सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले गाउँपालिकामा भएको जनप्रिय काम देखेर आफ्ना विरुद्धमा गलत प्रचार गर्न थालेको बताएका छन् । केहि अनलाईनमा आएको समाचारको खण्डन गर्दै अध्यक्ष राईले गाउँपालिकामा भएको विकास देख्न नसक्नेहरुले गलत प्रचार गरेको बताएका हुन् ।
गाउँपालिकाको भवन र अध्यक्षले चढ्ने गाडीको विषयमा केहि अनलाईनमा समाचार प्रकाशित भएपछि अध्यक्ष राईले प्रतिक्रिया दिँदै भने, ‘मैले निजी आवास निर्माण गरेको होइन, जनसेवाका लागि सुविधा सम्पन्न गाउँपालिका भवन निर्माण गरेको हो । स्थानीय समाजसेवी जग्गादाताबाट नै जग्गा लिएर गाउँपालिकाको भवन निर्माण गरेका हौं ।’ भवनको अभावमा काम गर्न समस्या भएको भन्दै अध्यक्ष राईले प्रतिप्रश्न गर्दै भने ‘पत्रिकामा सार्वजनिक रुपमा सूचना प्रकाशित गरेर टेण्डर आव्हान गरी पालिकाको भवन बनाएका हौं । के पालिकाको सम्पत्ती जोड्नु भ्रष्टाचार हो ?’
सोलुखुम्बुमा भएका स्थानीय तहमध्ये सबैभन्दा पहिले भवन निर्माणको काम थुलुङ दुधकोशीले बनाएकोमा केहि अराजक शैलीका विकास बिरोधीहरुले भ्रामक समाचार फैलाएकै भरमा आफू विचलित नहुने समेत अध्यक्ष राईले बताए । ‘मेरो काम गराईको गतीले विपक्षीहरुको रोइलो मच्चिएको छ,’ उनले भने, ‘गाउँपालिकाको प्रत्येक घरमा गएर पालिकाको कामको बारेमा घरधुरी सर्वे नै गरौंन ? किन यसरी भ्रामक समाचार फैलाएर समय खेर फाल्नु ?’
गाउँपालिकालाई जग्गा दिएका जग्गादाता एकबहादुर गुरुङका छोरा बलराम गुरुङले परिवारको सल्लाह बमोजिमनै गाउँपालिका भवन बनाउनको लागि जग्गा दिएको बताए । ‘हामीले घर सल्लाह गरेर नै गाउँपालिका भवन निर्माणको लागि जग्गा दिएका हौं, भवन निर्माण अगाडिनै मञ्जुरीनामामा सहीछाप गरिदिएका छौं,’ जग्गादाता गुरुङले भने, ‘सगोलको जग्गा भएकाले अब चाँडै पास गरिदिन्छौं, हामी दिनेलाई आपत्ति छैन, अरुलाई के को टाउको दुखाई ? स्थानीय सरकारलाई स्वेच्छाले जग्गा दान गर्न हुँदैन भनेर कहाँ लेखिएको छ ?’
विना बोलपत्र गाडी खरिद गरिएको भन्ने समाचारप्रति पनि गाउँपालिका अध्यक्ष राईले आपत्ति जनाएका छन् । गाउँपालिकाले सार्वजनिक खरिद ऐन अनुसारनै सबै सवारी साधन खरिद गरेको प्रमुख प्रशासकीय अधिकृत अविलाल राईले बताए । ‘समाचारमा १ करोड १० लाख भनिएको रहेछ, गाडिको वास्तविक मूल्य ८२ लाख मात्र हो, हामीले पत्रिकामा बोलपत्र आव्हान गरेर नै हाईलक्सभन्दा सस्तो गाडी किनेका हौं,’ अधिकृत राईले भने, ‘गाडि खरिद सम्बन्धी सम्पूर्ण बील भर्पाई आन्तरिक तथा महालेखा परिक्षकबाट समेत बेरुजु ननिस्की पास भईसकेकाले यस्ता भ्रामक समाचारको पछि नलाग्न मेरो अनुरोध छ, यस्ता हचुवाको भरमा लेखिएको समाचारप्रति हामी कानूनी उपचार गर्नेछौं ।’
‘गाउँपालिकाको भौगोलिक अवस्था र बाटो सुहाउदो सवारी साधन खरिद गरेका हौं, अन्य गाडिभन्दा निक्कै सस्तो र बलियो छ,’ अध्यक्ष राईले भने, ‘गाडि मैले मेरो व्यक्तिगत नाममा खरिद गरेको होइन, मेरो कार्यकाल सकिएपछि अर्को जनप्रतिनिधीले पनि यही सवारी साधन प्रयोग गर्ने हो, त्यसैले कम्तिमा पनि दुई तीन जना जनप्रतिनिधीको कार्यकालसम्म पुगोस ।’