मन्त्रिपरिषदमा हेरफेरको तयारी ! को को हट्दैछन् ? को को बन्दैछन् !

  पत्रपत्रिका
1k Shares

काठमाण्डौ । नेपाली जनतामा विकास र समृद्धिको सन्देश दिँदै २०७४ साल फागुन ३ गते गठन भएको केपी शर्मा ओली नेतृत्वको दुई तिहाई बहुमतको सरकारको एक वर्षे कार्यकाल निराशजनक देखिएसंगै प्रधानमन्त्रीले मन्त्रिपरिषद पुनर्गठन गर्ने भएका छन् । धेरै ढिलो भएमा २०७५ चैत १५ र १६ गते लगानी सम्मेलन सम्पन्न भए लगत्तै मन्त्रिपरिषद् पुनर्गठन गर्ने प्रधानमन्त्रीले तयारी थालेको बालुवाटार निकट स्रोतको भनाई छ ।

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल २०७५ चैत ३ गते आइतबार साँझ अमेरिका प्रस्थान गर्नु अगाडि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को पुनर्गठनका सम्बन्धमा छलफल गरेको स्रोतको भनाई छ । एक वर्षे कार्यकालको कार्यसम्पादनको मूल्याङ्कनका आधारमा मन्त्रीहरूको फेरबदल गरिने दुई अध्यक्षले मापदण्ड बनाएका छन । सरकारबाट बाहिरिने मन्त्रीहरूमा पहिलो पंक्तिमा खानेपानी मन्त्री बिना मगर, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, उद्योगमन्त्री मातृका यादव र कृषि मन्त्री चक्रपाणि खनालको चर्चा छ । कामको आधारमा मन्त्रिपरिषद्को पुनर्गठन हुने भएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले सरकारबाट बाहिरिने स्थिति रहेको सार्वजनिकरुपमा नै स्वीकार गरेका छन् । अर्थमन्त्री डाक्टर युवराज खतिवडा पनि बाहिरिने संभावना प्रवल छ । तर, प्रधानमन्त्रीले खतिवडाको विकल्पमा अर्को क्षमतावान व्यक्ति नभेटाएकाले खतरा टरेको स्रोत बताउछ । खतिवडा अर्थमन्त्री भएदेखि नेपाली अर्थतन्त्रका सूचकहरू निरन्तर ओरालो लागिरहँदा जनस्तरबाट उनको चर्को आलोचना हुँदै आएको छ । तर, आफूले नै विशेषरुपले मनपराएर अर्थमन्त्रालयको जिम्मा दिइएको खतिवडालाई प्रधानमन्त्री ओलीले यो पहिलो चरणमा हटाउने मनस्थितिमा नरहेको बताइन्छ । उनले आगामी बजेटको विनियोजन र कार्यान्वयन हेर्न चाहेको स्रोतको भनाई छ ।

यसैगरी पुष्पकमल दाहालकी बुहारी भएको प्रचण्डले भिटो प्रयोग गरेका कारणले बिना मगर पनि सरकारबाट नहट्ने बताइएको छ । बद्नाम र असक्षम भएतापनि प्रचण्डले संरक्षण गरेका कारण यो पटक बिना जोगिएकी छिन । संघीय समाजवादी फोरमको कोटाबाट शहरी विकासमन्त्री भएका मोहम्द इस्तियाक राईको पनि एक बर्षे कार्यसम्पादन अत्यन्तै कमजोर रहेको बालुवाटारको मूल्याङ्कन रहेको छ । तर, हाल नै इस्तियाकलाई हटाउने विषयमा सत्ता साझेदार दल समाजवादी फोरमका अध्यक्ष तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सहमति नदिएको बताइन्छ । त्यसो त, मन्त्रिपरिषदका सदस्यहरू हेरफेर गर्दा कुन कुन मन्त्री फेरिने हुन भन्ने यकिन छैन । तर, फेरबदल गर्ने विषयमा प्रधानमन्त्री ओली र अर्का पार्टी अध्यक्ष प्रचण्डको एकमत रहेको बताइन्छ । खासगरी, कामको परिणाम देखाउन नसकेका चरम विवादमा रहेका मन्त्रीहरू बाहिरिने छन् । मन्त्री महासेठले भौतिक पूर्वाधार मन्त्रालयको काममा झमेला झिक्ने सुई र डिईको सरुवामा पीसी र थैलीको वार्गे्निङ गर्ने, सडक आयोजनाका भुक्तानी गर्नुपर्ने लगभग १० अर्बका फाइल रोकेर राख्ने गरेको आरोप छ । भ्रष्टाचार र अनियमितताका मामलामा नेपाली सञ्चार माध्यमका हेडलाइन समाचारमा नाम आइराख्ने महासेठ जनस्तरबाट धेरै आलोचित मन्त्री हुन । सरकारले सिण्डिकेट हटाउन प्रयास गर्दा यातायात व्यवसायीसँग मिलेर हटाउन नदिएको आरोप पार्टी्भित्र महासेठले खेपिरहेका छन् । उनले कयौं साना यातायातका साधन चल्ने सडकमा ठूला यातायातलाई अनुमति दिएका थिए । जुन पछि धेरै विवाद भएको थियो । काम नगर्ने ठेकेदारलाई गिरफ्तार गर्न सरकारले निर्देशन दिंदापनि बेवास्ता गरेको आरोप उनीमाथि छ । तर, महासेठ आपूmलाई कसैले पनि मन्त्रीबाट हटाउन नसक्ने, बरु अर्थ, गृह, परराष्ट्र मन्त्री बन्न सक्छु भन्दै साथीभाइहरूसँग गफ दिंदै हिंड्ने गरेको उनी निकट स्रोत बताउछ ।

