काठमाडौं । उनले अनुभूति गर्न थाल्दा नै लुक्लामा हवाईजहाज आउजाउ भइरहन्थ्यो । हवाईजहाज उडेको, बसेको सबै घरको झ्यालबाटै देखिन्थ्यो । त्यसैले हवाईजहाज कस्तो हुन्छ ? कत्रो हुन्छ ? कति जनासम्म चढ्न मिल्छ भन्ने कौतुहलता उनको मनमा आउँदै आएन ।
हवाईजहाजका विषयमा त्यत्ति धेरै जिज्ञासा नभए पनि हवाईजहाज कहाँबाट उडेर आउँदो हो ? ती गोरा मानिसहरु कहाँ देखि आएका होलान् ? जस्ता प्रश्नहरु भने उनको मनमा खेलिरहन्थ्यो । किनकि पर्यटक सिजनमा धेरै देशका मानिसहरु लुक्लामा हवाईजहाज चढेर आइपुग्थे । ती मध्ये कति त उहाँको घरसम्म पनि आईपुग्थ्यो ।
उनको बुबा चुङबा शेर्पा हवाई यातायातमा संलग्न थिए । बुबाको पेशा हवाई क्षेत्रसँगै सम्बन्धित भएकाले बुबाका साथीहरु प्रायः पाइलटहरु नै हुने गथ्र्यो । कतिपय हेलिकोप्टरका पाइलटहरु उनको घरमै आउथे । दिनहुँजसो पाइलटहरु देखिरहेपनि भविष्यमा पाइलट नै बन्छु भन्ने उनलाई कहिल्यै पनि लागेको थिएन । तर आज उनी कुशल क्याप्टेनको रुपमा आफ्नो परिचय बनाएका छन् । उनी सोलुखुम्बुको खुम्बुपासाङल्हमु गाउँपालिका लुक्लाकी ‘क्याप्टेन बन्द शेर्पा ।’
लुक्लामै जन्मिएर कक्षा ४ सम्मको पढाई उनले महेन्द्रज्योति माध्यमिक विद्यालय चौरीखर्कबाट पूरा गरे । त्यसपछिको पढाई काठमाडौको सरस्वतीनगर स्थित ड्याफोडेल पब्लिक स्कुलबाट शुरु गरे । दशै छुट्टी, कहिले हिउँदे बिदा त्यत्तिबेला लुक्ला गईरहनुपथ्र्यो । एक दिनको कुरा । त्रिभुवन विमानस्थलबाट लुक्ला जानुपर्ने भयो । हवाईजहाज बाहेक अर्को विकल्प पनि थिएन लुक्ला पुग्नलाई । त्यत्तिबेला एयरपोर्टमा चालकदलका सदस्यहरु देख्दा भने उनलाई साँच्चिकै हवाई क्षेत्रमा प्रवेश गर्न मन लागेको थियो रे ! तर पाइलट नै बन्न सक्छु भन्ने चाँहि लागेको रहेनछ ।
‘म चालकदलका सदस्यहरुलाई देखेपछि एकोहोरो भएछु, चिटिक्क परेर युनिफर्ममा सजिएका उनीहरुलाई देख्दा मेरो मनले भनिरहेको थियो, आहा ! कति रमाईलो जिन्दगी, आकाशमा उड्न पाउने । साँच्चिकै म पनि यस्तो हुन पाए कस्तो हुन्थ्यो ? भन्ने चाँहि लागेको थियो । तर पाइलट हुन सकुँला भन्ने लागेको थिएन ।’ उनले पहिलो पटक मनमा पाइलट हुने रहर पलाएको कुरा सुनाए । तिमी चिताउ म पु¥याईदिन्छु भने झैं उनको इच्छासँग बुबाको प्रस्तावले मेल खायो ।
सन् २००७ तिरको कुरा हो । उनका बुबा चुङ्बा शेर्पा, तारा एयरलायन्सको स्टेशन म्यानेजर थिए । स्टेशन म्यानेजर भएपछि पाइलटहरुसँग दिनहुँ जसो अन्तरक्रिया भईरहन्थ्यो । त्यत्तिबेलासम्म पनि तारा एयरलायन्समा ३/४ जना मात्र महिला पाइलटहरु थिए । एक दिन कुरैकुराको सीलसीलामा उनको बुबाले सोधे, ‘पाइलट कोर्स गर्न सक्छौं ? कोर्स गरेपछि उडाउन सक्छौ त ?’ उनले बुबाको प्रस्तावलाई निस्तेज हुन दिएनन् । जवाफमा उनले भने, ‘म सकिहाल्छु नि ? आँट गरेपछि नसक्ने भन्ने हुन्छ ?’ बुबाको इच्छा र उनको रुचि बमोजिम सुरुमा स्टुडेन्ट पाइलट लाइसेन्स लिए । त्यसपछि प्राइभेट पाइलट लाईसेन्स, कमर्सियल पाइलट लाइसेन्स प्राप्त गर्दै अन्त्यमा एयरलायन्स ट्रान्सपोर्ट पाइलट लाइसेन्स प्राप्त गरे ।
एयरलायन्स ट्रान्सपोर्ट पाइलट लाइसेन्स प्राप्त गरेको झण्डै दुई वर्षपछि उनी यति एयरलायन्समा जुनियर को-पाइलट भएर नियुक्त भए । त्यसपछि को-पाइलट र सिनियर पाइलट हुँदै अहिले यति एयरलायन्सको क्याप्टेन भएका छन् । उनी अहिले काठमाडौं-पोखरा, काठमाडौं-भैरहवा, काठमाडौं-जनकपुर, काठमाडौं-भद्रपुरमा उडान गर्छन् । हवाईजहाज उडाउन थालेको ५/६ वर्षको अवधिमा उनी करिब ३५ सय घण्टा भन्दा बढी आकाशमा उडिसकेका छन् । संयोगको कुरा त के भने उनले पाइलट भएपछिको पहिलो उडान आफ्नै ‘बर्थ डे’का दिन उडाएका थियो रे ! आन्तरिक उडान गर्दै आएकी बन्द शेर्पाको अबको लक्ष्य अन्तराष्ट्रिय उडान भर्ने हो ।
लुक्ला एयरपोर्टले जन्माएकी विमानचालक बन्दा शेर्पा
3.2k
Shares