पाल्पा, ८ कात्तिक । कालीगण्डकी नदीको उत्तर बाहिनी क्षेत्र महालिङ धाम मालुङ्गा हुँगीमा सञ्चालन भएको महायज्ञमा रु एक करोड १५ लाखको दान सङ्कलन भएको छ ।
प्राकृतिक अस्पताल र आधुनिक गुरुकुल निर्माण गर्ने उद्देश्यका साथ गत असोज २७ गतेदेखि कात्तिक ७ गतेसम्म महायज्ञ सञ्चालन गरिएको थियो । नेपाल महिमा एवम् श्री कालीगण्डकी ज्ञानविज्ञान गीता महायज्ञको आयोजनामा पाल्पा र स्याङ्जाको सङ्गमस्थल महालिङ धाममा महायज्ञ सञ्चालन गरिएको हो । महायज्ञ अवधिभर पण्डित श्री चैतन्य कृष्णले सङ्गीतमय शैलीमा कथावाचन गर्नुभएको थियो ।
महायज्ञका अवसरमा कालीगण्डकीको किनारमा २१ करोड दीप प्रज्वलन र एक हजार १०१ शालिग्राम प्रदर्शन गरिएको सचिवालय संयोजक पदमप्रसाद अर्यालले जानकारी दिनुभयो ।
यस महायज्ञमा पाल्पा, स्याङ्जा, तनहुँ, गुल्मी, पोखरा, काठमाडौँ, हेटाँैडा, चितवन र पन्देहीलगायतका स्थानबाट श्रद्धालु भक्तजनको सहभागिता रहेको आयोजकले जनाएको छ । रासस