नेपालको वर्तमान राजनीतिले सही गति नलिएको चर्चा सधैं सुनिन्छ । जतिसुकै असन्तुष्टि राखे पनि राजनीति नै देशलाई डोर्याउने शक्तिपुञ्ज हो । यसको सुदृढ सञ्चालनबाट नै देशका हरेक क्षेत्रमा परिवर्तन हुन सक्छ । परिवर्तन गर्ने क्रममा युवाहरु नै देश निर्माणका आधार स्तम्भ हुन् । त्यसो त नेपालका हरेक राजनीतिक परिवर्तनमा युवाको सक्रिय सहभागिता र भूमिका रहँदै आएको छ ।
भर्खरै सरकारमा सत्ता साझेदार नेपाली कांग्रेसले मन्त्रीहरु पठायो । यसमा चर्चित युवा नेता गगन थापा पहिलोपटक मन्त्री बनेका छन् । उनले स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हालेका छन् ।
केही महिनाअघि भएको कांग्रेसको १३औं महाधिवेशनमा कृष्णप्रसाद सिटौलाको खेमाबाट उनी महामन्त्री पदमा पराजित भएका थिए । यसपछि आफ्ना मातहतका युवाहरुलाई संगठित गर्दै भर्खरै सम्पन्न नेपाल विद्यार्थी संघको महाधिवेशनमा संयुक्त प्यानल बनाएर चुनावमा जाँदा रामचन्द्र पौडेल खेमाका विद्यार्थी कमजोर बन्न पुगे । त्यसबाट सिटौला खेमा वा गगन मातहतका विद्यार्थी नेतृत्वको प्रतिनिधित्व तुलनात्मक रुपमा सशक्त भएको पाइयो ।
यसको फलस्वरूप पनि गगन युवाहरुमाझ थप लोकप्रिय बने । अन्ततः सिटौला समूहबाट मन्त्रीमण्डलमा सहभागी हुने मौका पाए । उनले देशका कुनाकुनामा भएका सर्वसाधारणका समस्यालाई राम्रोसँग बुझेका छन् । उनका हरेक भाषणमा देशलाई कसरी आर्थिक रुपमा सुदृढ बनाउन सकिन्छ भन्नेबारे खाका प्रस्तुत गरेको पाइन्छ ।
त्यसो त नेपाल जस्तो असल राजनीतिक संस्कार नभएको ठाउँमा गठबन्धन सरकारमा रहेर बोले अनुसार कार्यान्वयन गर्ने अपेक्षा गरिहाल्न सकिँदैन । तथापि उनले सम्हालेको स्वास्थ्य मन्त्रालयले पहिलेभन्दा सशक्त रुपमा जनताको हित हुने स्वास्थ्यसम्बन्धी नीति र कार्यक्रम ल्याउने कुरामा सर्वसाधारणहरु आशावादी छन् ।
स्वास्थ्यमन्त्रीका रुपमा गगनका चुनौती धेरै छन् ।स्वास्थ्य क्षेत्रमा देखिएका बेथिति विरुद्ध डा. गोविन्द केसीले गरेको आन्दोलनलाई सम्बोधन गर्दै एउटा थिति बसाल्नु छ । निजी मेडिकल कलेजमा देखिएको व्यापारीकरण अन्त्य गरी सामान्य नागरिकको छोराछोरीले पनि क्षमताको आधारमा मेडिकल अध्ययन गर्न पाउने वातावरण सिर्जना गर्न ऐन-कानुनमा परिवर्तन गर्नुपर्ने देखिन्छ ।
अर्कातिर, नक्कली सर्टिफिकेटधारी स्वास्थ्यकर्मीहरुर अनुमति बिना सञ्चालित मेडिकल स्टोरको अनुगमन र कारबाहीको पाटो अझै बाँकी नै छ । दुर्गम क्षेत्रहरुमा गुणस्तरीय स्वास्थ्य सेवा सर्वसुलभ बनाउने र आर्थिक अभावका कारण उपचार नपाएर अकालमा मृत्यु हुने समस्यालाई सम्बोधन गर्नुपर्ने चुनौती छ ।
चुनौतीका रुपमा गगनका सामु यतिबेला प्रश्नैप्रश्न छन् ।सरकारी अस्पतालहरुप्रति जनताको गुम्दै गएको विश्वासलाई फिर्ता गर्न के–कस्ता सुधार गर्नेछन् ? निजी स्वास्थ्य संस्थाले मनोमानी शुल्क असुल्ने र सामान्य रोगको उपचारको लागि पनि अनेकथरी अनावश्यक परीक्षण गर्न लगाउने चलनलाई कसरी निरुत्साहित गर्नेछन् ?
स्थानीय गाउँ तहमा स्वास्थ्य सेवालाई सुदृढ पार्न पर्याप्त जनशक्ति कसरी व्यवस्थापन गर्नेछन् ?बालबालिकाहरुको नियमित खोप लगायत स्वास्थ्य कार्यक्रम के–कसरी लैजानेछन् ?
सरकारी अस्पतालमा डाक्टर र अन्य स्वास्थ्यकर्मी नियमित नआउने र आए पनि ढिलो आएर छिटै निस्कने गरेको जनगुनासो सुनिन्छ । यस्तै, सरकारी अस्पतालमा काम गर्ने समयमा निजी अस्पताल र निजी क्लिनिकमा गएर काम गर्ने परिपाटी बढी छ । विशेष किसिमका परीक्षण र सर्जरीको लागी निजी अस्पतालमै पठाउने गरेको समेत पाइन्छ ।
डाक्टरहरु दुर्गम गाउँहरुमा गएर काम गर्न नचाहने र गइहाले पनि भनसुन गरी राजधानी वा सहरबजारमै सरुवा हुने प्रचलन छ । सेवामूलक क्षेत्रमा यस्ता बिथितिहरु नियन्त्रण गर्न मन्त्री थापाले के–कस्तो कदम उठाउलान्, पर्खाइको विषय छ ।
राजनीतिक दलका नेताहरु सामान्य उपचार गर्न पनि राज्यकोषको खर्चमा विदेश धाउने चलन अन्त्य गर्न नयाँ नीति–नियम बनाउनेतर्फ उनले जोड देलान् या नदेलान् ? यी र यस्तै प्रश्न उनका सामु उभिएका छन् ।
निश्चित अवधिका लागि स्वास्थ्य मन्त्री भए पनि स्वास्थ्य क्षेत्रमा एउटा थिति बसाल्नुपर्ने दबाब उनीमाथि छ ।
मृगौला फेल, पाठेघरको क्यान्सर, ब्लड क्यान्सर, ब्रेन ट्यूमर लगायत महँगो खर्च लाग्ने र गम्भीर प्रकृतिका रोगहरुको उपचार गर्न नसकी सामान्य नागरिकले मृत्युको मुखमा धकेलिनुपर्ने अवस्था नआओस् भनेर राज्यले निःशुल्क उपचार गर्ने व्यवस्था गरोस् ।
खासगरी विकसित मुलुकहरुमा विद्यालय तहबाटै बालबालिकालाई आधारभूत स्वास्थ्य र सरसफाइ एवं पोषणसम्बन्धी व्यावहारिक ज्ञान दिने गरिन्छ । यस्तै,अनिवार्य रुपमा बालबालिकाहरुको स्वास्थ्य परिक्षण एवं खोप सम्बन्धी कार्यक्रम लागू भएको हुनुपर्छ ।
त्यसो भए–नभएको सम्बन्धित राज्यका स्वास्थ्य विभागले निकै कडाइका साथ रेकर्ड जाँचपडताल गर्छ । तोकिएको समयमा हुन नसकेमा तुरुन्त विद्यालय र अभिभावकहरुलाई जानकारी गराई चेतावनी समेत दिन्छ । बच्चा बेलादेखि नै स्वास्थ्य सम्बन्धी क्षेत्रमा राज्यको निकै जिम्मेवारी देखिन्छ । यही तवरबाट नेपालमा पनि काम अघि बढाउनु आवश्यक छ ।
विद्यालयहरुमा स्वास्थ्य शिक्षालाई केवल सैद्धान्तिक विषय मात्र बनाइनु हुन्न । व्यावहारिक रुपमै लागू गराउन समयसापेक्ष शिक्षण विधि एवं प्रयोगात्मक विधि अवलम्बन गर्नुपर्छ । त्यसका लागि विशेष कार्यक्रम ल्याउन स्वास्थ्य र शिक्षा मन्त्रालयले सहकार्य गर्नुपर्ने देखिन्छ ।
यस्ता हरेक तहगत रुपमा रहेका स्वास्थ्यसम्बन्धी चुनौतीहरुलाई सम्बोधन गर्न प्रभावकारी नीति रकार्यक्रम तर्जुमा गरी कार्यान्वयनमा विशेष ध्यान दिनु जरुरी छ । गगनले सम्हालेको चुनौतीपूर्ण मन्त्रालयमा अपेक्षाकृत के कस्ता परिवर्तन हुन सक्ला, हामी सबैले केही समय प्रतीक्षा गर्नैपर्छ । उनको सफल कार्यकालको शुभकामना !