पहिलो चरणमा बाहिरिने सूचीमा रहेका मातृका यादवलाई मन्त्री बनेको ६ महिना पुग्नेवित्तिकै हटाउने चर्चा चलेको थियो । यादवले अपेक्षा अनुसारको काम गर्न नसकेकोमा दुबै जना पार्टी अध्यक्ष असन्तुष्ट रहेको बताइन्छ । कृषि मन्त्री चक्रपाणि खनाल मन्त्रालयले वितरण गर्ने अनुदानमा अनियमतता गरेको आरोपले विवादमा पर्दै आएका छन् । स्वयम् प्रधानमन्त्री ओलीले नै कृषकले पाउने सरकारी अनुदान, लुच्चा, बिचौलिया र ठगहरूले खाने, पाउने गरेको आक्रोस सार्वजनिकरुपमा ब्यक्त गर्दै आएका छन् । कृषि मन्त्री, भूमिसुधार मन्त्री पद्मा अर्याल, वन मन्त्री शक्ति वस्नेत पनि फेरिन सक्ने चर्चामा छन् । मन्त्री पद्मा अर्यालले नेतृत्व गरेको मन्त्रालय निकायमा भ्रष्टाचार, अनियमितता र घुसखोरीले सीमा नाघेको जनगुनासो बढेको छ । त्यसैगरी वन मन्त्री बस्नेतले पनि एक बर्षको अवधिमा सिन्को पनि नभाँचेको आरोप छ । प्रचण्डको चाकरी र चाप्लुसी गर्नमै दिन कटाउने बस्नेतलाई पनि हटाउनु पर्ने माग बढेको छ । स्रोतका अनुसार, प्रधानमन्त्री कार्यालयले मन्त्रीहरूको एक वर्षे कार्यकालको वार्षिक समीक्षा र मूल्यांकनमा असफल भएका मन्त्रीहरू जोसुकै भएपनि बाहिरिने चर्चा छ ।
पर्यटनमा योगेशको चर्चा
संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपनि रिक्त मन्त्रालय कसले सम्हाल्ने भन्ने रस्साकस्सी पनि सुरु भएको छ । नेकपाका नेताहरूवीच मन्त्री बन्ने होडबाजी देखिएपनि प्रधानमन्त्री केपी ओलीले अहिलेसम्म निर्णय लिइसकेका छैनन । नेकपाका अध्यक्ष केपी ओली र प्रचण्डबीच केही मन्त्रीहरू पनि फेरबदल गर्नेबारे छलफल चलेका कारण पनि पर्यटनमन्त्री नियुक्तिमा ढिलाई भएको हो ।

नेपाल भ्रमण बर्ष सन् २०२० को काम तीव्रगतिमा अगाडि बढाउनुपर्ने बेलामा मन्त्री नहुँदा कर्मचारीले पनि समस्या महसुस गरिरहेका छन् । भ्रमण वर्ष सुरु हुन नौ महिनामात्रै बाँकी छ । यो नौ महिनाको समय भनेको अन्तर्रा्ष्ट्रिय बजारमा अधिक प्रचार/प्रसार गर्नुपर्ने समय हो । त्यसलै विभागीय मन्त्रीको भूमिका यतिबेला निकै महत्वपूर्ण हुन्छ । नेकपा नेताहरूको भनाईमा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डको चाहना स्वच्छ व्यक्तित्वलाई पर्यटन मन्त्रालयको जिम्मा दिने रहेको बताइन्छ । तर, योगेश भट्टराईले चाहेमा भट्टराइले नै पर्यटन मन्त्री पाउन सक्ने सम्भावना पनि छ । तर, भट्टराई मन्त्री बन्ने सोचमा नदेखिएको चर्चा बजारमा चलिरहेछ । साँघुको जिज्ञासामा भट्टराईले आफू मन्त्री बन्ने विषयमा नेताहरूसँग कुनै छलफल नभएको बताए । त्यसपछिको विकल्पका रुपमा भने सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटा चर्चामा छन् । मन्त्री बास्कोटाले संचार मन्त्रालयमा निकै सक्रियतापूर्वक लागेर एनटीसीको फोर जी सेवा ठेक्का सम्पन्न, आफ्नै स्याटलाइट र सेक्युरिटी प्रेस स्थापना गर्ने जस्तो ऐतिहासिक र महत्वपूर्ण कामको प्रक्रिया अगाडि बढाई सकेकाले प्रधानमन्त्री ओलीको रोजाईमा पर्यटन मन्त्रीमा बास्कोटा पनि पर्न सक्ने चर्चा छ ।
मन्त्री बन्ने चर्चामा
पूर्व माओवादी कोटाबाट तीनजना मन्त्री हटेमा ती स्थानमा रुकुमका जनार्दन शर्मा प्रभाकर, सुदूरपश्चिमका लेखराज भट्ट र सिन्धुपाल्चोकका अग्नि सापकोटाको नाम चर्चामा छ । मातृका यादवको ठाँउमा रौतहटका प्रभु साहको नाम पनि चर्चामा छ । यी सबै जना पहिला पनि मन्त्री भइसकेका छन । जनार्दन शर्मा अघिल्ला सरकारमा उर्जा र गृहमन्त्री भएका थिए । उर्जा क्षेत्रमा माफिया राज समाप्त पार्ने प्रयास थालेका शर्माले लोडसेडिङ हटाएर नेपाली जनताको मन जितेका थिए । सुदूरपश्चिमका प्रभावशाली नेता भट्ट यस अघि यातायात मन्त्री भएका थिए । ओली मन्त्रिपरिषदममा सुदूरपश्चिमबाट सिनियर नेता मन्त्री नबनाएकोमा दुबैजना अध्यक्षको आलोचना हुँदै आएको थियो । त्यस्तैगरी सापकोटा वनमन्त्री भएका थिए ।

पूर्व एमालेको कोटामा रहेका महासेठको स्थानमा महेश बस्नेत आउने चर्चा पनि छ । बस्नेत पहिले पनि उद्योग मन्त्री बनिसकेका हुन् । उनी प्रधानमन्त्री केपी शर्मा ओलीको खास मानिन्छन । प्रधानमन्त्री ओलीको स्थायी बासस्थान भक्तपुरका बस्नेतलाई मन्त्री बनाउन ठूलो दवाव रहेको स्रोतको भनाई छ । त्यस्तै यज्ञराज सुनवार जस्ता दोहो¥याएर निर्वाचन जित्ने नेकपाका केही सांसदहरूलाई पनि मन्त्री बनाउनु पर्ने माग पार्टीभित्र उठ्ने गरेकाले मन्त्री बन्ने चर्चा छ । अन्य सांसदहरू पनि पर्यटन मन्त्री बन्ने दौडमा लागेका छन् । झापाका सांसद एलपी साँवा लिम्बु र दोलखाका सांसद पार्वत गुरुङसम्मले मन्त्री बन्ने प्रयास गरिरहेको नेकपा स्रोत बताउछ । वैदेशिक रोजगार व्यवसायी एलपी प्रधानमन्त्री ओलीलाई झापाको सम्बन्ध र निकटता देखाएर मन्त्री बन्ने दौडमा लागेको चर्चा पनि छ । एलपी अहिले नै मन्त्री बनाई हाल्ने पक्षमा प्रधानमन्त्री ओली सकारात्मक नरहेको स्रोत बताउछ । साथै, पार्वत गुरुड पहिला नै मन्त्री बन्ने लाइनमा रहेका थिए । उनका विरोधीले विवाद खडा गरेर बाटो छेकेको स्रोत बताउछ । साभारः साघुँ साप्ताहिक ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार