विकासमा राजनीति र राजनीतिमा अपराधिकरणको पराकाष्ट

Facebook Debugger

वि.सं. २०७६ माघ ४ गते सोलुखुम्बु जिल्लाको साविक तिङ्ला गा.वि.स. वडा नं. ७ लुमासास्थित बीच सडकमा ग्रामीण विद्युतीकरणको निहुँमा संघीय संसदका माननीय र सोही जिल्लाबाट प्रदेशसभामा निर्वाचित सभासदमाथि नियोजित भौतिक आक्रमण भयो । घटनामा स्थानीय जनताले विजुलीबत्तीको माग राखी साँसद टोलीमाथि भौतिक आक्रमण गरी सवारी साधनहरु आगजनी गरी क्षति गरेको भए तापनि अन्तर्यमा घटनाको मूल कारण विकासमा जस लिने कुरा प्रमुख थियो । सोलुखुम्बु जिल्ला आजको दिनसम्म पनि विद्युतको राष्ट्रिय प्रसारण लाईनमा जोडिन सकेको छैन् ।


सोलुखुम्बु जिल्ला भौतिक पूर्वाधार विकास, यातायात, शिक्षा, स्वास्थ्यमा जनताको पहुँचबाट टाढा रहेको छ । प्रकृतिका अनुपम संरचनाहरु र साधनस्रोत भएर पनि सञ्चार, यातायात, विद्युत प्रसारण लाईनको सञ्जालमा जोडिन नसकेको कारण पूर्वको कर्णालीभन्दा फरक नपर्ला । राज्यले अर्थतन्त्रको मेरुदण्ड र औद्योगिक विकासको पूर्वशर्त उर्जा भएको निष्कर्ष निकालेर वि.सं. २०६० को अन्त्यबाट जलविद्युतमा लगानी गर्न नीजि क्षेत्रलाई विशेष आग्रह र सहुलियतको व्यवस्था गर्यो । देशमा राजनीतिक संक्रमण र द्वन्द्वको अन्त्यसंगै लगानीकर्ताहरुले धमाधम जलविद्युतमा लगानी गर्न थाले । सोलुखुम्बु जिल्लामा पनि विद्युत विकासको सम्भावनालाई पहिचान गरेर २० वटा जति कम्पनीहरु विद्युत उत्पादनमा उत्साहित भएर लगानी गर्न पुगे । चारवटा चरण पुरा गरेर मात्र जलविद्युत उपभोग गर्न सकिन्छ । त्यो भनेको जलविद्युतमा लगानी, उत्पादन, प्रसारण र वितरण हो । सोलुखुम्बुमा दुईवटा चरण लगभग पूरा भएको ५ वटा आयोजनाहरु छन् । लगानी र उत्पादनका दृष्टिले अहिले जलविद्युतमा समस्या छैन् । समस्या केवल प्रसारण र वितरण रहेको छ ।
सोलुखुम्बुमा निर्माणाधिनमध्ये माथिल्लो सोलु हाईड्रोइलेक्ट्रिक कम्पनीले २३.५ मे.वा. विद्युत उत्पादन सम्पन्न गरेको छ । नेपाल विद्युत प्राधिकरणको अकर्मण्यता र भ्रष्ट्रमनोवृत्तिका कारण उत्पादित विजुली राष्ट्रिय प्रसारणमा आवद्ध गर्न कठिनाई उत्पन्न भएको छ भने विकास जति आफ्नो पहल र प्रयासमा भएको देखाउने होटवाजीले बोक्से–ओखलढुंगा–लाम्माने प्रसारणलाईबाट सोलुखुम्बुमा बत्ति पुर्याउन अवरोध देखिएको छ ।
