स्थानीय सरकार र नागरिक समाजबीच सहकार्य हुन सकेन

0 Shares

ओखलढुंगा । नागरिक समाजका अगुवाहरुले स्थानीय सरकार र नागरिक समाजका बीचमा सहकार्य कमजोर रहेको औल्याएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सदरमुकाम ओखलढुंगामा बुधबार आयोजना गरेको नागरिक समाज तथा स्थानीय सरकारबीचको सहकार्यका अबसर र चुनौति विषयक छलफल कार्यक्रममा नागरिक समाजका संस्थाका अगुवा तथा सञ्चारकर्मीहरुले स्थानीय सरकारले सहकार्यमा चासो नदिएको गुनासो गरे ।
उनीहरुले सरकारको साझेदार निकायको रुपमा भूमिका खेल्दै आएको गैरसरकारी संस्था र जननिर्वाचित प्रतिनिधिले नेतृत्व गरेको स्थानीय सरकारबीच आवश्यक समन्वय नहुँदा विकास निर्माण र रुपान्तरणमा सुशासन र पैरवीका सवालहरु प्रभावित भएको औल्याएका छन् । नागरिक समाजका संस्थाहरु स्थानीय सरकारका प्रतिस्पर्धी नभइ सहयोग भएकाले सहकार्य गर्ने वातावरण बनाउन माग गरेका छन् ।
सामुदायिक वन उपभोक्ता महासंघ, प्रदेश नं. १ समितिका उपाध्यक्ष गोपालमान थापाले गैर सरकारी संस्थाले सहकार्यलाई प्रभावकारी बनाउनु पर्ने बताए । थापाले नागरिक समाजका संस्था सरकारका सहयोगी भएकाले सोही अनुसार व्यवहार गर्न स्थानयि सरकार प्रतिबद्ध हुनु पर्नेमा जोड दिए ।
स्थानीय सरकारमार्फत नै बजेट खर्च गर्ने संस्थालाईमा मात्र स्थानीय सरकारले सहज रुपमा काम गर्न दिने गरेको सोच नेपालका जिल्ला अधिकृत बोधनारायाण श्रेष्ठले बताए । उनले जनचेतना अभिवृद्धि र पैरवी मात्रै गर्ने संस्थालाई स्थानीय सरकारले सहयोग नगरेको आरोप लगाए ।
एउटै उद्देश्य राखेर काम गरिरहेका सरकारी र गैरसरकारी निकाय बिचको दुरी घटाउन जनप्रतिनिधि र नागरिक समाजका अगुवाबिच छलफल गर्न थालिनु सकारात्मक कदम भएको बताउँदै गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष मानबहादुर बस्नेतले इन्सेकको सहयोगमा जिल्लाको सिद्धिचरण नगरपालिकामा छलफल गरेर समन्वयात्मक ढंगले अघि बढ्ने निचोड निकालिएको बताए । आगामी दिनमा अन्य स्थानीय तहमा यस्ता कार्यक्रम सञ्चालन गरिने गैसस महासंघका अध्यक्ष मानबहादुर बस्नेतको भनाइ छ ।
छलफलमा जनप्रतिनिधीहरुले समेत सहकार्य र समन्वय प्रभावकारी नभएको निचोड निकालेका थिए । सुनकोशी गाउँपालिका १० का वडा अध्यक्ष झनककुमार कार्कीले जनप्रतिनिधि विहिन अवस्थामा नेपालका गैरसरकारी संस्थाको भूमिका निकै महत्वपूर्ण रहेकाले अब पनि साझेदार संस्थासँग मिलेर संयुक्तरुपमा काम गर्ने सरकारी नीति आवश्यक रहेको बताए ।
नागरिक समाजका गुनासाबारे आफ्ना धाराणा राख्दै सिद्धिचरण नगरपालिकाकी उपप्रमुख इच्छा कुमारी गुरुङले जिल्लामा अधिकांश गैरसरकारी संस्थाहरु पुरानै शैलीमा चलिरहेको बताउँदै केहीले नयाँ संरचना अनुसारको अभ्यास गरिरहे पनि स्थानीय तहमा आवश्यक समन्वय नगरेको आरोप लगाइन् । स्थानीय सरकारहरुले गाउँ तथा नगरसभा सञ्चालन हुनु अगावै गैरसरकारी संस्थालाई बजेट, कार्यक्रम पेश गर्न आग्रह गरे पनि त्यसरी दिईएको समयमा गैरसरकारी संस्था सुचिकृत हुन नआएको सिद्धिचरण नगरपालिका प्रमुख मोहन कुमार श्रेष्ठले बताए सुचिकृत हुन नआएका संस्थालाई नगरमा काम गर्न नदिने उनेको अडान छ ।
प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले विकास निमार्ण र जनचेता अभिबृद्धिका काममा सकृय संस्थाले सम्बन्धित सबै पक्षसँग समन्वय गरेर नजिता दिने काम गर्नुपर्ने सुझाव दिए । उनले आरोप प्रत्यारोप छाडेर सहकार्य गर्न आग्रह गरे । छलफलपछि नागरिक समाजका प्रतिनिधी र जनप्रतिनिधहरुबीच सबै खाले विकासका काम पारदर्शी, जवाफदेही र सहभागीतामूलक बनाउन स्थानीय सरकार, नागरिक समाजका संस्था र सञ्चारक्षेत्रबीच सहकार्य गरेर अघि बढ्ने निर्णय भएको छ । कार्यक्रममा सिद्धिचरण नगरपालिका र सुनकोसी गाउँपालिकाका जनप्रतिनिधी, जिल्लास्थित गैरसरकारी संस्थाहरुका प्रमुख, सञ्चारकर्मी तथा सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधी गरि ४५ जना सहभागी थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार