‘गाउँपालिकामा जनप्रतिनिधीलाई भ्रष्टाचारको आरोप किन आयो ? जनता र पार्टीसँग प्रष्टरुपमा राख्नुपर्छ’ : अध्यक्ष राई

  बुद्धवीर बाहिङ
119 Shares

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता भएको लामो समयपछि मात्र बल्ल स्थानीय तहमा पनि एक भएको छ । कम्युनिष्टको आधार ईलाकाको नामले समेत परिचित सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाको कमिटिका अध्यक्ष सहित सदस्यहरुले भर्खरै सफत ग्रहण गरी पदभार सम्हालेका छन् ।


कम्युनिष्ट पार्टीमा पनि पूर्व एमालेको गढ मानिएको गाउँपालिकामा पार्टीको नेतृत्व गर्ने जिम्मेवारी चाँहि पूर्व माओवादी केन्द्रले पायो । पूर्व माओवादी केन्द्रले पनि गाउँपालिकालाई नेतृत्व गर्नको लागि यूवा नेतृत्वलाई अगाडि सार्यो । नेकपाभित्र केन्द्रदेखि स्थानीय तहसम्म थुप्रै मतभेदहरु छन् । कतिपय जिल्लामा नेकपाले त्यो मतभेदको सामना गरिरहेको छ । यसैको सेरोफेरोमा रहेर सगरमाथा अनलाईनका सम्पादक बुद्धवीर बाहिङ राईले नेकपा माप्यदुधकोशी गाउँकमिटिका अध्यक्ष गौरव राईसँग गरेको कुराकानीको मुख्य अंश ।
सबैभन्दा पहिलो काम के गर्नु हुन्छ ?
हामीले दुई वटा शक्तिशाली कम्युनिष्ट पार्टीहरुको ऐतिहासिक एकता प्रक्रिया अहिले केन्द्र, जिल्लाहुँदै स्थानीय तहसम्म आईपुगेको छ । वडासम्म जोड्ने पहिलो हाम्रो तयारी हुनेछ । संगठनलाई तलसम्म एकता गरीसक्ने पहिलो कार्यभार रहेको छ । दोस्रो कुरा पार्टीको रुपमा स्थापित गर्नको लागि जनता, पार्टी र सरकार तीन वटा विषयलाई एकिकृत बनाएर समृद्धिको बाटोमा मुलुक हिडिरहेको छ । यो समृद्धिको नारालाई पूरा गर्नको निम्ति पहिलो कतव्र्यको रुपमा हामी अगाडि बढ्ने छौं ।
पूर्व एमालेको गढमा तपाई पूर्व माओवादी केन्द्रबाट नेतृत्व लिनु भएको छ । कत्तिको सहज ठान्नु भएको छ ?
मुख्य कुरा त हामी कम्युनिष्ट पार्टीको सिद्धान्त, नीति र विचारप्रति प्रतिबद्धता भएर अगाडि बढिराखेका थियौं । हाम्रो बाटोहरु मात्रै फरक थियो । एउटा समूहले शान्तिपूर्ण तरिकाले नै यो मूलुकको परिवर्तन, विकास, शान्ति र समृद्धि सम्भव छ भनेर एउटा विचारसँग पूर्व नेकपा एमालेको रुपमा अगाडि बढिराखेको थियो । भने, पूर्व एकिकृत माओवादीको रुपमा जो समूह थियो । जसले सामान्य तरिकाले सत्ता परिवर्तन गर्न सम्भव छैन भन्दै विद्रोह मार्फत मात्रै सम्भावना देखेर अगाडि बढिराखेको थियो । हामी आज एकदमै खुशी पनि छौं । कम्युनिष्ट पार्टीको आधार ईलाकाको रुपमा चिनिएको हाम्रो गाउँपालिकाको नेतृत्वको रुपमा मलाई पार्टीले जिम्मा दिएको छ । म पार्टीलाई सर्वप्रथम धन्यवाद दिन चाहन्छौं । दोस्रो कुरा हामी आफू हरेक कुरालाई सकारात्मक हिसाबले लिन जरुरी छ । हामीसँग राजनीतिक भिजन, कार्यदिशा, नीति, कार्यक्रम जनतासमक्ष जाने आँट साहस छ । त्यस कारणले पनि चुनौती त छदैनै छ । थुप्रै अग्रजहरु हाम्रै क्षेत्रबाट जननिर्वाचितको रुपमा र हामीले मानेको नेताहरु पनि भएको ठाउँमा हामीलाई पार्टीले जिम्मा दिएको छ । अझ हामीलाई सहजै हुन्छ । यहाँ नमिलेका कयौं विषयहरु छन्, प्राविधिक र सैद्धान्तिक विषयवस्तु त्यसलाई हामीले मात्रै होइन एउटा नीतिले पनि हल गर्छ । दोस्रो कुरा चाँहि हामीले कसरी काम गर्छौं ? के काम गर्छौं ? हामीलाई पार्टीको विधानले के निर्देशित गरेको छ ? पार्टीको सिद्धान्तले के निर्देशित गरेको छ ? हामी त्यसैको आधारमा चल्ने भएको हुनाले जत्ति सोचिएको छ । त्यत्ति धेरै असहजता छैन ।
नेकपाकै स्थानीय जनप्रतिनिधी भ्रष्टाचारको आरोपमा मुछिएका छन् ? यसलाई तपाईले कसरी हेर्नु भएको छ ?
जनप्रतिनीधिहरु भ्रष्टाचारको आरोपमा मुछिएको जो विषय छ । त्यो एउटा प्रक्रियामा, छलफलको क्रममा छ । कतिपय अदालतमा मुद्धाहरु चलिरहेको छ । मलाई लाग्छ, कतिपय त विरोधीहरुले यो स्थानीय सरकारलाई सफल नहोस भनेर पनि उचाल्ने र मुद्धा लगाउन लगाउने । त्यो माप्यदुधकोशी गाउँपालिकाका निम्ति आफैमा दुर्भाग्यपूर्ण कुरा हो । जसले हाम्रो समाजलाई, हाम्रो गाउँपालिकालाई विकास गर्ने क्रममा अवरोध सिर्जना हुन सक्छ । अब यो भ्रष्टाचारको आरोप जसरी आइराखेको छ । त्यो विषयलाई पार्टी र जनतासामु प्रष्ट रुपमा राख्नु पर्छ । उठेका प्रश्नहरुको उत्तर दिनु जरुरी छ । उहाँहरुले आफूलाई होइन भनेर प्रमाणित गरेर देखाउनु पर्ने जरुरी छ । दोस्रो कुरा जसले आरोप मात्रै लगाइराखेको छ, काम कसरी अगाडि बढिराखेको छ । साँचो पनि हुनु पर्दछ । उहाँहरुले राजनीतिक प्रतिशोधका रुपमा मात्रै त्यसलाई बोकेर जानु भएको भए त्यो चाँहि उहाँहरुनै समाप्त भएर जाने कुरा हो । अब हाम्रो पार्टीले यसलाई हाम्रो गाउँपालिकाका विभिन्न मुद्धाहरुको रुपमा विभिन्न कारणले विवादमा आइराखेको छ । त्यो मुद्धाहरुको विषयमा अब हाम्रो पनि जीम्मेवारी हुन्छ । पार्टीको माथिल्लो नेतृत्वसँग हाम्रो छलफल भैराखेको छ । यहाँको केन्द्रको विवाद, नामाकरणको विषयमा पनि मुद्धा छ भन्ने हामीले बुझेका छौं । यसलाई हल गर्ने प्रयत्न पनि हाम्रो रहन्छ । अब यहाँको जनताको जे अपेक्षा गरेका छन् । यहाँको जनताको आवश्यकता के हो ? यहाँको समाजकालखण्ड के हो ? यहाँको विकासको कामहरुलाई कसरी अगाडि बढाउन सकिन्छ ? यहाँको विकास कुन मोडलबाट गर्दाखेरी यो स्थानीय तह अरुभन्दा बढि गतिशील, प्रगतिशील, अलि बढि समृद्ध देखिन्छ, त्यो बाटोमा हिडाउँनका निम्ति पार्टीले निर्देशन गर्नेछ, जनप्रतिनिधीहरुलाई र जनता, जनप्रतिनिधी र पार्टी पनि एउटै बाटोमा हिड्न जरुरी छ । यदि त्यसो भयो मात्रै हाम्रो गाउँपालिका हामी प्रगति गर्न सक्छौं । होइन भने एकले अर्काको खुट्टा तान्ने, विरोध गर्ने, मुद्धा हालाहाल, लड्ने मात्रै काम भयो भने त्यसले कसैलाई पनि फाईदा गर्दैन । हामी राजनीति गर्नेहरुलाई त फाईदा गर्दै गर्दैन ? त्यसले जनतालाई पनि त्यत्तिकै घाटा छ । सिंगै यहाँको समाजलाई घाटा छ । त्यस कारण चलखेल गरिराखेको छ, सकारात्मक हुनु पर्दछ । हामी सकारात्म हुन सकिएन भने जतिनै राम्रो काम भए पनि, जतिनै नराम्रो काम भएपनि त्यसको रिजल्ट अन्तिममा दुर्घटना बाहेक अरु केहि पनि भोग्नेवाला छैनौं ।
स्थानीय तहको बजेट सार्वजनिक गर्ने बेला भएको छ ? त्यसमा तपाईको भूमिका कस्तो हुन्छ ?
हिजोसम्म हामी सबै लगाम बिनाको घोडा जस्तै थियौं । त्यो समयमा कतिपय जनप्रतिनिधीहरु अन्यौलमा परे भने कतिपय अवस्थामा हामी पनि अन्यौलमा थियौं । यस्तो हुनु भनेको संक्रमणकालको उपज हो भनेर बुझ्न जरुरी छ । उहाँहरुले जत्ति सक्नु भएको छ । त्यो गर्नु भएको छ । तर त्यसलाई अब भएन भनेर, जेरो भयो भनेर जसले व्याख्या गरिरहेको छ । त्यो गलत छ । गाउँपालिकाको बजेट सार्वजनिक गर्ने समय आएको छ । गत वर्ष अलिबढि वितरणमुखि बजेट आएको थियो । यसलाई हामीले सुझावको रुपमा स्थानीय सरकारसँग राखिनै राखेका छौं । अब सैद्धान्तिक बजेटहरुमा जोड दिनका लागि पहल गर्ने, यसपालिको बजेट अलि सैद्धान्तिक होस । जसले दिर्घकालीन महत्व राखोस । कम्युनिष्ट पार्टीको सरकार हुँदाखेरी के दियो ? त्यसको उत्तरपछिसम्म हामीले दिनसक्ने गरी बजेट आओस भनेर हामीले अपेक्षा गरिराखेका छौं । हामीले छलफल पनि जनप्रतिनिधीहरुसँग त्यही स्तरमा गरिराखेका छौं ।
गाउँपालिकामा आंशिक रुपमा भौतिक विकास मात्र भयो ? तर, नागरिकको समस्या ज्यूकाँत्यू रह्यो भन्ने आरोप नागरिकहरुले नै लगाइरहेका छन् नी ?
सबै नागरिकको हकमा त होइन । सबै कुराहरु चाँहि शत प्रतिशत सबै काम सफल हुन्छ भन्ने हुँदैन । यहाँ कामहरु त धेरै भएका छन् । तर, हाम्रो समाज कस्तो भन्दाखेरी सकारात्मक कुराभन्दा नी नकारात्मक कुराको पछाडि कुद्ने भएको हुनाले, त्यही कुराहरु सुन्नेतिर लालहित भएको हुनाले त्यस्तो देखिन्छ । तर, सबै जनताहरुको गुनासो भन्ने छैन । केहिकेहि जनताहरुलाई हामीले सोचेजस्तो विकास नहुँदाखेरी केहि गुनासोहरु मात्र आएको हो । विविध कारणले प्रत्यक्ष रुपमा जनतासामु पुग्न नसक्नुले पनि त्यस्तो महशुस भएको हुन सक्छ । जसरी जनताहरुले बुझिराख्नु भएको छ । त्यो स्तरमा चाँहि विवादहरु र गुनासोहरु छैनन् । म आम जनताहरुलाई अनुरोध गर्न चाहन्छु । कम्युनिष्ट पार्टीको सरकारले जनता विरोधी कुनै पनि काम गर्दैन् । गर्न असम्भव छ । कम्युनिष्ट पार्टीले मात्रै यो समाजलाई, जनतालाई, मानव समुदायको हितमा काम गर्न सक्ने भएको हुनाले त्यो विचार, नीति र कार्यक्रम कम्युनिष्ट पार्टीसँग मात्रै रहेको हुनाले अब नेकपाले नै यहाँको विकास, समृद्धिको नारामात्र होइन कामलाई पूरा गर्छ । अबको ३ वर्षमा सबै काम त भन्न सक्दिन । तर, आधारभूत विकास निर्माणका कामहरु पूरा गर्नेछौं भनेर हामी आम जनतासँग प्रतिबद्धाताको रुपमा व्यक्त गर्न चाहन्छौं ।

को हुन् ? गौरव खालिङ राई !

वि.सं. २०५८ सालदेखि गौरव खालिङ राई औपचारिक रुपमा राजीतिक जीवन शुरु गरेका थिए । कक्षा ९ मा पढ्दापढ्दै तत्कालिन नेकपा माओवादीको साँस्कृतिक मोर्चामा आबद्ध भए । राईले तत्कालिन समयमा धेरै जनवादी गीतहरु गाए । जनवादी गीतमार्फत नै पार्टीको विचार, सिद्धान्त र नीतिलाई प्रस्तुत गरे ।


केहि समयपछि उनी जिल्ला कमिटिमा आए र सक्रिय रुपमा राजनीतिमा लागे । जिल्ला कमिटि सदस्य हुँदै स्थानीय तहको निर्वाचनमा तत्कालिन माओवादी केन्द्रको तर्फबाट संयोजक भए । पछिल्लो समय दुई कम्युनिष्ट पार्टी एकता भयो । उनी एकता प्रक्रियापछि पनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सोलुखुम्बुको जिल्ला कमिटि सदस्य भए । र अहिले उनी नेकपा माप्य दुधकोशी गाउँकमिटिको अध्यक्ष भई सफत ग्रहणसँगै पदभार सम्हाली सक्रिय राजनीति गरिरहेका छन् ।

यो पनि पढ्नुहोस ।

नेकपा माप्यदुधकोशी गाउँकमिटिको ७५ जना सदस्यले लिए सफत ! को को भए सदस्य ? (नामावलीसहित)

नेकपा मप्यदुधकोशीको पहिलो बैठक, के के गर्यो ५ निर्णय !

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार