुपर्ने दाबी गर्दै आएका छन् । काश्मिरको केही भूभाग पाकिस्तान र केही भारतको अधीनमा छ ।

आणविक हतियार भएका भारत र पाकिस्तानबीच काश्मिरको विषयलाई लिएर तीन पटक युद्ध भइसकेको छ ।

बिहीबारको घटना सो क्षेत्रमा भारतीय फौजलाई लक्षित सबैभन्दा ठूलो आक्रमण भएको बताइएको छ ।

छुट्टी मनाएर काममा फर्कँदै गरेका करिब दुई हजार ५०० सुरक्षाकर्मी लिएर गइरहेका ७८ वटा सवारी साधनलाई लक्षित गरी विस्फोटक पदार्थले भरिएको एक भ्यानले आत्मघाती आक्रमण गरिएको थियो ।

मसुद अजहरको नेतृत्वमा रहेको जैस ए–मोहम्मद आतङ्ककारी समूहलाई पाकिस्तानले पूर्णरुपमा स्वतन्त्रता दिएको र पाकिस्तानको नै नियन्त्रणमा यसले बढावा पाइरहेको भारतको दाबी छ । तर पाकिस्तानले भने अस्वीकार गर्दै आएको छ ।

काश्मिरमा आत्मघाती आक्रमण गर्ने व्यक्ति स्थानीय युवा भएको बताइएको छ । केही वर्षयता धेरै काश्मिरी युवा लडाकू सङ्ठनमा प्रवेश गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार