दलितको भोजखाने ब्राह्ण सामाजिक बहिस्कारमा परे

14 Shares

खोटाङ्ग । जिल्लामा एक सामाजिक बहिस्कारको घटना भएको छ । घटनाका पीडित व्यक्तिले समाजबाट बहिस्कारमा परेपछि प्रदेश सरकारसँग गुहार मागेका छन । जिल्ला समन्वय समितिले गत जेठ १८ गते खाल्लेमा आयोजना गरेको सहभोजमा सहभागी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका ७६ वर्षीय टङ्कप्रसाद आचार्य बहिस्कारमा परेको हो ।
जिल्लाका प्रतिष्ठित व्यक्ति भेला भएको कार्यक्रममा आचार्यसहित सबैले सामूहिकरूपमा भोज खाएका थिए । मानिसमा ठूलो र सानो जात हुँदैन भन्ने ठहरका साथ सहभोजमा बनाइएका परिकार आचार्यलगायत सबैले खाए । यसले सामाजिक रूपमा एउटा सकरात्मक सन्देश दिएको थियो ।

सहभोजमा जिल्लाका सबैजसो राजनीतिक दलका नेता उपस्थित रहेका थिए । दलितकै घरमा आयोजित कार्यक्रममा नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घका अध्यक्ष चर्चबहादुर विश्वकर्माले प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईलाई दलितको छोरी बिहे गर्न अनुरोधसमेत गर्नुभएको थियो । प्रदेश नं १ लाई छुवाछूतमुक्त प्रदेश बनाउने प्रदेश सरकारको अभियानअन्तर्गत खाल्लेमा सहभोजको आयोजना गरिएको थियो । तर, यसको परिणाम वृद्ध अवस्थाका आचार्यलाई असार २७ गतेमात्र थाहा भयो ।

जुन दिन उहाँले आफ्नो संस्कारअनुसार पितृको श्राद्ध गर्नु थियो । असार २६ गते नै कपाल काटेर उहाँ एकछाकी बसेको थियो । असार २७ गते उहाँका पुरोहित वसन्त घिमिरे लफ्याङबाट आउनुपर्ने थियो तर, आएनन् । आचार्यले निकै समय पर्खे तर पुरोहित नआएपछि उहाँलाई ठूलो समस्या भयो । उहाँले सहभोजमा आमन्त्रण गर्ने र जान प्रेरित गर्नेलाई फोन गरेर समस्या सुनाए।

त्यसपछि कोही पनि पुरोहित उहाँको घरमा आएनन् । पुरोहित नपाएपछि नगरप्रमुखदेखि जिल्लाबाट निर्वाचित प्रदेश सभा सदस्य र सांसदलाई समेत यो समस्याले तनाव दिएको थियो । पुरोहितले दलितले छोएको खाएर जात छाडेकाले उहाँकोमा पूजापाठ गर्नु आफँै बिटुलिनु हो भनेर उपस्थिति जनाएनन् ।

आचार्यको फोन आएपछि नगरप्रमुख दीपनारायण रिजालसहितका जनप्रतिनिधिलाई ठूलो दबाब आइपरेको थियो । अन्ततः निकै ठूलै कसरतपछि नेर्पाका चित्रकुमार सुवेदी ९नगरपालिकाकै नायब सुब्बा०लाई आचार्यको पितृश्राद्ध गर्न पठाइयो । लामो समयदेखि पुज्दै आएको पुरोहित नआएपछि हतोत्साहित भएका आचार्यलाई जिल्लामा सम्मान पनि गरिएको थियो । नगर दिवसका अवसरमा नगरपालिकाले, जिल्ला समन्वय समितिले सहीद मनोज जोशीको स्मृति दिवसमा आचार्यलाई सम्मान गरेको थियो ।

सहभोजमा सहभागी भएपछि आचार्यलाई गाउँकै दाजुभाइले समेत बहिस्कार गरेका छन् । आचार्यलाई गाउँमा हुने धार्मिक तथा सांस्कृतिक कार्यक्रममा निम्तोसमेत गर्न छाडेपछि नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ र खोटाङ दलित विकास मञ्चले जिल्ला प्रशासन कार्यालयमा चार जनाविरुद्ध उजुरी दिएको थियो । जिल्ला प्रशासनमा उजुरी परेपछि जिल्ला प्रहरी कार्यालयमा पक्ष र विपक्षबीच छलफलपछि मिलापत्रसमेत गरिएको थियो । गाउँ–समाजले बहिस्कार गरेपछि हप्ता दिनअघि जिल्ला छाडेका आचार्य अहिले प्रदेश सरकारसँग गुहार मागिरहेको छ ।

जिल्लास्थित कानूनी कारवाही गर्ने अड्डाले आफूमाथि भएको अन्यायमा कुनै चासो नदिएपछि प्रदेश सरकारसमक्ष दुखेसो राख्न विराटनगर आएको आचार्यले बताए । “मैले हाम्रो समाजमा लामो समयदेखि रहिआएको छुवाछूत प्रथालाई अन्त्य गर्न अभियान सुरु गरेको हुँ”, उहाँले भने, “आफ्नै वंशका टाठाबाठा भनिने व्यक्तिले बहिस्कार गरेपछि कानूनी उपचार खोज्न यहाँ आएको हुँ ।” गाउँबाट बहिस्कृत भएका आचार्यले मङ्गलबार मुख्यमन्त्री शेरधन राईलाई भेट गरेको छ । मुख्यमन्त्री राईले आचार्यको अभियानमा प्रदेश सरकारको पूर्ण साथ रहने बताएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार