स्वेछाचारी गाउँपालिका अध्यक्ष बुद्धिकिरण ! मुद्धैमुद्धामा दुई वर्ष वित्यो ?

डोजर मालिक की गाउँपालिका अध्यक्ष ?

  बुद्धवीर बाहिङ
1.9k Shares

सोलुखुम्बु । आकर्षक चेहरा, मिलेको जीउडाल । झट्ट हेर्दा लाग्छ, क्या भलादमी मानिस ! पहिलो पटक भेट्ने र देख्ने सबैलाई यस्तै लाग्न सक्छ । अनि उनीसँग साथीको मात्र संगत गरेकाको नजरमा पनि भलाद्मी नै लाग्न सक्छ । तर, जब उनीसँग सम्बन्धित केहि काम गर्नुपर्ने हुन्छ, तब मात्र थाहा हुन्छ की त्यो आकर्षक मानिसको भित्री बानी व्यवहार ।


यी माथिका हरफहरु सोलुखुम्बु जिल्लाको माप्यदुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईलाई संकेत गरी लेखिएको शब्दरुपी केहि अंश हुन् । यी शब्द अध्यक्ष राईकै नजिक मानिने एक साथीले सुनाएका हुन् । उनले नाम नबताउने शर्तमा उक्त कुरा सुनाएका हुन् । ‘उ यदि गाउँपालिकामा टिकट नपाएको भए वा हारेको भए भूमिगत जीवन बाँच्नु पथ्र्यो,’ उनले भने, ‘गाउँपालिकाको चुनाव जितेर मनोमानी ढंगले काम गरिरहेको छ । तपाईहरुले बाहिरबाट हेर्दा धेरै विकास भएको देख्नुहुन्छ, तर भित्रीकुरो अर्कै छ । दुई वर्षको बजेटले सडक खन्यो । त्यसमा उसकै कुरा मान्नेलाई र उसकै डोजर चलाउनेलाई मात्र आफ्नो हातमा लिएर काम गर्यो । नपत्याए गाउँपालिकामा गएर सडक खनेको वरिपरिकालाई सोध्नुस त ? कसको डोजरले र को थियो उपभोक्ता समितिको अध्यक्ष भनेर ? बुद्धिकिरणकै डोजर र उसले भनेको मान्ने मानिस राखेको अधिकांश क्षेत्रमा भेट्नु हुन्छ ।’
‘त्यत्ति मात्र होइन उसले गाउँपालिकाको नागरिकलाई धेरै दु:ख दिएको छ । ऊ प्रायःजसो गाउँपालिकाको कार्यालयमा भेटिदैन । उसको ताक पर्दा मात्र गाउँपालिका कार्यालय आउँछ, होइन भने खै कता जान्छ हो कसैलाई थाहा हुँदैन । मलाई त पहिले बलबहादुर केसीले गरेको पारा जस्तै लागिरहेको छ । केसी पो पहिला पहिला गाउँगाउँमा आउँदा ३०/३५ जना लाठे लिएर हिड्थ्यो । अहिले बुद्धिकिरणको पनि ठ्याक्कै त्यही पारा छ । गाउँमा कतै उद्घाटन, शिलान्या वा कार्यक्रममा जाँदा १०/१२ जना लाठे लिएर गुडुडु जाने गरेको छ । आफ्नै गाउँ हो, गाडि छदैछ, ड्राइभर र एक दुई जना कर्मचारी लिएर हिड्नु नी ? किन १०/१२ जना लाठे लिएर हिड्नु ? त्यो देख्दा त ऊ आफै गाउँपालिकामा समेत सुरक्षित छैन जस्तो लाग्छ ।’ अध्यक्ष राईको साथीले सविस्तार सुनाए ।

‘कर्मचारी पढ्ने अध्यक्ष टाउको हल्लाउने, अनि हामीलाई तालि पड्काउन लागाउने प्रवृति पुनरावृत्ति भएपछि गाउँपरिषद बहिस्कार गर्यौं’ : वडा ६ अध्यक्ष दिनेश राई

माप्यदुधकोशी गाउँपालिकाको आर्थिक वर्ष २०७६/७७ को गाउँ परिषदलाई प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका जनप्रतिनिधीहरुले बहिस्कार गरेका छन् । जिल्लाको अन्य ७ स्थानीय तहमा सौहार्दपूर्ण तरिकाले गाउँपरिषद सम्पन्न भैरहेको बेला माप्यदुधकोशी गाउँपालिकामा भने प्रतिपक्षीले मात्र होइन सत्ता पक्षकै केहि जनप्रतिनिधीहरुले बहिस्कार गरे ।
अचम्म मान्नु पर्ने कुरा त के छ भने अध्यक्ष बुद्धिकिरण आफैले नियुक्ति गरेको गाउँपालिका प्रवक्ता निमराज तामाङले समेत गाउँपरिषद बहिस्कार गरे । अध्यक्षको व्यवहार र कार्यशैली पहिलेको वर्षको जस्तै दोहोरिएपछि प्रवक्ता तामाङले पनि गाउँपरिषद बहिस्कार गरेको बताएका छन् । सत्ता पक्षकै अर्का अध्यक्ष वडा नं. ३ का नारायणकाजी कार्कीले पनि गाउँसभा बहिस्कार गरेका छन् । ७ वटा वडा रहेका गाउँपालिकामा ४ वटा वडा अथवा बहुमत वडा अध्यक्षले गाउँसभा बहिस्कार गर्दा कस्तो सन्देस जाला भन्ने हेक्का पनि सायद राखेनन् अध्यक्ष राईले ! अध्यक्षले बहुमतको दम्भ देखाउँदै अघिल्लो वर्षको आयव्यय विवरण गाउँकार्य समितिमा छलफलनै नगरी नयाँ आर्थिक वर्षको बजेट ल्याउनुले अध्यक्षको नियत कस्तो छ भनेर प्रष्ट हुने वडा ६ अध्यक्ष दिनेश राईले बताए । वडा अध्यक्ष राईले गाउँपरिषद बहिस्कार गर्नुको कारण यसरी सुनाए ।
‘उहाँले बहुमतको दम्भ देखाएर हामीमाथि प्रहार गर्नुभयो । जनप्रतिनिधीहरु कोहि बुझ्ने आउँदा रहेछौं, कोहि नबुझ्ने आउँदा रहेछौं । हामी चाँहि कस्तो भन्दाखेरी हामी बुझ्ने पनि होइनौं तर, जनताले दिएका कार्यक्रमहरु हुनु पर्छ भन्ने हो । तर उहाँले कसैलाई फकाएर फुलाएर भएपनि बहुमत पुर्याउनु भयो । त्यसैले अहिले हामी छलफलमा छौं । अर्को कुरा धेरै निर्णहरु प्रस्ताव नराखिकनै एकैचोटि अध्यक्षकै बलमिचाईले निर्णय गर्नुभयो ।’ अध्यक्ष राईले भने ।
‘कर्मचारीहरु पढ्ने अध्यक्ष टाउको हल्लाउने, अनि हामीलाई तालि पड्काउन लागाउने, यस्तो तरिकाले आएको विषयलाई हामी निर्णय गर्दैनौं भन्यौं । आर्थिक आयव्यय २०७५/०७६ को छलफलमा नआईकनै उहाँले डाइरेक्ट पास गर्नुभयो । हामीले यस्तो विषय छलफलमा आउनु पर्छ । यसको हामीले डिटेल्ली कहाँ खर्च भयो ? के भयो ? हामी चासो राख्ने मान्छेलाई देखाउनु पर्यो नी ? चासो नराख्ने बेग्लै भयो ? हामी चासो राख्नेलाई पारदर्शी छ की छैन ? कहाँ सदुपयोग भयो ? करोडौं रकम आएको छ, गाउँपालिकामा त्यसको दुरुपयोग भयो की भएन ? भन्ने कुरा हामीले हेर्न पाउँने की नपाउने, छलफल गर्न नपाउने त ? यसरी कुरा राख्दा राख्दै अध्यक्षले जबरजस्ती निर्णय गर्नुभयो । निर्णय गरेर हामी जब नोट अफडिसेन्ट लेखेर निस्कियौं, त्यसपछि एकदुईवटा लाईन काटेर उहाँहरुले साइन गर्नुभएछ । त्यसरी साईन गर्नु के सिफारिस हो र ? निर्णय भैसक्यो । उहाँहरुले बहुमतले निर्णय गर्नु भो । भरैचाँहि नोट अफ डिसेन्ट लेखिसकेपछि फेरी अध्यक्षले केहि लाईन काट्नु भयो अनि सही गर्नुभयो । के त्यो चाँहि सिफारिस हो । सिफारिस पो बिग्रीयो भने काटेर त्यहाँ सच्याउन मिल्छ, तर निर्णय भन्ने कुरा काटेर सच्याउन मिल्दैन । त्यसो भएको हुनाले नोट अफडिसेन्ट लेखेर हामी बाहिर निस्कियौं । त्यसपछि कार्यपालिकाको मिटिङ पनि हामीले बहिस्कार गर्यौं ।’
गाउँपरिषदमा पनि हाम्रो कुरा नभैसकेपछि हामी चाँहि भाग लिदैनौं भन्यौं । त्यसैले हामी १७/१८ जना चाँहि उपस्थित नै भएनौं । उपस्थित हुनेले त्यो पनि बहुमतको दम्भमा उहाँले गर्नुभयो । अहिले हामी छलफलमा छौं ।
उहाँले पनोपोली ढंगले अटोक्य्रासी लागू गर्नु भएको हो । कमसेकम ५० प्रतिशत जत्ति त हाम्रो कुरा सम्बोधन भैदिएको भए हुन्थ्यो । हामी अब्जेक्सन ल्याउँदैनौं थियौं । त्यहाँ हाम्रो सम्मान छैन, जनताले स्कूलको लागि बजेट मागेको छ । उहाँले चाँहि स्वास्थ्यमा लगाउनु भयो । मानिलिउ जनताले खेलकुदको लागि मागेका छन्, तर उहाँले स्कूलमा लगाउनु त उल्टो भयो नी त होइन ? हामीले एउटा वडामा बजेट थोरै भयो ? अर्कोमा धेरै भयो भनेको पनि होइन ? हाम्रो त्यो अब्जेक्सननै होइन ? हाम्रो अब्जेक्सन के हो भने स्रोत साधन समितिको मिटिङ राख्नुभयो । स्रोत साधन समितिको मिटिङमा प्रतिपक्षी दल, जो त्यहाँ प्रतिपक्षीदलका प्रतिनिधीहरु छन्, भने ती प्रतिपक्षदलका प्रतिनिधीहरुलाई त्यहाँ राख्नुपर्छ ? त्यो पनि उहाँले राख्नु भएन किनभने कार्यविधि, नियम, ऐन अनुसार हामी हुनुपथ्र्यो त्यहाँ । उहाँले त्यो पनि राख्नु भएन, त्यो बेला हामीले अब्जेक्सन पनि दिएनौं । ल ठीक छ तपाईहरुले गर्नुभयो त गर्नुभयो, त्यसमा पनि अब्जेक्सन हामी राख्दैनौं । ल ठीक छ हामीलाई लत्याउनु भो । तर, यो निर्णयमा चाँहि एक दुईवटा कुरा सच्याउन ? तपाईको वाकुमा खानेपानीको हाहाकार छ अनि हामी मान्छौं । ल ठीक छ तपाईले ४० लाख पैसा छुट्याउनु थानेखोलाको लागि तर डिपीआर चाँहि हामीले २ करोड ५० लाखभन्दा माथि छ । अनि त्यो ४० लाख पैसाले तपाई के गर्नु हुन्छ ? ४० लाख पैसाले त त्यो सम्पन्न हुँदैन योजना त ? त्यो ४० लाखले ३ प्रतिशत पनि काम हुँदैन । १ करोड १३ लाख कृषिमा बजेट छुट्याउँदा ७ वडामध्ये वडा नं. ६ मा ६० हजार छुट्याइएको छ । अनि त्यो चाँहि उहाँले के गर्नु भएको त ? त्यसैले हामीले कार्यपालिका बैठकमा नोट अफ डिसेन्ट र गाउँपरिषद बहिस्कार गरेका हौं । अहिलेत उहाँले बहुमतको दम्भमा केहिलाई प्रभाव पारेका गर्नुभयो तर आम माप्यदुधकोशी जनताको नजरमा उहाँ गीरी सक्नु भएको छ । त्यो हेक्का पनि राखेको भए हुन्थ्यो नी ?’

‘अघिल्लो आ.व.को जस्तो कुनै योजनाको छलफलनै भएन,’ उपाध्यक्ष जुनिता मगर

गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईको व्यवहार र कार्यशैलीप्रति उपाध्यक्ष जुनिता मगर पनि सन्तुष्ट छैनन् । गाउँपालिकाको हरेक विषयमा हस्तक्षेप गर्ने अध्यक्षको दम्भ र कार्यशैलीले गर्दा उपाध्यक्षको मात्र होइन, अन्य कार्यपालिकाका सदस्यहरु पनि सन्तुष्ट नभएको बताएका छन् ।
‘गएको आर्थिक वर्षमा प्रत्येक वडाको योजनाहरुमा व्यापक छलफल गरेका थियौं, तर अहिले त्यस्तो भएन, त्यही भएर वडा अध्यक्षहरु रिसाउनु भएको हो । उपाध्यक्ष मगरले भने, ‘वडाको कुनै योजनामा पहिलाको जस्तो व्यापक छलफल नभएर यस्तो भएको हो ।’
‘गत वर्षको ट्रेन चाँहि कस्तो थियो भने, वडाबाट योजनाहरु ल्याउने अनि अध्यक्षज्यू, म अन्या कार्यपालिका सदस्यहरु बसेर छलफल गर्ने गरिएको थियो । तर यो वर्ष चाँहि त्यस्तो कुनै छलफलनै भएन ? त्यही भएर गाउँपालिकाको कार्यपालिका बैठक बहिस्कारदेखि अन्ततः गाउँपरिषदनै केहि साथीहरुले गरेका हुन् ।’ उपाध्यक्ष मगरले भने ।

‘गाउँपालिका अध्यक्ष बुद्धिकिरण स्वेछाचारी मात्रै होईन सबैभन्दा आलोचित र बढि मुद्धा खेपिरहेका जनप्रतिनिधी हुन्,’ : वडा नं. ३ अध्यक्ष नारायणकाजी कार्की

वडा नं. ३ का वडा अध्यक्ष नारायणकाजी कार्कीले गाउँपालिका अध्यक्ष बुद्धिकिरण राई स्वेछाचारी मात्रै होइन जिल्लाको स्थानीय तहमध्ये सबैभन्दा आलोचित र बढि मुद्धा खेपिरहेका जनप्रतिनिधी भएको आरोप लगाएका छन् । गाउँकार्य पालिका समितिले गरेको निर्णयमा आफूखुशी निर्णय गरी आफूलाई पायक पर्ने ठाउँमा गाउँपालिका केन्द्रको स्थान तोकि पठाएपछि सर्वोच्च अदालतमा मुद्धा दायर गर्नु परेको बताएका हुन् ।
‘कार्यपालिका बैठकमा हामी ४ जना वडा अध्यक्षले नोट अफ डिसेन्ट लेखेर निस्किएको हौं, वडा अध्यक्ष कार्कीले भने, ‘वडा नं. ७ का अध्यक्ष सगुजित राई, वडा ६ का अध्यक्ष दिनेश राई, वडा नं. ५ का अध्यक्ष निमराज तामाङ र म वडा ३ को अध्यक्षले यसरी मनोपोली ढंगले योजना र बजेट बाडफाँट हुन्छ भने हामी नोट अफ डिसेन्ट लेखेर निस्कन्छौं भन्दा पनि अध्यक्षले आफूखुशी गरेकाले हामीले नोटअफ डिसेन्ट लेखेर कार्यपालिका बैठक बहिस्कार गरेका हौं ।’


