शान्ति समितिको रकम मिलेमतोमा घोटला

0 Shares

ओखलढुंगा, ६ कात्तिक । स्थानीय शान्ति समिति ओखलढुंगाको कार्यक्रम संचालन तर्फको रकम शान्ति समितिका सचिव र पदाधिकारीको मिलेमतोमा हिनामिना गरेको खुलेको छ । सचिव निलम अधिकारी र दुई आर्थिक वर्षमा कार्यरत संयोजकहरुको मिलेमतोमा हिनामिना भएको खुलेको हो ।
आर्थिक वर्ष ०७१÷०७२ र ०७२÷०७३ को स्मारिका प्रकाशन गर्न निकासा लिइएको ५० हजारका दरले दुई आवको एक लाख रकम स्मारिका नै प्रकाशन नगरि जिल्ला प्रशासन कार्यालयबाट फरफराक भएको छ । कार्यालयमा कार्यक्रम पेश गर्दा ५० हजारका दरले स्मारिका प्रकाशन गर्न रकम लिए पनि स्मारिका प्रकाशन भएको छैन । स्मारिका प्रकाशन गर्न रकम भूक्तानी दिए पनि प्रकाशन भए नभएको बारे जानकारी नभएको जिल्ला प्रशासन कार्यालयका लेखापाल राजेन्द्र राईले बताउनुभयो ।
आर्थिक वर्ष ०७२÷०७३ को स्वीकृत कार्यक्रम संचालन गर्न समितिका सचिव निलम अधिकारी र संयोजक रुद्रकुमार फुयलले २ लाख ५० हजारका दरले पाँच लाख रकम व्यक्तिगत खातामा लिए पनि कार्यक्रम संचालनको खर्च सार्वजनिक भएको छैन । लिइएको रकम ०७३ असार ३१ गते नै फरफराक भइसकेको छ ।
कार्यक्रम संचालन गर्न खटाइएका समितिका सदस्यहरुले पारिश्रमिक र संचालन खर्च समेत नदिएको गुनासो गर्दै आएका छन् । स्मारिका प्रकाशन नभइ फरफराक भएको विषयमा समितिका संयोजक फुयलले आर्थिक वर्ष ०७२÷०७३ को रकम खातामा रहेको र प्रकाशनको तयारी गरेको बताउनुभयो । अघिल्लो आर्थिक वर्ष ०७१÷०७२ को रकमबारे सचिव अधिकारी र तत्कालीन संयोजक चम्पा कार्की जिम्मेवार हुनु पर्ने फुयलको भनाइ छ । आर्थिक वर्ष ०७१÷०७३ को बैठकको निर्णय पुस्तिका सचिव अधिकारीले कोठामा थुनेर हिडेकाले जानकारी नभएको फुलयले आरोप लगाउनुभयो । दुवै आर्थिक वर्षमा पुस्तक प्रकाशन नभए पनि रकम फरफराक भएपछि समितिका सदस्यहरुले नै छानविन गर्न माग गरेका छन् ।
उता सचिव अधिकारीले भने आफुसँग कुनै रकम बाँकी नरहेको दावी गरेका छन् । हिसाव किताव संयोजक संग लिन संचारकर्मीहरुलाई सुझाव दिएका छन् ।
स्थानीय रेडियोहरुलाई सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता परिवार छानविन आयोगको सुचना प्रशारण गरेको रकम भने विल नमिलेको भनेर १० हजार रुपैया भुक्तानी रोकिएको छ । स्मारिका प्रकाशन नगरि रकम हिनामिना गर्दा बिल मिल्ने, सुचना प्रशारण गरेको विल नमिल्ने अचम्मको विषय भएको रेडियो संचालकहरुको भनाइ छ ।
शान्ति समितिको रकम हिनामिना भएको विषयमा प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले रकम दुरुपयोग भएको गुनासो आएकाले त्यस विषयमा छानविन गर्ने बताउनुभयो । स्मारिका प्रकाशन गर्न लिइएको रकम प्रकाशन नै नगरि बाँडफाड गरेर खान प्रस्ताव समेत आएको समितिका सदस्यहरुले बताउँदै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार