अफिसमा नयाँ हाकिम आए । अबीर र फूलमालाले उनको भव्य स्वागत गरियो । उनले सबैलाई निर्देशन दिए- “अरु जस्तो नसोच्नुहोला मलाई । ढिलासुस्ती गरेको, काम चोरेको अनि दुई-चार रुपैयाँमा र्याल काढेको मलाई पटक्कै मन पर्दैन ।”
उनले बसुन्जेल जनताको भलाइको काम गर्ने र त्यस क्रममा कसैको डर, धम्की र दबाबबाट एकरत्ति फरक नपर्ने पनि बताए । एउटा संकल्प गरेर यो अफिस रोजेर आएको उनको भनाइ थियो ।
०००
तीन महिना पनि भएको थिएन, कर्मचारीहरु फेरि अर्को हाकिमको लागि माला उन्न व्यस्त थिए ।
माला उन्ने ज्यालादारी काममा खटिएका दुई महिला कर्मचारी आपसमा गफिँदै थिए –
“आखिर किन सरुवा भएछ पहिलाको हाकिमको ?”
“थाहा पाइनस् ? हाकिमले त्यो सम्झनालाई कोठा सफा गरेको राम्रो भएन भनेर करा’को रे ! खै कता माथिबाट फोन आएछ, मेरो मान्छेलाई किन काममा लगाएको भनेर ।”
“अनि ?”
“हाकिमले मैले मेरो कामदारलाई काममा लगाउन’नि नपाउनु भनेथे रे ! दुई दिनपछि त सरुवाको चिठी नै आएछ नि !”
अर्कीले थपी – “होइन, हाम्रो काम चाहिँ माला उन्ने मात्रै रै’छ कि क्या हो वर्षैभरि !”
“उन् न उन् । कतै माथिबाट फोन आयो भने नयाँ हाकिमले दुई/चार सय रुपैयाँ बढाउने भाषण पो गर्छन् कि !”
– देवचुली, नवलपरासी