‘हामीले समेत कार्यपालिका बैठकमा नोटअफ डिसेन्ट लेखेर बाहिरिएपछि गाउँपालिका अध्यक्षले प्रदेशसभा ‘ख’का सांसद बुद्धिकुमार राजभण्डारी र नेकपा जिल्ला अध्यक्ष मानवीर राईलाई गुहार मागेर गाउँपालिका ल्याएछन्,’ अध्यक्ष कार्कीले भने, ‘माननीय सांसद र नेकपा जिल्ला अध्यक्षसँग हामी बसेर धेरैबेर छलफल गर्यौं । मैले भने यो क्षेत्रिय विभेद सहन सकिन्न यो त अति भयो । गाउँपालिका केन्द्र पनि अध्यक्षकै घरछेउमा चाहिने, त्यत्तिले मात्र नपुगेर क्याम्पस, अस्पताल र प्याराग्लाईडिङ पनि त्यही चाहिने त्यसैले यी कुरामा हामी कुनै पनि हालतमा सहमति हुँदैन भनेर भने । तर मान्यज्यू र अध्यक्षज्यूले अब टिमको मान्छे हो । सँधै असहमति राखेर पनि हुँदैन भनेर भन्नु भयो । आफ्नो हात हुँदा त जसले पनि दम्भ र केहि आडम्बर त देखाउँछ नै भनेर भन्नुभयो । अनि बुद्धिकिरणजी अब देखि त्यस्तो कार्य नदोर्याउनु भनेर सम्झाउनु भयो । साझा नेता हुनको लागि यस्तो कार्यशैली नदेखाउनु भनेर पनि भन्नु भयो । त्यसपछि गाउँपरिषदमा चाँहि नेताहरु आएकाले निमराजजी र म गयौं । बन्द सत्रमा त मैले पनि सही गरिन निमराजजीले पनि गर्नु भएन । पहिला कुरा गर्दा हामी परिमार्जन गर्छौं भनेर गाउँपालिका अध्यक्षले भन्नुभएको थियो तर केहि गर्नु भएनछ । त्यही भएर गाउँपरिषदमा बस्नुको औचित्य छैन भनेर निमराजजी र म हिडिउ ।’

गाउँपालिका अध्यक्षले यसरी गरे मनोपोली ! वडा अध्यक्ष नारायणकाजी कार्कीको भनाई जस्ताको तस्तै !
गत आर्थिक वर्ष २०७५/७६ को बजेटको बारेमा कार्यपालिकाले पास गर्ने भन्ने कुरा छलफलमै प्रवेश नगरी एकलौटी ढंगले अध्यक्षले पास गराए । लगभन साँढे २ करोडमा समपुरकको ९० लाख, अघिल्लो वर्षको ७७ लाख, अध्यक्ष, उपाध्यक्षकोषको ९० लाख, कन्टनजेन्सीको ६० लाख रुपीयाँ पैसा चाँहि अध्यक्षले आफूखुशी सबै पैसा खर्च गरिसकेको रहेछ । त्यसपछि हामी यसरी चित्त बुझाउन सक्दैनौं यो अति भयो ? कार्यपालिकाको बैठकनै नबसिकन सबै पैसा खर्च गर्ने अनि हामीले अनुमोदन गर्नुपर्ने यो सम्भावना छैन भनेर हामीले त्यसलाई रिजेक्ट गरिदिएका थियौं । पछि बीचमा ख्वास्सै घुसाएर ०७५/०७६ को बजेट सन्तोषजनक रहेकाले पास गरिएको छ, भनेर फरफराक गरेछन् । त्यसपछि हामी अदालती प्रक्रियामा जाने यसरी जालसाझ गरे अवैधानिक रुपमा बजेट पास गर्ने भन्ने कुरा भएपछि अनि अध्यक्षले फेरी त्यसलाई चाँहि निर्णयनै काटेछन् ! त्यसपछि हाम्रो कुरा के हो भने निर्णय नै काटेर थप्ने वा घटाउने कसैलाई अधिकार नै छैन् त्यो ? यदि अध्यक्षले चिठी लेखेको हो भने त्यो थपघट गर्ने अधिकार छ तपाईलाई ! निर्णय काट्ने वा थप्ने अधिकार तपाईलाई छैन ? तपाई जे जे मन लाग्यो त्यो त्यो गर्ने ? अनि फेरी तपाईको मन नलाग्दा चाँहि काट्ने यस्तो खालको प्रक्रिया तपाईको गलत छ भनेर भन्दा पछि संसोधन गर्छु भनेर अध्यक्षले भन्नु भएको थियो तर पछि संसोधननै गर्नुभएन ! पछि हेर्दा उनी आफैले त्यो निर्णय काटेछन् ।

‘अध्यक्षले कोठामा बसेर एकलौटी काम गर्ने बानीले गर्दा मैले पनि साथ छोड्न बाध्य भए,’ : प्रवक्ता तथा वडा नं. ५ अध्यक्ष निमराज तामाङ

गाउँपालिकाको सूचना जानकारी लगायय अन्य विभिन्न विकासे योजनाको बारेमा जानकारी दिनको लागि प्रवक्ताको नियुक्ति गरिएको हुन्छ । गाउँपालिकामा प्रवक्ता अध्यक्षको सबैभन्दा नजिक र सबै कुराको जानकारी हुन्छ । तर माप्यदुधकोशी गाउँपालिकामा भने एउटा वडा सदस्य र गाउँपालिका प्रवक्ता उस्तै उस्तै भएका छन् । सेवा सुविधामा प्रवक्तालाई केहि भए पनि सूचना र जानकारीमा एउटा वडा सदस्य जस्तै बेखबर भएका छन् ।
गाउँपालिका अध्यक्षको कोठे प्रवृत्तिले गर्दा वाक्क भएका प्रवक्ता तथा वडा नं. ५ का वडा अध्यक्ष निमराज तामाङले प्रवक्ता पदबाट दुईपटक राजिनामा दिइसकेका छन् । अध्यक्षले मनोपोली गर्ने अनि जवाफ चाँहि प्रवक्ताले दिनुपर्ने भएर उनले राजिनामा दिएको बताएका छन् । ‘अहिलेसम्म नाममात्रको प्रवक्ता भएर बसे, अब भने मेरो नैतिकताले दिएन, त्यसैले राजिनामा दिएको हूँ,’ प्रवक्ता तामाङले भने । तामाङले गाउँपरिषदको बन्दसत्रलाई समेत बहिस्कार गरेका छन् । प्रवक्ता तामाङले किन राजिनाम दिए अनि गाउँपरिषद किन बहिस्कार गरे त उनकै शब्दमा !
साथीहरुले एकलौटी आफूखुशी योजनाहरु तयार गरे । त्यसपछि हामीले छलफल गरेर संशोधन गर्नुपर्छ भन्दा नमानेपछि हामीले बैठक र गाउँपरिषद बहिस्कार गरेको हो ।
गाउँपालिका अध्यक्षहुँदा देखिनै सबै कुराहरु लुकाउने गरेका थिए । मलाई केहि समय त ठिकै जस्तो लाग्यो । तर पछि अध्यक्षज्यूको कार्यशैली र व्यवहार हेर्दा त मलाई पनि कुनै दिन अख्तियारले वा स्थानीय प्रशासनले सोधपुज नगर्ला भन्न सकिन्न ? त्यसैले मैले अहिलेसँग दुई पटक हुन्छ गाउँपालिका प्रवक्ताबाट राजिनामा दिएको । मैले अध्यक्षलाई भनेको छु, अबदेखि मलाई प्रवक्ताको रुपमा कुनै काम नलगाउनु होला । अब तपाईलाई अफ्ठ्यारो नै हुन्छ भने गाउँकार्यपालिका सदस्यबाट पनि राजिनामा दिन्छु भनेर भनेको छु ।
अध्यक्ष कतिसम्म खुरापाती हो भने गत वर्षको आर्थिक आयव्यय अहिले अनुमोदन नगर्ने पछि मात्रै हिसाब किताब गरेर पारदर्शीता बनाएर मात्रै चाँहि अनुमोदन गर्ने भनेर मौखिक रुपमा अध्यक्षले भनेका थिए । तर बेलुकी अध्यक्षले त निर्णय नं. २६ मा गत वर्षको आयव्यय सन्तोषजनक रहेको भन्दै अनुमोदन गरियो भन्ने लेखिएको रहेछ । मैले साथीहरुलाई पढेर सुनाइन ! केहि समयपछि साथीहरुले थाहा पाउनु भयो । त्यसपछि अध्यक्षको कोठाभित्र बसेर एकलौटी काम गर्ने बानीले गर्दा मैले पनि साथ छोड्न बाध्य भए ।
गाउँसभाको उद्घाटन सत्रमा चाँहि सहभागी भए, तर बन्द सत्रमा भने हस्ताक्षर गरिन बहिस्कार गरे जस्तै हो । बन्द सत्रमा छलफल गरेर केहि निर्णयहरु संशोधन गर्ने भनिएको थियो तर संशोधन नभएपछि मैले हस्ताक्षर गरिन । गाउँसभामा पनि अध्यक्षको कार्यशैलीको विरुद्धमानै थिए कार्यपालिका सदस्यहरु तर कार्यपालिका सदस्यहरुलाई माग गरेको एउटा एउटा योजनाले सम्बोधन गरिदिएर अरु साथीहरुलाई चाँहि चुपचाप बस्ने बनाएर, अध्यक्षले एकतर्फि ढंगले, नियोजित ढंगले अध्यक्षले आफूअनुकुल बजेट पास गराए । अध्यक्षले यत्तिसम्म गरे की हामीले वडास्तरबाट योजना तर्जुमा गोष्ठी गरेर वडा समितिलिे सिफारिस गरेको योजनाहरुलाई चाँहि कार्यपालिकामा छलफल नै नगरिकन आफूखुशीले बजेटको बाँडफाट गरेकोले हामीले गाउँसभा बहिस्कार गर्न बाध्य भएका हौं ।

बुद्धिकिरण राजनीतिमा प्रवेश गर्दानै स्वेछाचारी मानसिकता थियो !

वि.सं. २०७२ भदौमा तत्कालिन नेकपा एमाले सोलुखुम्बु जिल्लाको छैठौं जिल्ला अधिवेशमा बुद्धिकिरण राईले सहमतिमा जिल्ला सचिव बन्ने दौडमा लागेका थिए । तर, उनको सचिव बन्ने सपना पूरा हुन सकेन । कारण थियो, नेकपा एमालेको विधानमा पदाधिकारीमा उमेदवार हुनको लागि कम्तिमा पनि एक पटक जिल्ला कमिटि सदस्य हुनुपर्ने प्रावधान छ । उनी भर्खरै सोहि सालमा शिक्षक पेशा छोडेर राजनीतिमा लागेका थिए । त्यो पनि जिल्ला अधिवेशनको अवसर पारेर ! सचिव बनाउँनका लागि जिल्लाको एक समूह रटेरै लागेको थियो । तर उनीहरुको योजना सफल हुन सकेन । त्यसपछि उनी जिल्ला सदस्यमा उमेदवारी दर्ता गरे । उनले सदस्यमध्ये सबैभन्दा लोकप्रिय मत ल्याउने दिवा सपना देखे । तर उनको त्यो सपना र योजना पनि पूरा भएन ।
राजनीतिमा प्रवेश गरेदेखिनै महत्वकांक्षी बनेका राई अन्ततः जिल्ला कमिटिमा अल्पमतमा परे । केहि जिम्मेवारी पाएनन् । त्यसपछि मदनभण्डारी अध्ययन केन्द्रको जिल्ला अध्यक्ष बने । पार्टीमा उनको निकै आलोचना भयो । जिल्ला अधिवेशन भएको दुईवर्षपछि स्थानीय तहको निर्वाचनको मिति घोषणा भयो । पार्टीको नजर उनीमाथि थिएन । तत्कालिन दुधकोशी गाउँपालिका अध्यक्षको उमेदवार वाकुका पुरान कम्युनिष्ट नेता दिनेश राईले पाउने पक्का जस्तै थियो । तर, बुद्धिकिरणले अनेक हतकाण्ड अपनाएर दिनेश राईलाई पाखा लगाए । बुद्धिकिरण जागिरे जीवन बिताईरहेका बेला दिनेश राई पार्टी र संगठनको लागि खटिरहेका थिए । जिल्लाका नेताहरुले पनि दिनेश राईलाई संरक्षण गर्न सकेनन् । अन्ततः राई नेपाली कांग्रेसमा प्रवेश गरे । गाउँपालिका वडा नं. ६ को टिकट पनि पाए । विजयी पनि भए । अहिले त्यही रिस फेर्नको लागि अध्यक्ष आफ्नै पाराले काम गरिरहेका छन् । प्रतिपक्षलाई मात्र होइन आफैले राखेको प्रवत्तालाई पनि चित्त बुझाउन सकेका छैनन् । अन्ततः प्रवक्ता निमराज तामाङले पनि दुई पटक राजिनामा दिइसकेका छन् ।

जिल्ला अदालतदेखि सर्वोच्च अदालतसम्म मुद्धैमुद्धा !

माप्यदुधकोशी गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राईमाथि आर्थिक अनियमितता गरेको, सहमतिबिनै केन्द्र सारेकोलगायत विषयमा मुद्दा परेको छ । उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी परेको छ ।
अख्तियारमा परेको उजुरीमाथि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले अनुसन्धान गरिरहेको छ । त्यसैगरी २०७४ चैत्र २८ गते जिल्ला अदालत सोलुखुम्बुमा गणेशकुमार राईले अध्यक्षविरुद्ध रिट निवेदन दायर गरेका थिए । उनले वडा नं. ७ तर्फ जाने सडक ट्र्याक मनोमानी भएको भन्दै अध्यक्ष बुद्धिकिरण राई, उपभोक्ता समितिका अध्यक्ष टीकाराम राई र प्रविधिक (ओजेटी गर्न गएका विद्यार्थी) सुवेन राईविरुद्ध रिट दायर गरेका थिए ।
अन्तरिम आदेश सहितको निषेधाज्ञाको आदेश जारी गरी पाउँ भनी दायर गरिएको उक्त रिटमा निवेदकले गाउँपालिकासँग योजना सम्झौता नगरी, प्राविधिक स्टिमेट तयार नगरी, जग्गाधनीहरुको मन्जुरीनामा नलिई, राबा बैंकमा उपभोक्ता समितिका पदाधिकारीहरुको संयुक्त दस्तखतमा संचालन हुनेगरी खाता नखोली, वडा कार्यालयले योजना सम्झौता सिफारिस नगरी र आफू मातहतको स्काभेटर प्रयोग गर्नेगरी सडक निर्माणको कार्य अघि बढाएकाले आर्थिक अनियमितता हुने उल्लेख गरेका थिए । अन्त्यमा अध्यक्ष राईले अदालतसमक्ष गल्ती भएको स्वीकार गरी निर्णय सच्याई अघि बढ्ने लिखित प्रतिवद्धता गरी योजना कार्यान्वयन गरेका थिए ।
त्यसैगरी ३ नम्बर वडाका अध्यक्ष नारायण कार्कीले सर्वोच्चमा गाउँपालिका अध्यक्ष राईलाई विपक्षि बनाई रिट दायर गरेका छन् । गाउँसभाको बिना निर्णय गाउँपालिकाको केन्द्र दाम्कुबाट गुन्डागर्दिको शैलीमा खास्ताप सारिएकाले मुद्दा दायर गर्नुपरेको कार्कीले बताए । ‘गाउँसभामा गाउँपालिकाको केन्द्र सार्ने कुनै निर्णय थिएन, तर गाउँपालिकाका अध्यक्षले कभर हेडलेटरमा यस्तो निर्णय लेखी पालिकाको केन्द्र सारीयो’ कार्कीले भने, ‘काठमाण्डौबाट गुन्डाहरु र जिल्ला सदरमुकामबाट सुरक्षाकर्मी झिकाई त्यहाँबाट लुटपाटको शैलीमा केन्द्र सारियो । केन्द्र सार्ने क्रममा लठैतहरुलाई मदिरा ख्वाउँदा मात्रै १५ लाखभन्दा बढी खर्च भएको छ । यो खर्च कसले बेहोर्ने ?’ सर्वोच्चमा अध्यक्षविरुद्धको मुद्धा अझै विचारधिन छ ।

अध्यक्ष विरुद्ध अख्तीयारमा परेको उजुरीको पूर्ण पाठ :

माप्यदुधकोसी गाउँपालिकाको आर्थिक अपचलनको विवरण बारेमा !
(१) माप्यदुधकोसी गाउँपालिकाको घर भाडा मासिक २० हजार का दरले एकमुष्ट वर्षको २ लाख ४० हजार हुनु पर्नेमा मासिक ३० हजारका दरले फर्जी भर्पाई बनाई जम्मा ३ लाख ६० हजारको बील पेस गरि बाँकी रकम हिनामिना गरेको । (२) कन्टनजेन्सीबाट ८० लाख बजेट हुनुपर्नेमा ४९ लाख ५० हजार मात्र आम्दानी देखाएर बाँकी रकम हिनामिना गरेको । (३) तलब र भत्ता परिचर १ जना राखी २ जना लाई तलब दिएको बनाएर २ लाख भन्दा माथि आर्थिक हिनामिना गरेको । (४) तार जालीमा ५ लाख छुटाएकोमा २ लाख खर्च गरि ३ लाख हिनामिना गरेको । (५) प्राविधिक समान खरिदमा १९ लाख ५० हजार मध्ये छुटाएको रकम भन्दा कम समानहरु खरिद पुरानै समान देखाएर बील भर्पाई चुस्त दुरुस्त नदेखाई ५ लाख हिनामिना गरेको । (६) फर्निचर खरिदमा २१ लाख ५० हजार मध्ये कमको खरिद गरि ५ लाख हिनामिना गरेको । (७) प्रशासनिक खर्चमा यातायात, संचार प्रविधिको फर्जी बील पेस गरि २० लाख हिनामिना गरेको । (८) माप्यदुधकोशी गाउपालिका प्रोफाइल निर्माणमा ७ लाख मध्ये ३ लाख भन्दा माथी हिनामिना गरेको । (९) माप्यदुधकोशी गाउपालिका अध्यक्षको घर मुनि तार जाली हाल्न १५ लाख छुटाएकोमा ५ लाख हिनामिना गरेको । (१०) सडक ट्रयाक ओपनमा आफ्नो २ वटा डोजर प्रयोग गरि काम लगाएको जसमा प्रति घण्टा ५ हजार देखि ६ हजार ५०० मा पाइने डोजर प्रति घण्टा ८ हजार ५०० लिएको र ४ करोड बजेटमध्ये १३.५ अतिरिक्त कर समाबेस गरि ५२ लाख हिनामिना गरेको । (११) माप्यदुधकोशी वडा नम्बर ७ को सडक ट्रयाक ओपनमा जम्मा बजेट ५५ लाखमा ३० लाख खर्च गरि बाकी रकम हिनामिना गरेको । (१२) माप्यदुधकोशी वडा नम्बर ६ को सडक ट्रयाक ओपनमा ३ सय पचास घण्टा ७,५०० का दरले कम गरि जम्मा बजेट ५० लाखमा अन्य प्रशासनिक खर्च समेत जोडदा ३० लाख भन्दा खर्च नआएको हुँदा बाँकी रकम हिनामिना गरेको । (१३) शसर्त अनुदानका विभिन्न शीर्षकमा फर्जी बील पेश गरि ५ लाख भन्दा बढी हिनामिना गरेको उल्लेखित कुराहरु कार्य पालिकाको बैठक २०७५ असार १० गतेको बैठक र गाउँसभामा कुरा नमिलेपछि फरफारकै नगरि सोहि बैठकमा स्थानयी ऐन विपरित गाउँसभाबाट फरफारक गरी आ.व ०७५÷०७६ को नीति तथा कार्यक्रम पेश गरी पास गरिएको पुनः २०७५ असोज ७ गते कार्यपालिकाको बैठक बसी कार्यपालिका सदस्यहरुसमेतको मिलेमतोमा अध्यक्ष बुद्धिकिरण राई, कार्यकारी अधिकृत अविलाल राई, लेखापलन श्यामकुमार खड्काको मिलेमतोमा हिसाब मिलन गरी आफ्नो अनुकुलका आन्तरिक लेखा परिक्षक (संगठन आवद्ध) तिर्थराज कटेल नियुक गरी आन्तरिक लेखापरिक्षण सम्पन्न गरि महालेखा परिक्षकका लागि तयारी गरिएकोले उक्त रकम हिनामिना हुन नदिन अख्तियार दुरुपयोग अनुसन्धान आयोग समक्ष छानविनको लागि यो निवेदन पेश गरेको छु । उक्त हिसाव छानविन गर्न सम्पूर्ण बुद्धिजिवी वर्ग सरोकारवाला, सम्बन्धित निकायबाट छानविन गरी विकास निर्माणमा हुने भ्रष्टाचारको विरुद गाउँसभामा आवाज उठाउदा समेत वेवास्ता गरी हाल कार्यपालिकाबाट मात्रै अनुमोदन गरेको वेहोरा अनुरोछ ।
(१४) सल्लेरी, काकु, बासा स्तर उन्नतिमा अध्यक्ष बुद्धिकिरण राईले आफ्नो निर्माण व्यवसायी ठेक्का–पट्टाको कागजात पेश गरी आफैले मिलाई उक्त स्रोत बाट २० लाख भन्दा बढी हिनामिना गरिएको बुझिएको छ । (१५) माप्यदुधकोशी गाउँपालिकाको आम्दानी खर्च चौमासिक रुपमा कार्य समितिबाट गाउँसभामा अनुमोदन हुनु पर्नेमा वर्षभरि नगराएको ।

डोजर मालिक की गाउँपालिका अध्यक्ष ?

मिति २०७३ असार ५ गते सोलुखुम्बु जिल्ला विकास समितिमा दर्ता भएको ‘एस. कन्स्ट्रक्शन’ कम्पनिको प्रोपाइटर बुद्धिकिरण राई स्वयं रहेका छन् । एस.कन्स्ट्रक्शन राईकै श्रीमति सीता राईको नामबाट दर्ता गरिएको हो । साविकको बासा गाविस-५ (हाल माप्यदुधकोशी गाउँपालिका-३) निवासी राईको उक्त कम्पनिको नाममा दुई वटा जेसीबी-२०५ को चेनवाला स्काभेटर रहेको छ ।
उक्त स्काभेटरले २०७४/०७५ को आर्थिक वर्षमा गाउँपालिकाको वडा नं. ६ र ७ को गरी जम्मा १५ किलोमिटरभन्दा बढि सडक विस्तारको कार्य ग¥यो भने प्रहरी चौकी भवनका लागि घरेटी, २० भन्दा माथि व्यक्तिगत घरेटी, वासख्वाम (साकेला थान), श्री सगरमाथा माविको ग्राउन्ड सम्याउनेलगायतका कार्य ग¥यो । अर्को स्काभेटरले भने गाउँपालिकाको वडा नं. ३ बाट ६ सम्म जोड्ने सडक ट्र्याक ओपनको काम ग¥यो । यस क्रममा आवर बेसमा ७ हजार ५ सयभन्दा बढि प्रतिघण्टा भाडा लिएको बताइएको छ । तर, डोजरले घनामिटर बेसमा काम गर्नुपर्ने नियम रहेको छ ।


उपभोक्ता समितिमा समेत आफू मातहतको व्यक्तिलाई छनौट गर्ने र त्यहाँबाट समेत कमिशन लिने गरेको गोप्य स्रोतले जनाएको छ । त्यससँगै ५ प्रतिशत कन्टेन्जेन्सी र १३ प्रतिशत भ्याट लगाउँदै आइएको छ । साथै अध्यक्ष राईले आफु अनुकुल बजेट बिनियोजन गर्ने र उक्त योजना कार्यान्वयनमा आफ्नै स्काभेटर प्रयोगमा ल्याउने गरेका छन् । एस. कन्स्ट्रक्शनको स्वामित्वमा रहेका दुई स्काभेटरले सडक ट्र्याक ओपन र स्तरोन्नतिको कार्यमा काम पाइरहे ।
गाउँपालिका अध्यक्षले ठेक्कासमेत मनोमानी ढंगले कार्यान्वयन गरेको स्थानीयवासीको दाबी छ । राष्ट्रिय दैनिक पत्रिकामा बोलपत्र आव्हान गरी टेन्डर गर्नुपर्नेमा सल्लेरी–वासा सडक खण्डको मर्मत कार्यका लागि विनियोजित बजेट कार्यान्वयन गर्न राईले उदयपुर जिल्लाबाट राष्ट्रिय दैनिक भनी प्रकाशित एक स्थानीय पत्रिकामा सूचना प्रकाशन गरेका थिए । तर, त्यसदिन प्रकाशित सबै पत्रिका समेत आफैँले जफत गरी टेन्डरबारे कसैलाई थाहा दिइएन ।
त्यसलगत्तै बिनियोजित जम्मा बजेट १ करोड १९ लाख ८ हजार ९ सय ७४ रुपैयाँ ४ पैसाको उक्त योजना आफ्नै फर्ममार्फत योजना सम्पन्न गरे । त्यसमा गाउँपालिकाका अध्यक्ष राई स्वयंको एस. कन्स्ट्रक्शन, गाउँपालिकाका प्राविधिक भरुमान राईको श्रीमति कल्पना राईको नाममा रहेको डिजे कन्स्ट्रक्शन तथा भक्तबहादुर राईको बिआर कन्सट्रक्शनले कागजी प्रक्रिया मिलाई सबै ठेक्काको जिम्मेवारी लिएका थिए । उनीहरुले गाउँपालिकासँग गरेको सम्झौताअनुसार सबैभन्दा बढि रकम ३३ लाख ९९ हजार ८३७ रुपैयाँ ५५ पैसा बराबरको योजना अध्यक्ष राईको एस कन्स्ट्रक्शनले कार्यान्वयन गरेको छ भने डिजे कन्स्ट्रक्शनले ३३ लाख ९९ हजार ५७५ रुपैयाँ ७३ पैसा र बिआर कन्स्ट्रक्शनले ३३ लाख ९९ हजार ५६१ रुपैयाँ १६ पैसा बरारबरको योजना कार्यान्वयन गरेका थिए । तर, उनीहरुले सम्पन्न गरेको स्तरोन्नतिको कार्य गुणस्तरहीन भएकाले पुनः मर्मत गर्नुपर्ने भएको स्थानीयवासीको दाबी रहेको छ ।

मैले कसैलाई वायस गरेको छैन : अध्यक्ष बुद्धिकिरण राई

माप्यदुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईलाई यत्ति धेरै उनकै मातहतमा रहेका जनप्रतिनिधीहरुले आरोप लगाएका पछि हामीले अध्यक्ष राईले के भएको हो भनेर सोधेका थियौं । उनले कसैलाई वायस नगरी समग्र गाउँपालिकाको विकासमा जोड दिएको बताए ।
अध्यक्ष राई जतिसुकै पानी माथिको ओभानु बन्न खोजेपनि विभिन्न तथ्य र प्रमाणका आधारमा उनी गहिरो तालको बीचमा पुगिसकेका छन् । अझै पनि उनले वडा अध्यक्षहरुले भनेको जस्तै निर्यण लेख्दै आफैले काट्दै साइन गर्दै गरिरहे कुनै दिन कानूनी रुपमा फस्ने पक्का छ । यत्ति मात्र होइन उनले अहिलेसम्म गाउँपालिकाको हिसाब किताब होस वा योजनाहरुको सार्वजनिक सुनुवाई एउटा पनि नगरेको स्थानीयको आरोप छ । उनको लागि गाउँपालिका अध्यक्ष कसैप्रति प्रतिशोध साँध्ने ठाउँ होइन । सबैको साझा भएर भविष्यको सुन्दर राजनीति बाटो तय गर्ने हो । यदि उनले अहिलेकै कार्यशैली परिवर्तन नगर्ने हो भने उनी साँच्चै डुब्नेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार