लहान, १३ भदौ । सिरहा जिल्लाको गाउँ गाउँमा यतिबेला शौचालय निर्माणको काम तीव्र रुपमा भइरहेको छ ।
सिरहा जिल्लालाई सन् २०१६ भित्र खुला दिसामुक्त जिल्ला घोषणा गर्ने उद्देश्यका साथ हालसम्म जिल्लाका २० वटा गाविस खुला दिसामुक्त घोषणा भइसकेको छ ।
घरघरमा शौचालयको पहुँच पु¥याएर खुला दिसामुक्त घोषणा गर्ने योजनाअनुसार कुल ६३ गाविसमध्ये हालसम्म २० वटा गाविस घोषणा भइसकेको जिल्ला खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समिति सिरहाले जनाएको छ ।
घोषणा गर्न बाँकी ४३ वटा गाविसमा पनि तीव्ररुपमा शौचालय निर्माणको काम भइरहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय लहानका इञ्जिनियर कृष्ण साहले जानकारी दिए ।
सन् २०१५ भित्र खुला दिसामुक्त जिल्ला घोषणा गर्ने लक्ष्य राखिए पनि गत वर्षको मधेस आन्दोलनका कारण प्रभावित भएको थियो ।