३ माघ २०८२, शनिबार | Sat Jan 17 2026

राजनैतिक परिवर्तनमा कुलप्रसादको भूमिका महत्वपूर्ण :  अध्यक्ष प्रचण्ड


२५ भाद्र २०७६, बुधबार  

77
Shares

चितवन । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनैतिक परिवर्तनका लागि स्व कुलप्रसाद दाहालको अतुलनीय भूमिका रहेको बताएको छ । आफ्ना ठूला बुबासमेत रहेका दाहालको देवघाटमा आज अन्तिम श्रद्धाञ्जलीपछि पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष दाहालले ठूला बुबाले न्यायपूर्ण समाजका निम्ति आफूहरुलाई उत्प्रेरित गर्ने गरेको चर्चा गरे ।

आफ्ना गुरु बासमेत रहनुभएका कुलप्रसादको सम्झना गर्दै उहाँले भने, “बुबाको योगदान निकै ठूलो छ । मानिसहरुले बाहिरबाट हेर्दा झट्ट नदेखिने तर बुबाले परिवारका सबै सदस्यलाई राजनीतिमा सङ्गठित बनाएर लैजान महत्वपूर्ण भूमिका खेले ।” अध्यक्ष दाहालले पञ्चायत विरोधी आन्दोलनका समयमा आफ्नो घरलाई पार्टीको मुख्यालय बनाएको भन्दै त्यही घरमा पार्टीका बैठक र राजनैतिक प्रशिक्षणहरु हुने गरेको बताए ।

पहिला किसान मोर्चाको र पछि पार्टीको सदस्यका रुपमा रहेर सबै छोराछोरीलाई राजनीतिमा परिचालन गरेको भन्दै उहाँले ठूलो बुबाको मृत्युवरण सहज हुनुमा जीवनभरको मिहिनेत रहेको बताए । अध्यक्ष दाहालले पार्टी र आफ्नो तर्फबाट श्रद्धाञ्जली पनि अर्पण गरे । स्व दाहालका छोरा नारायण दाहाल नेकपा प्रदेश नं ३ का अध्यक्ष छन् । दाहालको भरतपुर महानगरपालिका–७ मा मङ्गलबार राति ९२ वर्षको उमेरमा निधन भएको हो ।

उहाँका चार छोरा र दुई छोरी हुनुहुन्छ । श्रीमतीको यसअघि नै निधन भइसकेको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार  ९ : २२ बजे