नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पार्टी एकता भएको लामो समयपछि बल्ल जिल्ला र स्थानीय कमिटि आधिकारिक रुपमा गठन भएको छ । पार्टी एकता भएको एक वर्षभन्दा बढि नेकपाका जिल्ला र स्थानीय तहका नेताहरु अन्यौलताकाबीच नेकपाको प्रतिनिधी भन्दै विभिन्न कार्यक्रममा सहभागी भए । आम नागरिकबीचमा अन्यौलता, निराशा र विपक्षी पार्टीको चट्नी भएर एक वर्षभन्दा बढि पार्टीका कार्यकर्ताले समय बिताए ।
नेकपा सोलुखुम्बु जिल्ला कमिटिसँगै गाउँकमिटि पनि आधिकारीक रुपमा गठन भयो । गाउँकमिटिका अध्यक्ष, सचिवसँगै सदस्यहरुले सफत ग्रहण गरे । दुई ठूला कम्युनिष्ट पार्टीको एकतापछि पनि विभिन्न मत भिन्नताहरु छन् । एक वर्षभन्दा बढि समय अन्यौल रहेको नेकपाको स्थानीय कमिटिलगायत समसामयिक विषयमा रहेर सगरमाथा अनलाईनका सम्पादक बुद्धवीर बाहिङले नेकपा नेचासल्यान गाउँकमिटि अध्यक्ष जगन्नाथ वास्तोलालाई ५ प्रश्न सोधेका छन् । हेरौं ५ प्रश्नको सम्पादित अंश ।
सबैभन्दा पहिलो काम के गर्नुहुन्छ ?
पार्टी कमिटिले पूर्णता पाइसकेपछि अब सबैभन्दा पहिलो काम भनेको गाउँपालिका कमिटिले त पूर्णता पायो । त्योभन्दा तल वडा स्तरमा पनि पार्टी कमिटिहरुलाई पूर्णता दिने र त्यसलाई एउटा सिस्टममा लिएर जाने काम गर्नुपर्ने प्राथमिकता छ । यो काम नै हाम्रो कमिटिको पहिलो काम हुन्छ ।
पार्टीको एकतापछि पनि थुप्रै मत भिन्नताहरु छन् ? कसरी लिडिङ गर्नुहुन्छ ?
मत भिन्नता भनेको स्वभाविक हो । यसलाई हामीले अस्वभाविक ढंगले लिनु हुँदैन कतिपय मत भिन्नताहरु हुन्छन् ? तै पनि यसलाई छलफल गर्ने, अन्तक्र्रियाहरु गर्ने र त्यसलाई एक ढिक्का बनाएर पार्टीलाई अगाडि बढाउनका लागि हामीले जो जो कमिटिमा जिम्मेवारीमा रहेका साथीहरु छौं, मैले त्यसलाई प्रयत्न गर्नुपर्छ, यो विषयवस्तु विस्तारै हल भएर जान्छ भन्ने मेरो बुझाई छ ।
स्थानीय जनप्रतिनिधी र पार्टीबीचको सहकार्य कसरी गर्नुहुन्छ ?
स्थानीय जनप्रतिनिधी र पार्टीबीचको सहकार्य स्वभाविक रुपले हुनु जरुरी छ । विगतमा स्थानीय निर्वाचन सम्पन्न भएपछि अहिलेसम्म पार्टी कमिटि नभएको अवस्थामा दुईवटै पार्टीहरु विघठन भएको अवस्था थियो । अन्यौलताहरु सिर्जना भएको थियो । जनप्रतिनिधीहरुले पनि अलिकति आफ्नै हिसाबले कामकाजहरु अगाडि बढाइरहेका थिए भने अब हामीले सबै स्थानीय सरकारले हिजो पार्टीले जुन हिसाबले घोषणापत्रहरु तयार गरेको थियो । निर्वाचनमा जनताकोबीचमा प्रतिबद्धता गरेको थियो । ती उद्देश्यहरु पूरा भए की भएनन् भनेर अब पार्टीले त्यसको समीक्षा गर्छ र त्यो समीक्षा गरेर त्यसपछाडि बाँकी रहेका सबै कामहरुलाई अब यसरी अगाडि बढ्नु पर्छ भनेर जनप्रतिनिधीहरुलाई एउटा गाइडलाईनको रुपमा पार्टी कमिटिले भूमिका निर्वाह गर्छ, गाइडलाईन प्रदान गर्छ ।
गाउँपालिकाको समग्र विकासमा तपाईको भूमिका के हुन्छ ?
गाउँपालिकाको वस्तुगत हिसाबले देखिने प्रकृतिका कामहरुलाई अगाडि बढाउनका लागि चुस्तदुरुस्त हिसाबले अहिले जस्तो चलिरहेका विकासे योजनाहरुलाई पनि दिगो विकाससँग जोडेर ती योजनाहरुलाई समयमै सम्पन्न गराउने विषयमा पार्टीको नेतृत्व भएको हिसाबले त्यो मेरो प्रमुख जिम्मेवारी र प्रमुख कामको रुपमा रहन्छ । त्यो सँगसँगै यसभित्र आवश्यकता पर्ने रोजगारी सिर्जना गर्ने, दिगो विकास र जनतालाई प्रत्यक्ष रुपमा राहत पुग्ने प्रकारका विकास निर्माणका कामहरुमा पनि अन्य निकायहरुसँग पनि समन्वय गर्ने, स्थानीय सरकारहरुसँग पनि समन्वय गर्दै त्यो विषयलाई सहजिकरण गर्दै त्यस्ता कामहरुलाई अगाडि बढाउनका लागि मुख्य भूमिका रहन्छ ।
तपाईको कार्यकालमा नेकपा गाउँकमिटिले आम नागरिकलाई कस्तो प्रभाव पार्ला ?
दुई वटा महत्वपूर्ण कम्युनिष्ट पार्टीहरु एउटा फोरममा आएर अहिले पार्टी एकता भएर यो कमिटिहरु अहिले फर्मेशनको अवस्थामा छ । यसमा कतिपय तालमेलहरु मिलाउन पनि केहि समय खर्च गर्नुपर्ने अवस्था छ । मतभेदहरुलाई चिर्नका लागि पनि बीचबाटै कतिपय हिजोकै संगठनका साथीहरुका पनि केहि विचारहरुलाई पनि त्यसलाई हामीले सापेक्ष ढंगले उनीहरुसँग छलफल गरेर भोलीको लागि निकासको वातावरण तयार गरेर जानुपर्ने सबै कुराहरु भएको कारणले पहिलो विषयवस्तु चाँहि पार्टी संगठनले नमान्ला ? त्यसलाई स्वस्थ हिसाबले अगाडि बढाउनु पर्ने यो दायित्व हुन्छ । त्यो सँगसँगै अब गाउँपालिकाभित्र हाम्रै नेतृत्वको निर्वाचित भएका जनप्रतिनिधीहरु भएको हिसाबले पार्टी र प्रतिनिधीको भूमिकाका कारणले स्थानीय विकासमा अलिकति फरक किसिमको अनुभूति भयो भन्ने हिसाबले नै हामीले कामहरुलाई अगाडि बढाउने गरी हाम्रो प्रयत्न रहन्छ । त्यही कुराहरुमा हामी पनि जोड गरेर जान्छौं । केहि न केहि हामी हिजोको तुलनामा आज फरक अनुभूति हुने प्रकृतिका कामनै अगाडि बढाएर लैजान्छौं ।
को हुन जगन्नाथ वास्तोला ?
वि.सं. २०६० सालबाट औपचारिक रुपमा राजनीतिमा प्रवेश गरेका जगन्नाथ वास्तोलाले १६ वर्ष राजनीतिक जीवन बिताएका छन् । राजनीतिक जीवनमा थुप्रै उतारचढाव भोगेका उनी अहिले परिपक्व राजनीतिकर्मीको छवि बनाएका छन् ।
तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को विद्यार्थी राजनीतिबाट उनले राजनीति शुरु गरेका थिए । माओवादीमा उनी ५ वर्षमात्र टिके । वि.सं. २०६४ सालको पहिलो संविधान सभाको निर्वाचन पश्चात २०६५ सालमा बनेको माओवादी सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै उनले पार्टी छोडे । उनी २०६५ सालबाट तत्कालिन सिपी मैनाली नेतृत्वको नेकपा मालेमा स्थानीय कमिटिमा संगठित भएर राजनीतिक जीवनलाई निरन्तरता दिए ।
वि.सं. २०६७ सालमा मालेको जिल्ला कमिटि सदस्य, २०६८ सालमा अखिल पाचौंको केन्द्रीय सदस्य, २०७१ सालको जिल्ला अधिवेशनबाट नेकपा मालेको पार्टी सचिव, २०७२ सालमा तत्कालिन नेकपा एमालेमा प्रवेश, २०७२ सालमै नेकपा एमाले खुल्ला सदस्यमा निर्वाचित, अनेरास्ववियू जिल्ला इञ्चार्ज, पार्टीको जिल्ला प्रचार विभाग सचिव, २०७४ सालमा स्थानीय तहको सहसंयोजकको भूमिका, स्थानीय निर्वाचनमा नेचासल्यान गाउँपालिकाको संयोजक, प्रदेश र संघको निर्वाचनमा पूर्व एमालेको तर्फबाट प्रदेश ‘क’को निर्वाचन क्षेत्र कमिटिको संयोजक, २०७६ सालमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सोलुखुम्बुको जिल्ला कमिटि सदस्य र नेकपा नेचासल्यान गाउँकमिटिको अध्यक्षको जीम्मेवारी सम्हालिरहेका छन् ।