काठमाडौँ, ५ कात्तिक । डिफेन्डिङ च्याम्पियन भावना सुनुवार र विपना ब्लोन चौथो सिभिल बैंक खुला स्क्वास प्रतियोगिताको महिला एकल विधामा आज फाइनलमा प्रवेश गरेका छन् ।
सातदोबाटोमा भएको सेमिफाइनल खेलमा भावनाले सपना ब्लोनलाई ११–३, ११–६ र ११–३ तथा विपनाले स्वस्थानी श्रेष्ठलाई ११–१, ११–६ र ११–८ को सोझो सेटमा पराजित गरे ।
जुनियर छात्र यु–१३ एकलमा रञ्जीत थापाले सविन थापा मगरलाई ११–७, ११–४, ६–११ र ११–५ तथा गोपाल थापाले विकास मगरलाई ११–५, ११–४ र ११–२ को सेटमा हराउँदै फाइनलमा स्थान सुरक्षित गरे ।
जुनियर ब्वाइज यु–१९ सिङ्गल्समा दीपक थापा र अमिर ब्लोन उपाधिका लागि भिड्ने भएका छन् । सेमिफाइनलमा दीपकले विजय मगरलाई ११–९, ११–५ र ११–४ तथा अमिरले रोशन लामालाई ११–६, १४–१२, ८–११ र ११–८ को सेटमा पाखा लगाए ।
भेट्रान ५० वर्षमाथि डिफेन्डिङ च्याम्पियन सुदीपबहादुर सिंह र बेलायतबाट आएका ब्रिटिस गोर्खामा कार्यरत याम रानाले फाइनल यात्रा तय गरे । सुदीपले महेन्द्र महर्जनमाथि ११–१, ११–० र ११–५ को सहज जित दर्ता गरे भने यामले लालबहादुर गुरुङको चुनौती ११–४, १२–१० र ११–६ ले समाप्त पारे ।
विश्व स्क्वास दिवसका अवसरमा नेपाल स्क्वास ¥याकेट्स सङ्घद्वारा आयोजित प्रतियोगिताको पुरुष एकलतर्फ धीर पुन र विनोदरत्न शाक्याले उपाधि भिडन्त पक्का गरे । पुरुष एकलको सेमिफाइनल हीराबहादुर थापा र साविक विजेता अरहान्तकेशर सिं तथा प्रवीणवीरसिंह कंशाकार र साविक उपविजेता अमृत थापा मगरबीच हुनेछ । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ । रासस