काठमाडौं । काठमाडौंमा बल्खु खोलाको बाढीले बगाउदा एक जना बेपत्ता भएका छन् । ग्यास सिलिन्डर बगाएपछि त्यसलाई समाउन जाने क्रममा विनोद चौधरी नाम गरेका व्यक्ति कलंकीबाट बेपत्ता भएको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीका अनुसार अहिले बेपत्ता भएका चौधरीको खाजी कार्य जारी छ । यस वर्ष मनसून शुरू भएयताकै लामो समयसम्म जारी वर्षाका कारण देशभरको जनजीवन प्रभावित बनेको छ ।
बिहीवारयता भइरहेको अबिरल वर्षाका कारण तराईका भू–भाग र काठमाडौं उपत्यका डुबानको चपेटामा परेका छन् । काठमाडौंका कैयन भू–भाग जलमग्न बनेका छन् । वर्षाका कारण कलंकी मालपोत क्षेत्र डुबानमा परेको छ । मालपोत कार्यालय, प्रहरी चौकी लगायतका स्थान जलमग्न बनेका छन् ।