अनिष बने लिगलिगकोटको १ दिने राजा

  लोकचन्द्र थापा
168 Shares

गोरखा । दशौं लिगलिगे दौडको उपाधि पर्वतका अनिष थापाले हात पारेका छन् । १३.८ किलोमिटर दूरी ५७ मिनेट ५५ सेकेण्डमा पार गर्दै उननले उपाधि जितेका हुन् ।


दौड जितेसँगै अनिषलाई बिहीबार नै श्रीपेच र पगरी लगाएर लिगलिगे राजा घोषित गरिएको छ । श्रीपेचसहित उनलाई मोटरमा राखेर नगर परिक्रमा गराइएको छ । ‘राजा बनाएर आज एक रात यही लिगलिगकोटमा राख्छौं,’ पालुङटार नगरपालिकाका मेयर दिपकवावु कंडेलले भने ।
थापालाई ६० हजार नगद पुरस्कारको साथमा ट्रफि, मेडल र प्रमाणपत्र पनि उपलब्ध गराइएको छ । एक वर्षसम्म लिगलिगकोटको दूत रहने गरी व्याज पनि उपलब्ध गराइएको छ । प्रतियोगितामा नेपाली सेनाका खगेन्द्रबहादुर भाट दोस्रो भएका छन् । एक घण्टा १ मिनेट ८ सेकेण्डमा उनले निर्धारित दूरी पार गरेका छन् । उनले ३५ हजार नगद पुरस्कार पाए ।
एक घण्टा १ मिनेट ३४ सेकेण्डमा निर्धारित दूरी पार गर्दै नेपाली सेनाकै रामजी बस्नेत तेस्रो भए । उनले नगद २५ हजार पुरस्कार पाएका छन् । १६६ जना सहभागी दौडमा दशौं स्थानसम्म हासिल गर्ने सहभागीलाई पुरस्कारको व्यवस्था गरिएको छ ।


पालुङटार नगरपालिका, नेपाली सेना र लिगलिगकोट विकास अभियानको संयुक्त आयोजनामा प्रतियोगिता भएको हो । विहान साडे आठ बजेबाट चेपे र मस्र्याङदी नदीको दोभान चेपेघाटबाट सुरु भएको दौड लिगलिगकोट दरबार पुगेर टुङ्गएिको छ ।
महिलातर्फ बड्डाँडाबाट लिगलिगकोट सम्मको ५ कि.मी. दूरीको खुल्ला दौड प्रतियोगिता पनि भएको छ । स्थानीय लिगलिगवासी र छात्रछात्रादेखि ४० वर्षभन्दा माथिका उमेर समूहका लागि पनि छुट्टाछुट्टै प्रतियोगिता दौड भएको थियो ।
प्रतियोगिताका लागि नगरपालिकाले १३ लाख तथा खेलकुद परिषद र टुरिजम बोर्डको तर्फबाट ५/५ लाख रकम सहयोग प्राप्त भएको थियो । लिगलिगकोटलाई पर्यटकीय थलोको रुपमा विकास गरेर पर्यटन प्रवर्द्धन गर्ने उदेश्यका साथ प्रतियोगिता गर्दै आएको लिगलिग कोट विकास अभियानका अध्यक्ष पूर्णबहादुर रानाले बताए । यस वर्ष प्रतियोगिताको पुरस्कार रणसिंह दल गणले उपलब्ध गराएको गणपती उज्वल केसीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार