काठमाडौं । आफूलाई धर्तीमाता बताउने गुल्मी घर भएर बुटवल बस्ने विष्णु कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गत साता भद्रकाली मन्दिरमा एक किशोरीमाथि अभद्र व्यवहार र कुटपिट गरेकी कुँवरलाई शुक्रबार बिहान बालाजुबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
शुक्रबार कथित धर्तीमातालाई प्रहरीले सार्वजनिक गर्ने तयारी गरिरहेको थियो । तर, भिडियोमा किशोरीमाथि कुटपिट हुँदा देखिएकी हवल्दार एकाएक काप्न थालिन् । भर्खरै काठमाडौं दरबन्दी भएर आएकी महिला हवल्दार पूजापाठका लागि भद्रकाली पुगेका बेला कथित धर्तीमाता कुँवरलाई देखेकी थिइन् ।
ती हवल्दार र कुँवरबीच पहिल्यै चिनजान र भेटघाट हुँदै आएको खुलेको छ । भिडियोमा हवल्दारकै सामु किशोरीमाथि निर्घात कुटपिट हुँदा मुकदर्शक भएर बसेपछि उनलाई विभागीय कारबाही गर्ने निर्णय प्रहरीले लिइसकेको छ ।
अनुसन्धानका लागि काठमाडौं परिसर झिकाइएकी हवल्दार शुक्रबार एकाएक काप्न थालेपछि प्रहरी चकित पर्यो । लगत्तै ती हवल्दारलाई उनको दरबन्दी भएको महानगरीय प्रहरी वृत्त महाराजगञ्ज पुर्याइयो । प्रहरी स्रोतका अनुसार ती हवल्दार मानसिक रुपमा विक्षिप्त छन् ।
प्रहरी स्रोतका अनुसार ती हवल्दार धर्ममा बढी आस्था राख्छिन् । त्यही आस्थाकै आधारमा उनले कथित मातालाई पटकपटक भेटेको देखिन्छ । शुक्रबार बिहान प्रहरीले मातालाई पक्राउ गरेर ल्याएको देखेपछि आफूलाई देउता चढेको भन्दै ती हवल्दार काप्न थालेकी थिइन् । काप्ने र बरबरराउने गरेपछि तत्कालै परिसरबाट महाराजगञ्ज पठाइएको थियो । अन्नपूर्ण पोष्टबाट