वि.सं. २०७४ सालको स्थानीय निर्वाचनमा सोलुखुम्बुका आठ स्थानीय तहमध्ये सोलुदुधकुण्ड नगरपालिकामा ने.का. का उम्मेद्वारले प्रमुख पद हात पारे । त्यसबेला तिङ्ला नेचासल्याण गाउपालिकामा थियो । शेरबहादुर देउवाको सरकारको वहिर्गमनको अन्तिम दिन तिङ्लालाई सोलुदुधकुण्ड नगरपालिकामा समावेश गरियो । ने.का.को सरकारका पालामा तिङ्ला आन्दोलित भएर सङ्घ, प्रदेश र स्थानीय तहको निर्वाचन वहिष्कार गरी जनप्रतिनिधि विहिन हुन पुग्यो । जनप्रतिनिधि विहिनताको फाईदा र नगरपालिकाभित्रको घना जनसंख्या भएको कारण आर्थिक तथा राजनीतिक लाभ लिने उदेश्यले मेयर नाम्गेल जाङ्बु शेर्पाले शुक्ष्म व्यवस्थापन योजनासहित तिङ्ला प्रवेश गरे । उनले आफू अनुकूलको सचिव सरुवा गरेर वडामा ल्याएर आफ्नो आधार तयार गरे । दोस्रो उनले तिङ्लामा सञ्चालित आयोजना परियोजनालाई आफ्नो कब्जामा ल्याउन शुरुमा कठोर भएर पसे अन्त्यमा आयोजनाप्रति नौनी बने । तेस्रो त्यहाँका स्थानीय गुण्डा, बेरोजगार, अपराधिक मनोवृत्तिका मानिसहरुको समुह खडा गरेर तिनीहरुलाई पालनपोषण गरेर कब्जामा लिए । चोथौ विकास योजनामा तिङ्लामा बजेट पठाए जसो गरी आयोजनाहरुलाई ति काम गर्न लगाएर डुब्लिकेशन गरे सरकारी पैशा झ्वाम पारे । पाँचौ नगरपालिकामा संघीय सरकार र प्रदेश सरकारबाट गएका जेजति आयोजना र विकास निर्माण कार्य छन् । ति सवै आफ्नो पहलकदमी र बलबुतामा भएको भ्रम छर्न मिडिया र सामाजिक सञ्जालको भरपूर उपयोग गरे । आफू बाहेक अरु सवै विकास गर्न नसक्ने र विकास विरोधी तत्व भएको देखाउन उनले न्वारण देखीको बल लगाएर कुनै कसुर बाँकी राखेनन् । यसले गर्दा संघीय सांसद र प्रदेशका माननीयहरु उनीप्रति बेखुशी देखिए । अघिल्लो असोज ३ गतेका दिन तीनजना माननीय, जिल्ला समन्वयका प्रमुख लगायतले उनको विकासप्रेमी देखिने प्रवृत्तिको विरोध मात्र गरेनन् । सोलुदुधकुण्डमा आएको बजेट र विकास संघीय सरकार तथा प्रदेश सरकारको भएकोले त्यसलाई परिचालन गर्नु विकासप्रेमी हुनु होईन भन्ने सन्देश दिए । यसबाट मेयर उनीहरुलाई बदला दिने मनस्थितिमा पुगेका थिए तर उपयुक्त ठाँउ पाएका थिएनन् । उनका लागि उपयुक्त मौका बन्यो राष्ट्रिय प्रसारण लाईन ।

पत्तालेमा राष्ट्रिय प्रसारण लाईन आईपुग्नु भनेको सोलुखुम्बु विद्युत सञ्जालबाट केन्द्रीय प्रसारण लाईमा सिधा जोडियो भन्नु हो । पत्तालेमा विद्युत प्रसारण लाईन उद्घाटन गर्नुको मकसद सोलुखुम्बु उज्यालोतर्फ उन्मुख हुँदैछ भन्नु हो । पत्तालेमा आएको विजुली त्यहाँ नै रोकिने भन्ने हुँदैन । तिङ्लाको लुमासा डाँडाको सवस्टेशन चार्जको लागि बत्ति ल्याईएको हो । त्यसले ब्याट्री चार्ज भएर सोलुमा उत्पादित बत्ती केन्द्रीय प्रसारण लाईनमा जोडिने र केन्द्रमा रिजर्भ भएको बत्तिले सोलु उज्यालो बनाउने हो । यसका लागि सोलुखुम्बुका सवै जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समुदाय, बौद्धिक बर्गको सकरात्मक सहयोगको आवश्यकता पर्दछ ।
प्रतिस्पर्धात्मक बहुदलीय शासन प्रणालीमा जनताको मन र मत जितेर आधुनिक लोकतन्त्रको मूल्य मान्यता अनुसार जनचाहना बमोजीम दीगो विकास, सुशासन, मानवाधिकार र मौलिक हकको प्रत्याभूति, कानुनी शासनको जग बसाल्न सक्नुपर्दछ । उत्तेजना, आवेग र आक्रोश पैदा गरेर भ्रमको राजनीतिबाट मुक्त हुनु पर्दछ ।
सोलुखुम्बु जिल्लामा कहाँ पहिला बत्ती बाल्ने भनेर बखेडा झिक्दा सिंगो जिल्लाको वा आफ्नो तहको तहको जनप्रतिनिधि हुँ भन्ने विर्सियो भने भविष्यमा उसको राजनीतिलाई गम्भीर धक्का पुग्न सक्दछ । पत्ताले सोलुदुधकुण्ड नगरपालिकाको वडा नं. ८ को एउटा बलियो पर्यटकीय सम्भावना बोकेको ठाँउ हो । पत्ताले बत्ति बल्दा आपत्ती मान्ने र अन्यत्रका जनता उछालेर व्यवधान खडा गर्ने हो भने केरुङ, गोरा र टाप्टिङका जनतालाई अन्याय गरेको ठहर्छ । जहाँ हरियो त्यहाँ चरण खोज्ने हो भने उजाडिएका ठाँउहरु अध्यारैमा रहन सक्दछन् । त्यसतर्फ ध्यान दिनु राम्रो होला ।
आर्थिक विकासको आधार तयार गर्न जनप्रतिनिधिहरुबीच सहकार्य, समझदारी र समन्वयको खाँचो छ । आफूमात्र जस लिन खोज्दा विकासमा बल पुग्न सक्दैन । सामुहिक पहलकदमीबाट साझा लक्ष्य हासिल गर्न सकिन्छ । सोलुखुम्बु जिल्लाको आर्थिक, सामाजिक तथा मानव विकासमा अग्रगति प्रदान गर्न तीनै तहका जनप्रतिनिधिहरुको एकतावद्ध प्रयासमा जनपरिचालन र जनसहभागित वृद्धि गर्न सकिएमा चाँडै औद्योगिक समाजमा संक्रमण र दीगो विकासमा टेवा पुग्न सक्दछ । त्यस कारण जनप्रतिनिधिहरुले डनवाद र धनवादको तुजुकमा आमनागरिकका आधारभूत मानवाधिकार एवं मौलिक हक अधिकारको हनन हुन नदिन समय मै सचेत भएर लोकतान्त्रिक मूल्य, मान्यता र संस्कार निर्माण गर्न पथप्रदर्शनकको भूमिका निर्वाह गर्न सक्नु पर्दछ । जनताको संवेदनशीलतामा खेलेर सामाजिक असहिष्णुता, अराजकता र अनुशासनहिनतालाई राजनीतिको आवरणमा ढाकछोप गर्न खोज्नु अपराधिकरणलाई राजनीतिमा आमन्त्रण गर्नु हो । यसलाई जसले अहिले प्रयोग गरेको छ, उसले भविष्यमा यसको परिणाम बेहोर्नु पर्नेमा कुनै शंका छैन् । सवैलाई चेतना भया ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार