नयाँ पर्यटन गन्तव्य : शिलुछो पिक !

196 Shares

नेपालको अर्थतन्त्र विकासमा पर्यटनको क्षेत्रको योगदान अतुलनीय छ । नेपालका केही युवा पर्यटन व्यवसायमा आश्रित छन् । पर्यटन क्षेत्रमा क्रियाशिल जनशक्तिको आर्थिक स्तर पनि अत्यन्तै लोभलाग्दो छ । विश्व मानचित्रमा नेपाल पर्यटकिय दृष्टिले आकर्षक तथा संभावित गन्तब्यको रुपमा परिचीत भएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथा लगायत आठ हजारभन्दा माथीका ८ वटा भन्दा बढी हिमालहरु नेपालमा नै रहेको छ । यहाँका सुन्दर हिमाल, विश्व सम्पदा सुचीमा रहेका विभिन्न पुरातात्विक तथा साँस्कृतिक धरोहर, प्राकृतिक मनोरम दृश्य लगायत विभिन्न भेषभुषा, संस्कार सँस्कृति तथा चालचलनले नेपाल पर्यटन गन्तव्यको आकर्षक गन्तव्यको रुपमा स्थापित भएको हो । पर्यटकका लागि आकर्षक केन्द्र सोलुखुम्बु जिल्ला पनि हो । यहाँ विशेष त यहाँ रहेका विभिन्न हिमालहरुको अवलोकन तथा आरोहणका लागि विदेशी पर्यटकहरु आउने गरेको पाइएको छ । प्रशस्त आकर्षक गन्तब्यहरु हुदाहुदै पनि पर्यटकहरु सोलुखुम्बुको माथिल्लो क्षेत्रमा मात्रै सिमित भएको छ । सोलुखुम्बुको तल्लो क्षेत्र तथा सोलुखुम्बुका विभिन्न स्थानीय तहसंगै रहेको अन्य जिल्लाका स्थानीय तहहरुमा पनि विभिन्न प्रकारका आकर्षक गन्तब्यहरु रहेका छन् । यदि यस क्षेत्रमा पनि पर्यटन प्रबद्र्धन गर्न सकिएको खण्डमा यस क्षेत्रको स्थानीयको आयस्तरमा बृद्धिको उपयुक्त माध्यम हुन सक्छ । त्यसमध्ये भोजपुर जिल्लाको साल्पा शिलिछो गाउँपालिका, सोलुखुम्बुमा रहेको महाकुलुङ गाउपालिका र संख्ुवासभाको सिलिचुङ गाउपालिकाको सिमाना अवस्थित करिब समुन्द्र सतहबाट ४३५३ मिटर उचाईमा अवस्थित सिलुछो पिक तथा पनि एक संभावित आकर्षक गन्तब्य हो । यहाँका स्थानीय किराँत समुदायले सिलुछो, शिलिछो, सिलिचुङ आदि नामले यस पिकलाई पुकार्ने गर्ने गरेका छन् ।

शिलुछो पिक एक प्राकृतिक सम्पदा एबं धार्मिक आस्थाको केन्द्र हो । भोजपुर, खोटाङ, सोलुखुम्बु र संखुवासभाको संगम स्थलको रुपमा चिनिने समुन्द्र सतहबाट करिब ३४०० मिटर उचाईमा अवस्थित साल्पा पोखरी पनि सिलुछो पिकको फेदमा रहेको छ । धार्मिक आस्थाका हिसाबले साल्पा पोखरी र शिलुछो एक अर्काका परिपुरक हो । साल्पा पोखरीमा बैशाख, भाद्र तथा कार्तिक पुर्णिमाका दिन विशेष मेलाको साथमा आराधना हुने गर्दछ । सोही दिन शिलुछो शिरमा अवस्थित धाममाण् पनि पुजा आराधना गर्ने गर्दछ । यहाँ आराधना गरेमा मनले चिताएको पुग्ने जनबिश्वास छ । यो धार्मिक एकताको केन्द्रको रुपमा पनि परिचीत छ । बिशेषगरी किराँती सभ्यतासंग जोडिएको किँबदन्तीहरु भएपनि यस क्षेत्रमा बौद्ध, हिन्दु धर्मावलम्बीहरुले समेत यस क्षेत्रमा आई पुजा आराधना गर्ने गरेका छन् । पुजा आराधनाका लागि मात्रै बार्षिक ३ हजारभन्दा बढी मान्छेहरु आउने गरेको यस क्षेत्रका बासिन्दाको अनुमान छ । प्राकृतिक रुपमा पनि यो क्षेत्र अत्यन्तै सुन्दर छ । यस क्षेत्रमा दुर्लभ डाँफे, रेड पाण्डा, कस्तुरी मृग, बाघ, भालु, बँदेल लयागतमा जंगली जीवजन्तु पनि प्रशस्त मात्रा पाईन्छ । त्यस्तै डाँफे, मुजुर कालिज लगायत सयौ चराचुरुङगी पनि पाईन्छ । विभिन्न प्रजातिका लालीगुराँस र चिमाल लगायत उच्च पहाडी क्षेत्रमा पाईने धुपी सल्ला, सुनपाती, बुकी लगायत विभिन्न जडिबुटिहरु पनि यहाँ थप आकर्षण हो ।
शिलुछो पिकबाट देखिने सगरमाथा लगायतका विभिन्न हिमश्रुङखलाहरु ।
धार्मिक तथा प्राकृतिक सौन्दर्यताका दृष्टिले शिलुछो क्षेत्र आफैमा आकर्षक क्षेत्र हो । सिलुछो पिकको विशेषता या ेभन्दा पनि महत्वपुर्ण छ । यस पिकबाट सोलुखुम्बुमा अवस्थित विभिन्न हिमश्रृङखला अन्तर्गतका सगरमाथा, चोयु, ल्होत्से, न्यूप्से, आमडब्लम पुमोरी, लगायतका दुई दर्जनभन्दा बढी हिमालहरुको अवलोकन गर्न सकिन्छ । त्यस्तै कंचनजंगा हिमश्रृङखलामा पर्ने कंचनजंगा हिमाल र यसका आसपासका अन्य हिमालहरु तथा मकालु र यसका आसपासका अन्य हिमालहरु हेर्न सकिन्छ । यहाँबाट धर्मपिक, घ्याङखर्क, मेरा, बुकुर लगायतका दर्जनभन्दा बढी पिकहरुको समेत अवलोकन गर्न सकिन्छ । साथै संखुवासभा र सोलुखुम्बुको सिमाना रहेको केन्पा लगायतका अन्य धार्मिक स्थलहरु, अरुणनदी आसपास विभिन्न बस्तीहरु, तराईका फाँटहरु अवलोकन गर्न यहाँबाट सजिलै पाउन सकिन्छ । त्यति मात्रै नभई यहाँबाट सुर्योदयको समेत मजाले अवलोकन गर्न सकिन्छ । पुर्णिमा समयमा यदि त्यहाँ पुगेमा एकसाथ सुर्योदय र चन्दास्त समेत हेर्न सकिन्छ । यस आसपासमा रहेका अत्यन्तै सुगन्धित भैरुङ, सुनपाती लगायतका अन्य सुगन्धित जडिबुटि तथा फुलहरुको सुगन्धले सिलुछोको बसाईलाई थप आनन्ददायक बनाउछ । यति आकर्षक गन्तब्य हुदैहुदै पनि यस क्षेत्रमा पर्यटक आगमन संख्या औलामा गन्न सकिने मात्र छ । यदि यस क्षेत्रलाई पनि पर्यटकका लागि गन्तब्यको रुपमा स्थापित गर्न सकिएको खण्डमा अन्नपुर्ण हिमश्रृङखला अवलोकनका लागि चर्चित पुन हिल, सुर्योदयका लागि चर्चित श्रीअन्तु डाँडा र अन्नपुर्ण रुटमा चर्चित गाउहरुको जस्तै अत्यन्तै जैविक स्वाद एकसाथ एकै स्थानबाट लिन सकिने संभावना छ देखिन्छ । यस क्षेत्रमा पर्यटन प्रबद्र्धनका लागि राज्य, नागरिक समाज र नीजि संस्था वा कम्पनी सबैले आ–आफनो स्थानबाट योगदान दिन जरुरी देखिन्छ । जसका लागि तपशिल अनुसारका कार्यहरु गर्न जरुरी देखिन्छ ।


१. प्रचारप्रसारमा ब्यापकता 

नेपाल सरकारले पर्यटन बर्ष २०२० घोषणा गरीसकेको अवस्थामा पुरानै क्षेत्रमा घुमेर मात्रै पर्यटकले आनन्द लिन सक्दैन । नयाँ गन्तब्य नया स्वादको खोजीमा पर्यटक भौतारिरहेको हुन सक्छ । यस क्षेत्रमा पर्यटन प्रबद्र्धनका लागि ब्यापक प्रचार प्रसार गर्न जरुरी देखिन्छ । स्वदेशी तथा विदेशी पर्यटकका लागि आकर्षक स्थान रहेकाले यहाँ दुवै प्रकारका पर्यटकलाई लक्षित गरी राष्ट्रिय तथा अन्तरराष्ट्रिय संचारमाध्यममा प्रचार प्रसार गर्न जरुरी छ । प्रचारप्रसारका लागि राज्य तथा ट्रेकिङहरुले साझेदारीता तथा समन्वयको आवश्यकता पर्दछ । साथै स्थाथीय स्तरमा रहेका स्थानीय तहले पनि प्रचार प्रसारमा ब्यापकता दिन जरुरी छ ।
२. पुर्वाधारको निर्माण

ब्यबस्थित पर्यटनका लागि पाहुनाका आगमनले मात्रै पुग्दैन । पर्यटन प्रबद्र्धनका लागि पर्याप्त र ब्यबस्थित पुर्वाधारको आवश्यकता पर्दछ । पर्यटनका लागि आवश्यक पर्ने बाटो, विजुली, संचार, सुरक्षित बासस्थान, खानेपानी आदिको ब्यबस्था गर्न जरुरी छ । सिलुछोको आसपासमा हाल कुनैपनि पुर्वाधारको विकास भएको छैन । यस क्षेत्रमा रहेका प्राकुतिक सौन्दर्यतालाई कुनै पनि हिसाबमा क्षति नपुरयाई भ्यु टावर, ब्यबस्थित होटल तथा रेष्टुरेण्ट तथा होमस्ट, विजुली, संचारका इन्टरनेटको ब्यबस्था गर्न सकिने प्रवल संभावना रहेको छ । यस क्षेत्रमा रहेका खाली जमिनहरुमा स्थानीय सरकार र सामुदायिक बन उपभोक्ता समितिसंगको समन्वयमा थुप्रै भ्यु टावर र होटल स्थापना गर्न सकिन्छ । यसो गरेको खण्डमा पर्यटकको बसाई लम्ब्याउन सकिन्छ ।


३. एकीकृत पदमार्गको अवधारणा

कुनैपनि विदेशी वा स्वदेशी नागरिक सिलुछो पिक चढ्नका लागि भनेर नै नआउन सक्छ । त्यसैले सिलुछो पिकमा पर्यटक संख्या बढाउनका लागि एकीकृत पदमार्ग अवधारणा अगाडि सारिएको खण्डमा यस क्षेत्रमा पर्यटन आगमनको संख्या बृद्धि गर्न सकिन्छ । यस अन्तर्गत हाल चर्चामा आएका यस आसपासमा रहेका पदमार्गहरुलाई एकीकृत पदमार्गको रुपमा स्थापित गरी दिगो पर्यटन बिकासको खाका कोर्न आवश्यक छ । शिलुछोलाई एकीकृत पदमार्गको एक उच्च प्राथमिकताको विन्दुको रुपमा स्थापना गर्न सकिएको खण्डमा राम्रो हुन सक्छ ।
४. जैविक विविधताको संरक्षण

शिलुछो क्षेत्र जैविक विविधताको हिसाबले अत्यन्तै आकर्षक क्षेत्र हो । यस क्षेत्रमा रहेका विभिन्न प्रकारका जंगली जीवजन्तु तथा पंक्षीहरु, जडिबुटिहरुको संरक्षण गर्न जरुरी छ ।
५. पर्यटन शिक्षा

पर्यटन प्रबद्र्धनमा टेवा पुर्याउनका लागि पर्यटन शिक्षाको आवश्यकता पर्दछ । त्यसैले यस क्षेत्रमा पर्यटन प्रबद्र्धनमा स्थानीय समुदायलाई लक्षित गरी पर्यटन शिक्षाको ब्यबस्था जरुरी छ । जबसम्म नागरिक तहमा पर्यटन शिक्षाको स्तर बृद्धि हुदैन तबसम्म पर्यटनको आकर्षण बृद्धि गर्न सकिदैन । अतः पर्यटन प्रबद्र्धनमा स्थानीय समुदायको चेतनाको स्तरमा सुधार गरी स्थानीयबाट योजना निर्माण गरी पर्यटन प्रबद्र्धनमा विभिन्न क्रियाकलाप संचालन गर्न सकेको खण्डमा यसले सार्थक रुप पाउन खासै समय नलाग्ला ।


६. पर्यटनमा नौलो आयामको अवधारणा

समय अनुसारको पर्यटनका आयामहरुको सिर्जना गर्न सकिएको खण्डमा पर्यटन प्रबद्र्धनमा ठुलो सहयोग हुने मेरो अनुमान छ । सगरमाथा तथा अन्य शिखर हिमालको आधार रुटमा आउने पर्यटकको उद्धेश्य भनेको त्यहाँको हिमालको अवलोकन गर्ने तथा शिखर आरोहण गर्ने नै मुख्य हुन्छ । अन्य उद्धेश्य गौण हुन्छ । त्यस्तै चितवन राष्टिय निकुन्जमा त्यहाँ रहेका विभिन्न प्रकारका जीवजन्तु तथा पंक्षीहरुको अवलोकनका लागि पर्यटक आउने गर्दछन् । यसको मतलव पर्यटकका विभिन्न चाहना हुन्छन । त्यसैले शिलुछो क्षेत्रमा पर्यटन आकर्षणका लागि नया आयामहरुको सिर्जना तथा ब्यबस्थापन गर्न सकिन्छ । उदाहरणका लागि यस क्षेत्रमा पाईने विभिन्न स्थानीय जडिबुटिबाट उत्पादित मसलाको स्वाद चखाउन सकिन्छ । जडिबुटिको नै स्थानीय प्रविधिमा उत्पादन भएको स्थाथीय पेय पदार्थलाई यस क्षेत्रको पर्यटनको आकर्षणको एक माध्यम बनाउन सकिन्छ । “कागती हालेको चिया लेमन टि, अदुवा हालेको जिन्जर टि हुने हो भने यस क्षेत्रमा पाईने विभिन्न प्रकारका जडिबुटि संरक्षण गरी त्यसको स्वादमा हामीले पनि विभिन्न प्रकारका चिया तथा अन्य खादय्पदार्थको उत्पादन गर्न सकिन्छ ।” ः– भलाकाजी कुलुङ । साथै यस क्षेत्रमा पाईने चौरीको दुग्धजन्य उत्पादनको प्रयोग गर्नका लागि प्रोत्साहन गर्न सकिन्छ । यस रुटमा पाईने स्थानीय जैविक उत्पादनको मात्र प्रयोग गरी आन्तरिक तथा बाह्य पर्यटकलाई यसको सकारात्मक सन्देश प्रबाह गर्न सकेको खण्डमा पनि पर्यटनको आकर्षणमा बृद्धि हुन सक्छ । अन्य सिर्जनात्मक उपायहरुको खोजी गरी प्रचलित ब्यबहारभन्दा फरक स्वाद र अनुभुति दिलाउन सकेको खण्डमा यस क्षेत्रमा पर्यटन प्रबद्र्धनका लागि खासै समय नलाग्ने बिश्वास छ ।
७. अन्य

यस क्षेत्रमा पर्यटन प्रबद्र्धनका लागि माथी उल्लेख गरिएका विषयसंगै अन्य क्रियाकलपाहरु समेत गर्न आवश्यक छ । शिलुछो जानका लागि प्रयोग गरिने पदमार्गहरुमा शान्ति तथा सुरक्षाको प्रत्याभुति, यस क्षेत्रमा रहेको विभिन्न जात जातीको कला तथा सँस्कृतिको संरक्षण गर्न जरुरी छ ।
शिलुछो पिकसम्म आवतजावतका लागि हाल आएर विभिन्न पर्यटन ब्यबसायी तथा विभिन्न संघसंस्थाहरुले विभिन्न पदमार्गहरुको खाका कोरेका छन् । ती पदमार्गलाई अझ ब्यबस्थित बनाउन सकिएको खण्डमा यस क्षेत्रम बसोबास स्थानीय समुदायको आर्थिक स्तरमा बृद्धि हुने तथा समग्रतामा नेपालको अर्थतन्त्र सुधारमा समेत योगदान पुर्याउन सहयोग हुने देखिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार