सौर्य ऊर्जाबाट ऊर्जा सङ्कट समाधान गर्न सकिने

0 Shares

ललितपुर, १३ भदौ । सरकारले घोषणा गरेको ऊर्जा सङ्कट निवारण कार्ययोजनाअनुसार शहरी क्षेत्रका घरायसी प्रयोजनादेखि औद्योगिक, शैक्षिक संस्था, बैंक, अस्पताललगायत अन्य निकायहरुमा ऊर्जाको अभाव हुन नदिन सौर्य ऊर्जा प्रणालीको प्रयोगलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिइएको छ ।
जर्मन सहयोग नियोगको सहयोगमा ऊर्जा मन्त्रालयले आज यहाँ आयोजना गरेको राष्ट्रिय प्रशारण प्रणालीमा सौर्य विद्युत् जोड्न सकिने विषयमा सरोकारवालाको परामर्श कार्यशालामा सहभागी वक्ताहरुले आज विश्वव्यापीरुपमा सौर्य ऊर्जाको प्रयोग बढ्दै गएको र नेपालमा पनि यसको प्रशस्त सम्भावना रहेकाले जलविद्युत्सँगै सौर्य विद्युत्को पनि प्रवद्र्धनमा जोड दिनुपर्ने धारणा राखेका थिए । अहिलेपनि सौर्य सौर्यबाट आठ लाख जनता प्रत्यक्ष लाभान्वित भएका छन् भने शहरी क्षेत्रमा पनि यसलाई विस्तार गरी घरघरका छतहरुमा सौर्य प्रणाली राखेर आफूलाई बढी भएको विद्युत् प्राधिकरणलाई विक्री गर्ने संयन्त्रको विकास गर्न सकिएमा ऊर्जाको हालको सङ्कट समाधान गर्न सकिने उनीहरुको भनाइ छ ।
कार्यशालामा बोल्दै ऊर्जा मन्त्री जनार्दशन शर्माले आयोजना कार्यान्वयनको क्रममा विद्युत् खरिद सम्झौता गर्ने तहमा पुगेका परियोजनाहरुको एक साताभित्र आफूले टुङ्गो लगाउने बताउनुभयो ।
उहाँले ऊर्जा सङ्कट भनेर अब हुँदैन, जे जसरी हुन्छ यसको समाधानका लागि नेपाल विद्युत् प्राधिकरणलगायत अन्य सरोकारवाला निकायबाट ठोस निर्णय हुनुपर्दछ भन्नुभयो । मन्त्री शर्माले अध्ययन, अनुसन्धान भन्दै परियोजना ओगट्ने प्रवृत्तिको अन्त्य हुनुपर्दछ, कुनै नीतिगत निर्णय वा अन्य कुनै सहयोग परे मन्त्रालयले सहजीकरण गर्ने बताउनुभयो ।
मन्त्रालयका सचिव सुमनप्रसाद शर्माले नेट मिटरिङको कार्यलाई यथाशीघ्र अगाडि बढाइने बताउँदै जलाशययुक्त आयोजना र भूकम्प प्रभावित क्षेत्रका आयोजनालाई थप सहयोग गरी कार्यान्वयनमा लैजान मन्त्रालय सकारात्मक रहेको उल्लेख गर्नुभयो ।
नेपाल विद्युत प्राधिकरणका सुरेन्द्र राजभण्डारीले अहिलेको वितरण प्रणालीअनुसार ७० मेगावाटसम्मको सौर्य विद्युत्लाई राष्ट्रिय प्रशारणमा जोड्न सकिने अवस्था रहेको बताउँदै प्राधिकरणले विश्व बैंकको सहयोगमा २५ मेगावाट, ऊर्जा सङ्कट निवारण कार्ययोजनाअनुसार ६४ मेगावाट सौर्य विद्युत् उत्पादन गर्न लागेको जानकारी गराउनुभयो ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका वरिष्ठ अधिकृत मुकेशराज घिमिरेले कूल ऊर्जा खपतमा सौर्य ऊर्जाबाट १० प्रतिशत हिस्सा ओगट्न सकिने भएपनि हालसम्म केन्द्र र अन्य संस्थामार्फत हालसम्म ४५ मेगावाट सौर्य विद्युत उत्पादन गरिएको र करिब १० मेगावाट निर्माणको प्रक्रियामा रहेको जानकारी दिनुभयो ।
केन्द्रीय नवीकरणीय ऊर्जा कोषका कार्यक्रम अधिकृत मनुविनोद अर्यालले कोषमार्फत सातवटा बैंकले घरायसी र ठूला सौर्य प्रणालीमा सहुलियत दरमा कर्जा प्रवाह गर्न सुरु गरेको उल्लेख गर्दै यस कोषलाई अझ प्रभावकारी र स्रोतसम्पन्न गर्न सकिए नवीकरणीय ऊर्जाको माध्यमबाट विद्यमान ऊर्जा सङ्कट निवारणमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार