१ पुस २०८२, मंगलबार | Tue Dec 16 2025

परम्परागत लोपोन्मुख कृष्णबालन जोगाउने प्रयास


६ भाद्र २०७६, शुक्रबार  

49
Shares

चिप्लेढुँगाा । पोखरा महानगरपालिका–३३ चवादी र तनहँुको शुक्ला गण्डकी नगरपालिकाका विभिन्न वडाअन्तर्गत सेराबेँसी, फिर्दी, दुलेगौडा, खैरेनीलगायत स्थानका संस्कृतिप्रेमीको प्रयासमा लोपोन्मुख कृष्णबालन जोगाउने प्रयास थालिएको छ ।

पछिल्ला वर्षमा बढ्दै गएको डिस्को, दोहोरी र पप ब्याण्डप्रतिको युवामोह एवं प्राचीन संस्कृतिप्रतिको बढ्दो वितृष्णालगायतका कारण प्राचीनकालदेखि प्रचलित मौलिक संस्कृतिको कृष्णबालन लोप हुँदै गएको भन्दै यसको संरक्षणमा सक्रियता बढाइएको हो ।

आधुनिकताको मारमा प्राचीन संस्कृति पर्दैै गएको वास्तविकतालाई दृष्टिगत गरी यसको जगेर्नाका लागि पहल थालिएको नेपाली लोक, संस्कृति बालन संरक्षण समूहका अध्यक्ष यामप्रसाद पौडेलले बताए । “युवापुस्तामा देखिएको आधुनिकताको मोहसँगै उनीहरू प्राचीन संस्कार र संस्कृतिमा बेखबरजस्तै बन्नु गम्भीर चुनौतीका रूपमा देखिएको छ”, उहाँले भने, “मौलिकतामा आधारित यी संस्कृति धान्न कलाकार व्यवस्थापन एवं उनीहरूले पहिरने वस्त्र, आभूषण आदि किन्न खर्चिलो हुने भएकाले पनि जोगाउन धौधौ परेको छ ।”

उहाँका अनुसार अभिनय गर्दै आएका ज्येष्ठ नागरिक अशक्त बन्नुका साथै युवाहरू वैदेशिक रोजगारीको खोजीमा जानु, महिला कलाकार विवाह भएर जानु आदि कारणले कलाकार संरक्षण गर्न पनि चुनौतीपूर्ण बनेको छ । कृष्णबालन सञ्चालन गर्न न्यूनतम ४० जना कलाकारको सहभागिता आवश्यक पर्छ भने यो खर्चिलो पनि छ ।

देवीदेवताको गुणगानमा केन्द्रित बालन सृष्टिकालदेखि भगवान्का लीला र अवतारको वर्णनमा आधारित छ । गायनसँगै नृत्यसमेत प्रस्तुत गरिने बालन भगवान्का लीलामा आधारित मौलिक संस्कृति हो । यो गीता, महाभारत, रामचरित्र, कृष्णचरित्र र भगवान्का १० अवतारलाई लिएर प्रस्तुत गरिन्छ ।

नेपाली लोकसंस्कृति बालन संरक्षण समूहले दुई वर्षयता कलाकार तयार गर्दै विभिन्न स्थानमा बालन संस्कृति प्रस्तुत गर्दै आएको अध्यक्ष पौडेलले जानकारी दिए । संस्कृतिका विविध पक्षबारे जानकारी दिन बालन संस्कृतिका जानकार छोरेपाटनका खगराज आचार्यलाई बोलाएर आफूहरूले प्रशिक्षण लिएको उहाँले बताए । पौराणिक समयमा भारद्वाज ऋषिले आफ्नो आश्रममा प्रवेश गर्दा कृष्णलीलामा आधारित बालन खेल्न बालनेहरुलाई निमन्त्रणा गरेको स्मरण गर्दै बालन नाच नाच्ने चलन छ ।

बालन संस्कृतिको मौलिकतालाई जोगाउन तनहुँको शुक्ला गण्डकी नगरपालिका– १ सेराबेँसीमा पनि युवापुस्ताले सक्रियता देखाएका छन् । अघिल्लो पुस्तासँग सहकार्य गर्दै नयाँपुस्ता कृष्ण बालनको जगेर्नामा सक्रिय बनेको सेराबेँसी संस्कृतिक समूहका पूर्वसचिव ठाकुरप्रसाद खनालले जानकारी दिए ।

पछिल्लो समयमा अभिनय गर्ने कलाकारको अभाव, समयको व्यवस्थापन, आर्थिक समस्यालगायत समस्याका बाबजुद आफूहरू निरन्तर लागिरहेको उहाँले बताउनुभयो । सेराबेँसीमा विसं २०१२ अघिदेखि नै बालन नाच शुरु गरिएको इतिहास छ ।

बालनमा खेल्ने कलाकारमध्ये एकतिहाई महिला कलाकार आवश्यक हुने भए पनि उनीहरूलाई घरबाट निस्कन समस्या पर्ने, अविवाहित महिला विवाह भएर जाने आदि पनि समस्याका रुपमा देखिएको छ । केही वर्षयता सेराबेँसी क्षेत्रको बालन समूहले देवघाट, पोखराको विन्दवासिनी, लामेआहालस्थित राधाकृष्ण मन्दिर, काठमाडौँको पशुपतिनाथ, दमौली तथा लेखनाथ महोत्सवलगायतका विभिन्न स्थानमा उत्कृष्ट बालन नाच प्रस्तुत गरिसकेको छ । यस वर्ष पनि भोलि शनिबार सेराबेँसी, मालेपाटन, ढोडबेँसीलगायतका स्थानमा भाँकी देखाउने कार्यक्रम रहेको खनालले जानकारी दिए ।

विसं २०२० मा कास्कीको पोखरा महानगरपालिका–३३ भरतपोखरीको आँबुकश्यारी गाउँमा पनि बालन नाच खेल्ने गरेको जानकारी पाएसँगै सेराबेँसीका स्थानीयवासीले त्यहाँका ज्ञान, सीप लिएर संस्कृतिलाई निरन्तरता दिँदै आएका थिए । आधुनिकताको मारमा धेरै प्राचीन संस्कृति लोप भइसकेको वास्तविकतामा मौलिक संस्कृतिका रूपमा रहेको कृष्णबालन संरक्षणमा देखिएको आर्थिक समस्यालाई समाधान गर्न राज्यस्तरबाटै चासो दिनुपर्ने अवस्था आएको सरोकारवाला बताउँछन् ।

प्रकाशित मिति : ६ भाद्र २०७६, शुक्रबार  ५ : २७ बजे