काठमाडौं । सवारी साधनसम्बन्धी कुम्भ मेला ‘नाडा अटो शो-२०१९’ शुरू भएको छ । काठमाडौंको भृकुटीमण्डपमा शुरू भएको मेलाको मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटन गरेका थिए ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा भएको अटो शो भदौ १५ गतेसम्म चल्नेछ । सवारी साधन, पार्टपुर्जा, वित्तीय सेवालगायतको सहभागिता रहेको सो मेला नाडाको १४ औं संस्करण हो । प्रदर्शनीमा ठूला तथा साना गरी करिव १६० वटा स्टल र ब्लक छन् ।
प्रदर्शनीमा २३ वटा ब्राण्डका चार पाङ्ग्रे, १९ वटा ब्रान्डका दुई पाङ्ग्रे, १२ वटा ब्रान्डका लुब्रिकेन्ट, ९ वटा ब्रान्डका टायर, ५ वटा ब्रान्डका ब्याट्री, १४ वटा पार्ट–पुर्जा एवम् ग्यारेज उपकरण कम्पनी तथा १३ वटा वित्तीय संस्थाको सहभागिता छ ।
गत वर्ष करिब ७५ हजार मानिसले मेलाको अवलोकन गरेको तथा अहिले पनि यति नै मानिसको सहभागिता रहने विश्वास लिएको नाडाका सचिव एवम् मेला व्यवस्थापनका प्रवक्ता अनुप बरालले बताए ।