हिमाल एफ.एम.लाई ७ दिनभित्र जवाफ पेश गर्न प्रेस काउन्सिलको पत्र

0 Shares

काठमाडौ । अस्तित्वमै नरहेको रेडियोको नाम भजाएर श्रोता तथा विज्ञापनदातालाई भ्रम सिर्जना गरिरहेको हिमाल एफ.एम. ९०.२ मेगाहर्जलाई ७ दिनभित्र जवाफ पेश गर्न प्रेस काउन्सिल नेपालले पत्र काटेको छ । हिमाल एफ.एम.का पूर्व प्रमुख कार्यकारी अधिकृत समेत रहेका पत्रकार पी.टी. लोप्चनको जाहेरीको आधारमा काउन्सिलले हिमाल एफ.एम. प्रमुखको नाममा पत्र काटेको हो ।

प्रेस काउन्सिल नेपालले हिमाल एफ.एम.लाई काटेको पत्रमा भनिएको छ ‘के कसरी त्यस्तो हुन गएको हो ? स्पष्ट खुलाई ७ दिनभित्र जवाफ पेश गर्न सूचित गरिन्छ ।’ साथै काउन्सिलले पत्रकार तथा सञ्चारमाध्यमले सत्य, तथ्य र सन्तुलित समाचार सामग्रीको सम्प्रेषण गर्न र पत्रकार आचारसंहिताको पालना गर्न समेत सचेत गराएको छ ।

हिमाल एफ.एम.ले प्रसारण गरेजस्तो रेडियो एभरेष्ट ९७ं.७ मेगाहर्ज नामको कुनै रेडियो नभएको र यसले रेडियो सुन्ने आम स्रोतालाई भ्रम सिर्जना गराएको पत्रकार लोप्चनको जाहेरीमा उल्लेख छ । उहाँले उक्त रेडियो कहीं कतै पनि प्रसारणमा नभएको तथ्य सहित काउन्सिलमा साउन ७ गते अनलाइन उजुरी दर्ता गरेका थिए ।

हिमाल एफ.एम.९०.२ मेगाहर्जबाट प्रसारण भईरहेको रेडियो कार्यक्रम रेडियो एभरेष्ट ९७.७ मेगाहर्जबाट समेत प्रसारण भईरहेको दाबी गरेपनि उक्त रेडियो प्रसारणमा नभएको र उक्त रेडियो प्रसारणका लागि ३ बर्ष अगाडि पिकेको चुचुरोमा बनाएको टावर समेत ढलेर भग्नावशेषमा परिणत भएको समाचार सगरमाथा अनलाइनमा प्रकाशन गरिएको थियो ।

रेडियो पिके सञ्चार प्रा.लि. ले २०७१/०७२ मा १००० वाट क्षमताको ‘रेडियो पिके सोलुखुम्बु’ भनेर दर्ता गरिए पनि हिमाल एफ.एम.का प्रमुख भानुभक्त निरौलाले आफ्नो स्वार्थ सिद्ध गर्नका लागि सोही रेडियोको कल साइन र फ्रिक्वेन्सी नै परिवर्तन गरी फेक रेडियोको रुपमा ‘रेडियो एभरेष्ट ९७.७ मेगाहर्ज’ भनेर हालसम्म गलत प्रचार गरिरहेको जाहेरीकर्ता पत्रकार लोप्चनको दाबी छ ।

सोलु दुधकुण्ड नगरपालिकाको वडा नं. ९ र ३ को सीमानामा पर्ने पिकेको चुचुरोमा २०७३ कार्तिक/मंसिरमा बनाएको उक्त टावर सोही सालको फागुन चैत्रमै ढलेको थियो ।

हेर्नुहोस् प्रेस काउन्सिलले हिमाल एफ.एम.लाई लेखेको पत्र :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार