काठमाडौं । बैंकिङ कसुर सम्बन्धी मुद्दाका एक जना अभियुक्त अदालतबाटै भागेका छन् । उच्च अदालत, पाटनमा म्याद थप गर्नका लागि लगिएका अभियुक्त रामबोल खड्का बुधबार अदालत परिसरबाटनै भागेका हुन् ।
काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी उत्तमराज सुवेदीले अभियुक्त फरार भएको पुष्टि गर्दै खोजी भइरहेको बताएका छन् । एसएसपी सुवेदीले भने, ‘उनी कसरी भागे भन्ने विषयमा पनि छानविन भइरहेको छ ।’
प्रहरीका अनुसार खड्कालाई महानगरीय प्रहरी वृत्त, सिंहदरबारले म्याद थपका लागि अदालत लगेको थियो । यस अघि मंगलबार राति महानगरीय प्रहरी प्रभाग, भैंसेपाटीको हिरासतबाटै चोरी डाँका दुई र लागूऔषध मुद्दाका एक अभियुक्त पनि भागेका थिए ।
फरार मध्ये चोरी डाँका मुद्दाका रुद्रलाल श्रेष्ठ र समशेर माझीलाई अपराध अनुसन्धान महाशाखाले बुधबार पक्राउ गरेको छ । तर, लागूऔषध मुद्दाका रविकुमार तिम्सिना अझै फरार छन् । दुवै घटनामा प्रहरीको लापरबाही देखिएको अनुसन्धान अधिकृतले बताए ।