पर्वत, १३ भदौ । पर्वतमा निर्माणाधीन मध्य मोदी जलविद्युत् आयोजनाका कारण मोदीखोलाको किनारमा अवस्थित पर्यटकीय स्थल विरेठाँटीबजार जोखिममा परेको छ ।
आयोजनाको व्यवस्थापन पक्षले अव्यवस्थित ढङ्गले खोलामा बाँध लगाउँदा पर्यटकीय बजार विरेठाँटीको बस्ती नै जोखिममा परेको स्थानीयले गुनासो गरेका छन् । समयमै बस्तीक्षेत्रको खोलामा बाँध नहाल्दा पर्वतको सिमानामा रहेको कास्कीको दाङसिङ गाविसमा पर्ने पुलपारी विरेठाँटीमा रहेका १५ घरसहितको बस्ती नै जलविद्युत्का कारणले गर्दा पहिरोको उच्च जोखिममा परेको स्थानीयले गुनासो गरेका हुन ।
विरेठाँटीको लुम्ले गाविसतर्फ पुल वारी क्षेत्रमा बाँध हाल्दा मोदीखोलाले ठूलो वर्षात् हँुदा वारीको पानीको बहावले गर्दा पारीको क्षेत्रमा असर पु¥याउँदा बस्तीलाई नै जोखिममा पारेर पहिरो जान थालेको स्थानीय खगेन्द्र्र गौचनले बताउनुभयो ।
मध्य मोदी जलविद्युत् आयोजना सरोकार समितिका अध्यक्ष मनोज गुरुङले उक्त जलविद्युत्को व्यवस्थापन पक्षसंँग विरेठाँटी क्षेत्रको मोदीखोला वारीपारी दुवै किनारामा बाँध बाध्न माग गर्दा पनि खासै माग सुनुवाइ नभएको बताउनुभयो । तत्काल बाँध बाँध्न नसक्दा हाल मानव बस्ती जोखिममा पर्न गएको गुरुङले बताउनुभयो । आफ्नो क्षेत्रमा स्थापना हुन लागेको उक्त हाइड्रोपावर व्यवस्थापन पक्षले आफूखुसी काम गर्दा विरेठाँटीको बस्तीलाई मोदीखोलाको कटान गर्नाले उच्च जोखिममा पारेको उहाँले बताउनुभयो ।
उक्त आयोजनाका प्रमुख हरि देवकोटाले खोला वारी पहिला बाँध नभएकाले सो क्षेत्रमा बाँध लगाएको बताउँदै खोला पारी पहिला बाँध भएकाले बाँध नलगाएको बताउनुभयो । बस्ती जोखिममा परेको कुरा आफूलाई थाहा नभएको बताउँदै यस विषयमा भने हिउँदमा मात्र सोच्न सकिने उहाँले उल्लेख गर्नु भयो ।
सो आयोजना करिब रु दुई अर्ब ८० करोडको लागतमा निमार्ण कार्य सुरु भएको करिब दुई वर्षमा पाँच प्रतिशत मात्र काम पूरा भएको प्रमुख देवकोटाले बताउनुभयो । रासस