विद्यालयमा बम विस्फोट गराउने दुई पक्राउ

7 Shares

काठमाडौँ, ५ कात्तिक । गत असोज ४ गते काठमाडौँ उपत्यकाका विभिन्न विद्यालयमा बम विस्फोट गराउने समूहका थप दुई जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महानगरीय प्रहरी कार्यालयका आयुक्त प्रहरी अतिरिक्त महानिरीक्षक प्रतापसिंह थापाले माओवादी कम्युनिस्ट केन्द्रका महासचिव प्रकाश भनिने केशव दाहाल र सो पार्टीको भ्रातृ सङ्गठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी केन्द्रका अध्यक्ष मीन देवकोटा भनिने विनोद थापा पक्राउ गरिएको जानकारी दिनुभयो ।

दोलखा खोपाचाँगु गाविसका दाहाल र काभ्रे देउपुर गाविसका थापालाई बुधबार भक्तपुरको नलिनचोकबाट पक्राउ गरिएको हो । राजनीतिक दलका आवरणमा धम्काउने र चन्दा उठाउने उद्देश्यले सो समूहले बम विस्फोट गराएको आयुक्त थापाले बताउनुभयो ।

प्रहरीले यसअघि घटना भएकै दिन रामेछाप दिमीपोखरीका शङ्कर लाखे र सिन्धुली लाम्पाङ्टारका चन्द्रबहादुर तामाङलाई तथा घटनामा संलग्न विष्णुप्रसाद पौडेल र मुस्ताकिम अन्सारीलाई केही दिनअघि पक्राउ गरेको थियो । घटनामा संलग्न सो समूहका अध्यक्ष देवेन्द्रसिंह महता, कोषाध्यक्ष जानु श्रेष्ठसहित चार जना अझै फरार रहेको जनाइएको छ ।

सो समूहले असोज ४ गते बिहान करिब ४ बजे बौद्धको आकाशदीप बोर्डिङ स्कुल र मनकामना उमाविमा सिलिन्डर बम विस्फोट गराएको थियो । त्यसैगरी नारायणटारका एम्बेस्डर स्कुल, इस्टपोल स्कुल र राई स्कुल, बौद्धको बालसञ्चार, डल्लुको कञ्चनजङ्घा र सानेपाको रेडियन्ट एकेडेमीमा पनि सो समूहले शङ्कास्पद वस्तु राखेकामा केही स्थानको बम निस्क्रिय गरिएको थियो भने केही ठाउँमा नक्कली बम रहेको खुलेको थियो ।

सो समूहले यसअघि साउन ६ गते काठमाडौँको डल्लुमा आइडियल मोडेल स्कुलको भ्यानमा आगजनी गरेको थियो । सो पार्टी तत्कालीन नेकपा (माओवादी) शान्ति प्रक्रियामा सहभागी हुनुअघि हतियारसहित भागेका लडाकुले गठन गरेको भेटिएको आयुक्त थापाले जानकारी दिनुभयो ।

दलका आवरणमा विभिन्न आपराधिक गतिविधि गर्दै आएको सो समूहले विसं २०६९ मा सरकारसँग वार्तासमेत गरेको र विसं २०७१ मा आनन्दप्रसाद ढुङ्गानाको नेतृत्वमा नेपालगन्जमा सरकारलाई हतियार बुझाएको प्रहरीले जनाएको छ ।

विसं २०७१ असारमा कलङ्कीमा मनबहादुर चदराको यार्सागुम्बा लुट्ने कार्यमा संलग्न रहेको अभियोगमा सो पार्टीका अध्यक्ष महता र महासचिव केशव दाहालसहित चार जनालाई महानगरीय प्रहरी परिसर, काठमाडौँबाट चोरी मुद्दा लगाइएको खुलेकोे छ । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार