मूलधारले नसम्झेका प्रथम सहिदः लखन थापामगर

  निनाम कुलुङ ‘मंगले’
147 Shares

विगत लामो समयदेखि नेपालमा १०-१६ माघसम्म सहिद दिवस मनाइने गरिन्छ । यो वर्ष पनि सहिद दिवस कर्मकाण्डीय ढंगले मनाइयो । सहिद दिवस मनाउने क्रमको इतिहास हेर्ने हो भने, ३० वर्षे पञ्चायती व्यवस्थाका हर्ताकर्ता अर्थात् भनौं कि, निर्दलीय पञ्चायती प्रजातन्त्रका हिमायतीहरुले पनि सहिद दिवस मनाउँथे । त्यस्तै विसं २०४७ पछि बनेको प्रजातान्त्रिक सरकारले त झनै सहिद दिवस नमनाउने कुरै भएन । विसं २०६३/०६३ को परिवर्तपछि बनेको गणतान्त्रिक वा भनौं पूर्ण लोकतान्त्रिक सरकारले त झन् छोट्ने कुरै भएन । तर, यसरी सहिद दिवस मनाउने र देशका लागि आहूति दिएका अजर–अमर सहिदहरुलाई सम्झने क्रममा नेपालका, खासगरी मूलधारका भनिएका बुद्घिजीवी, लेखक, विष्लेशक आदिले सहिद दिवस र सहिदहरुका बारेमा बखान गरेर लेख लेख्ने क्रममा नेपालकै पहिलो राजनैतिक सहिद लखन थापामगरलाई भने कहिल्यै सम्झेनन् वा भनौं उनीहरु लखन थापामगरलाई सहिद मान्न नै कञ्जुस्याइँ गर्छन् । यसरी हेर्दा नेपालका मूलधारका भनिएका बुद्घिजीवी, लेखक, विष्लेशक आदिले सहिद दिवस र सहिदहरुका बारेमा बखान गरेर लेख लेख्ने क्रममा कताकता प्रथम सहिदप्रति अन्याय त गरेका छैनन् ? भन्ने आशंका गर्न नसकिने होइन ।

जस्तो कि माथि नै उल्लेख गरियो कि, नेपालका सहिद र सहिद दिवसका बारेमा लेख्दा कहिल्यै पनि, कुनै पनि बुद्घिजीवी, लेखक, विश्लेषकले लखन थापामगरका बारेमा लेखेनन् । त्यस्तै दुर्गानन्द झाका बारेमा पनि मूलधारका भनिएकाहरुमध्ये कमैले लेखे, विगतमा । तर, गत केही वर्षदेखि भने कसैकसैले लखन थापामगर र दुर्गानन्द झाका बारेमा अलग्गै लेख नलेखे पनि उनीहरुको नामसम्म उच्चारण गर्छन् । कसैले त अतिशय ढंगले लखन थापामगर र दुर्गानन्द झालाई किन सहिद मान्ने ? भन्ने आशयको लेख पनि लेख्छन् । उनीहरुले नेपालका प्रथम सहिद लखन थापामगर हुन् भनी धेरै पछिसम्म पनि स्वीकार गरेनन् । त्यस्तै तत्कालीन राजा महेन्द्रलाई बम हान्ने दुर्गानन्द झालाई मृत्युदण्ड दिनका लागि तत्कालीन राज्यसत्ताले मुलुकी ऐन नै संशोधन गर्नु परेको थियो । स्मरण रहोस्, त्यो बेलासम्म नेपालमा ‘मान्छेमा बाहुन र जनावरमा गाई काट्न नपाइने’ व्यवस्था मुलुकी ऐनले गरेको थियो । तत्कालीन राजा महेन्द्रलाई बम हान्ने दुर्गानन्द झा पनि मधेसी बाहुन थिए । त्यसैले झालाई मृत्युदण्ड दिनकै लागि तत्कालीन सरकारले विसं २०२० भदौ १ मा मुलुकी ऐनमा संशोधन गरेको थियो ।
तर, यहाँ नेपालका प्रथम सहिद लखन थापामगरका बारेमा केही चर्चा गर्ने प्रयास गरिन्छ । वास्तवमा नेपालका मुलधारका भनिएका मिडिया र लेखक, बुद्घिजीवी र विश्लेषक भनिनेहरुले खासै महत्व नदिए तापनि लखन थापामगरलाई राज्यस्तरबाट (मन्त्रीपरिषदले) निर्णय गरेर नेपालका प्रथम सहिद ‘लखन थापामगर’ हुन भनी घोषणा गरेकोे पनि दुई–दुई पटक भैसकेको छ । भलै माथि नै भनिए भैंm नेपालका बुद्धिजीवीहरु खासगरी लेखक, पत्रकारहरुको नजरमा पर्दैनन्, लखन थापामगर । राज्यको परिभाषा अनुसार गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र दशरथ चन्द गरी चारजना नेपालका प्रथम सहिदहरु हुन् भने टंकप्रसाद आचार्य, रामहरि जोशी लगायतचाहिं जिउँदा सहिदहरु हुन् ! स्वर्गीय धर्मरत्न यमीले आफ्नो किताव ‘नेपालका कुरा’मा भने झैं ती जिउ“दा सहिदहरु पनि त्यो बेलाको कानुनमा ‘मान्छेमा बाहुनलाई र जनावरमा गाईलाई काट्न/मार्न नपाइने’ भएकाले मात्रै उनीहरुले जिउ“दा सहिद हुने अवसर पाएका हुन् । जे भए पनि मरेर जाने सहिदहरु गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र दशरथ चन्द जिउ“दा सहिदहरु टंकप्रसाद आचार्य, रामहरि जोशी लगायतले एकसय चारवर्षे राणाशासन विरुद्ध विगुल फुकेका थिए । यस बारेमा कसैको विमति रहेन । तर एकसय चारवर्ष लामो राणा शासनका सुत्रधार र सुरुवातकर्ता जंगबहादुर राणालाई आजभन्दा लगभग एकसय ४० वर्षअघि नै हाँक दिँदा एकजना लखन थापामगर भन्ने मान्छेले गोरखा जिल्लाको बुङकोटमा सहादत प्राप्त गरेका थिए भन्नेबारेमा भने कमैलाई मात्र थाहा छ ।
गोरखा जिल्लाको बुङकोटमा जन्मिएका लखन थापामगरको खास जन्म मिति थाहा नभए तापनि उनी स्वयम पनि विक्रम संवत् १९११ मा २० वर्षको उमेरमा उनका पिता पूर्खाले जस्तै मगरहरुको पल्टन (पुरानो गोरख गण) मा सेनामा क्याप्टेन पदमा भर्ती भए । सन् १९१४ मा भारतमा बेलायतीहरुले खडा गरेको कम्पनी सरकारको अंग्रेज सैनिकविरुद्ध भारतीय सैनिकहरुले ठूलो विद्रोह गर्यो । अंग्रेज सैनिक विरुद्ध भारतीय सैनिकले गरेको यो विद्रोहलाई अंग्रेज सैनिकहरुले मात्रै दवाउन नसकेपछि नेपालका तत्कालीन प्रधानमन्त्री तथा श्री ३ महाराज रहेका जंगबहादर राणा आफै नेपाली सेनाको नेतृत्व गर्दै २५ पल्टन नेपाली सेना लिएर भारतको लखनऊतर्फ लागे । जसमा मगरहरुको पल्टन (पुरानो गोरख गण) मा रहेका लखन थापामगर, जयसिंह चुमीमगर, कालीबहादुर गणका श्रीपद गुरुङलगायतका सैनिक अधिकृतहरु पनि सामेल थिए । यसरी सैनिक विद्रोह दबाउने क्रममा निर्दोष ेजनताहरुलाई पनि निर्मम ढंगले हत्या गरिएको दृश्य अनि हालसम्म पनि ‘लखनऊ लुट’को नामले परिचति लखनऊका नबाव अलि शाहको दरबारमा रहेका श्रीसम्पत्ति लुट्ने क्रममा देखिएको उश्रृंखलता देखेपछि लखन थापामगरको मनले शान्ति पाएन । खासगरी भारतीय जनताहरुको भारतलाई बेलायतीहरुको पन्जाबाट मुक्त गर्ने चाहनालाई नजिकैबाट देखे ।
नेपाल आएपछि गाउँलेहरुलाई ठाऊँ–ठाऊँमा भेला गर्दै चेतना फैलाउन थाले । यसरी केन्द्र (काठमाण्डौ) मा जंगबहादुरको अत्याचार र अन्याय बढी रहँदा उता लखन थापामगरले भने गोरखामा आफ्नै राजद्रोही (हालको भाषामा भन्दा विद्रोही) सरकार गठन गरेर मुख्तियार हालको भाषामा (प्रधानमन्त्री) बने भने जयसिंह चुमीमगरलाई सेनापति (जनरल) बनाए । उनले अन्य सहयोगीहरुमा हालको लमजुङ जिल्लाका सुकदेव गुरुङ, हालको ओखलढुंगा जिल्ला रुम्जाटारका ज्ञान दिलदास र ब्राह्मण कालु लम्साललाई मन्त्री बनाएका थिए । उनले आफ्नै नेतृत्वमा २ हजार सेनासमेत संगठित गरेका थिए । ती सेनालाई गोरखाको बुङकोटमा रहेको काहुले भङ्गारमा ठूलो किल्ला र, किल्लाभित्र तीनतले दरबार, पिटी र परेड खेल्ले मैदान (टुँडीखेल) समेत बनाएका थिए । यस सम्बन्धमा आदिवासी जनजाति चलचित्रकर्मी तथा लेखक संजोग लाफामगरले इतिहासकार प्रमोदशमशेर राणाको भनाइलाई कोड गरेर २०६४ फागुन ४ गते कान्तिपुर दैनिकमा लेखेको एक लेख अनुसार ‘जंगबहादुरले तत्कालीन श्री ५ युवराज सुरेन्द्रलाई मनाएर जंगबहादुर आफै श्री ३ बाट श्री ५ हुन लागेका थिए । तर, लखन थापामगरको जंगबहादुरलाई मार्ने योजना टीकादत्त भुसाल नामक जैसी बाहुन (कसै–कसैले बोर्लाङका थापा क्षेत्रीहरु भन्छन्) ले पोल खोले । त्यसपछि लगभग ५० दिनको शिकारमा निक्लिएका जंगबहादुर १६ दिनमै काठमाण्डौ फर्किएर देवीदत्त बटालियनलाई लखन थापामगरलाई जसरी पनि मार्नू भन्ने आदेश दिएर पठाए । अतः जंगबहादुरको आदेश तामेल गर्न आएको काठमाण्डौको सेना र लखन थापामगरको सेनाबीच बुङकोटमा घोर–घमासान युद्ध भयो । अन्तमा काठमाण्डौको सेनाले विजय हासिल गरेपछि लखन, जयसिंहलगायत उनीहरुका सहयोगीहरुलाई तत्कालै नमारेर पाता कसेर, बाँसको पिँजडामा हालेर काठमाण्डौ ल्याए । त्यसपछि तत्कालै निर्णय गरेर लखन थापामगरलाई मृत्युदण्ड दिइयो । तर, लखनले आफ्नै दरबारमा मर्ने इच्छा व्यक्त गरेपछि त्यही लगेर, झुन्ड्याएर मार्ने आदेश दिइयो ।’ भनिन्छ, यसरी आदेश दिनासाथ जंगबहादरकी रानी मूच्र्छा परिन् ! त्यसैले, तत्कालै पा्रयश्चित गर्दै जंगबहादुरले ‘म बाट ठूलो भूल भयो, लखन थापालाई नमार्नू ।’ भनेर सैनिकमार्फत खबर पठाए । जंगबहादुरले ‘लखन थापालाई नमार्नू ।’ भन्ने खबर सैनिकमार्फत पठाउँदैछ भन्ने थाहा पाएपछि जैसी बाहुन र थापा क्षेत्रीहरुले मस्र्याङदी नदी तर्ने बेनीघाटमै आएर घाटे (नाउ चलाउने) हरुलाई डरत्रास देखाउँदै रकम दिएर आफ्नो पक्षमा पारे । यसरी जंगबहादुरले पठाएका सैनिकहरु तीनदिन ढीला पुग्दा लखन थापालाई उनकै दरबार अगाडि खिर्राको बोटमा झुन्ड्याइएर मारिसकिएको थियो । यसरी लखन थापालाई मारिसकेको खबर पाउनसाथ जंगबहादुर आफै बुङकोट गएर लखन थापाको लाससँग क्षमा मागी पत्थरघट्टाको बाटो हँुदै काठमाण्डौ फर्किएका थिए । यसरी उनलाई झुन्ड्याएर मारेको दिन थियो –विसं १९३३, फागुन २ गते । तापनि यसपटक भने एक मगु मूलका लेखकको लेख नाम चलेको र पूरानो दैनिक पत्रिकामा छापिएको थियो । kehinajannekulung@gmail.com

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार