धनगढी । वर्षात्को समयमा कैलालीका महिलालाई महिनावारीको समयमा समस्या हुने गरेको छ । महिनावारी हुँदा घरबाहिर छाउगोठमा बस्नुपर्ने बाध्यता रहेका महिलालाई पाँच दिन कटाउन कठिन हुने गरेको उनीहरुले बताएका छन् ।
टीकापुर– ८ बटनपुरकी राधा रावल वर्षात् लागेपछि छाउगोठ बस्नुपर्ने डरले सङ्गीनी सुई लगाउछे । उहाँले सङ्गीनी सुई लगाउँदा आफ्नो महिनावारी रोकिने भएकाले हरेक वर्ष असार महीनामै लगाउने गरेको बताए । “वर्षात्मा सर्प, किराको डर हुन्छ, छाउगोठमा बस्दा गर्मी पनि हुन्छ”, रावलले भने, “त्यसैले एकपटक सङ्गीनी सुई लगाए तीन महीना घरभित्रै बस्न पाइन्छ । त्यसैले सुई लगाउँछु ।
राधाका श्रीमान् कामको सिलसिलामा भारतमा बस्छन् । सुरुसुरुका केही वर्ष तीन महीनासम्म बुहारी महिनावारी नभएपछि झगडा गरेकी सासूले हाल राधाको समस्या बुझेकी छ । “वर्षात्को समयमा पानी परिरहन्छ, घरबाहिर बस्न कठिन पनि छ”, राधाकी सासू धनसरी रावलले भने, “त्यसैले बुहारीले ठिकै गरेको जस्तो लाग्छ ।
टीकापुर–२ राजीपुरकी मनकला विकलाई पनि वर्षात्मा घरबाहिर बस्नुपर्दा जेल बसेजस्तै लाग्छ । उहाँ चार दिन राम्ररी निदाउनुहुन्न । “सानो झुप्रो, झ्यालढोका नि छैन । गर्मी श्वास निस्सासिएर मर्छु जस्तो हुन्छ”, विकले भने, “गाउँका सबै महिला गोठमै बस्छन्, के गर्नु महीनामा चार दिन दोस्रो जुनी पाएजस्तै लाग्छ ।
राजीपुरकै सरस्वती टमट्टा ज्यानभन्दा ठूलो चलन हुन्न भन्दै महिनावारीका समयमा गोठ बस्न गइनन् । सरस्वती गोठ बस्न नजाँदा छिमेकीले उहाँको घरमा खानपिन बन्दका साथै बहिष्कार नै गरे । “छिमेकीले मनपरी गर्ने महिला भनेर कुरा काट्न थाले । मेरो घरमा लेनदेन गर्ने महिला पनि आउन छोडे”, सरस्वती भन्छिन्, “समाजमा एक्लो भएर बस्नुभन्दा भनेर इच्छाविपरीत छाउप्रथा मान्न बाध्य छु ।” सरस्वती महिनावारी पाप होइन भन्ने थाहा पाएर पनि विद्रोह गर्न नसकेको बताउछिन् ।
सो छाउपडी प्रथा बढी मान्ने यी समुदायमा किशोरी अर्थात् महिला नियमित महिनावारी नहुँदा अनेक शङ्का गर्ने गरिन्छ । स्वयंसेविका चन्द्रावती शर्माले महिलाले शङ्का नगरुन् भनेर पनि महिनावारी लुकाएर बस्न सक्दैनन् । “छिमेकीले पालो गनेर बसेका हुन्छन्, तिमी किन महिनावारी भएनौ भन्न थाल्छन्”, शर्मा भनिन्, “महिलाले नचाहेर पनि यो गलत अभ्यास अपनाइरहेका छन् ।
टीकापुर नगरपालिकाको वडा नं २, ६,७, ८ र ९ का ग्रामीण भेगमा अहिले पनि छाउपडी प्रथाका नाममा महिलामाथि हिंसा भइरहेको अवस्था छ । महिला अधिकारकर्मी निर्मला कडायतका अनुसार राजनीतिक दलले छाउ बार्नेलाई नेतृत्वमा नल्याउने खालको नीति बनाउन आवश्यक छ । उहाँ स्थानीय सरकार, सङ्घसंस्था र राजनीतिक दलले गाउँमा स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यक्रम तीब्र रुपमा सञ्चालन गर्नुपर्ने बताए ।
टीकापुर नगरपालिकाका उपप्रमुख केशरी विष्ट आफूले वडा वडामा छाउगोठको तथ्याङ्क सङ्कलन गर्न लगाएको बताइन् । हामीले तथ्याङ्क सङ्कलन गरेर यसको न्यूनीकरणका लागि कार्यक्रम तय गर्दै छौं, उपप्रमुख विष्टले भने, “छाउप्रथा बार्ने परिवारलाई वडाबाट पाइने सेवा रोक्ने योजनामा छौँ । सबैभन्दा पहिले यो सुरुआत शिक्षक, कर्मचारीका घरबाट सुरु हुनेछ ।