बागलुङ, ८ कात्तिक । जिल्लाको रिघा–१ मा निर्माणाधीन ‘उदय रिघा बुद्ध विहार’लाई प्रवासमा बस्ने नेपालीले रु २३ लाखभन्दा बढी आर्थिक सहयोग गरेका छन् ।
विभिन्न ४७ मुलुकबाट सङ्कलित रु २३ लाख ८० हजार १२१ आइतबार विहारलाई हस्तान्तरण गरिएको हो । गैरआवासीय नेपाली सङ्घका प्रतिनिधि सोम सापकोटाले सो रकम बराबरको चेक विहारका अध्यक्ष शेरबहादुर घर्तीमगरलाई प्रदान गर्नुभयो ।
अन्तर्राष्ट्रिय आर्थिक सहयोग अभियान समितिका संयोजक समेत रहनुभएका सापकोटाको पहलमा उक्त रकम सङ्कलन भएको हो । “बुद्ध विहार निर्माणमा सहानुभूति राख्ने सयौँ व्यक्तिले सहयोग गर्नुभएको छ” सापकोटाले भन्नुभयो “विश्वका सानादेखि ठूला देशमा रहेका नेपालीबाट यो रकम उठेको हो ।” बुद्ध धर्म÷दर्शनको प्रवद्र्धनका साथै पर्यटन विकासमा पनि टेवा पुग्ने विश्वासले सहयोग जुटेको उहाँको भनाइ छ ।
बढीजसो रकम हङकङ, बेलायत, बेल्जियम, जर्मन, कतारलगायतका देशमा पुगेका बागलुङले र छिमेकी जिल्लाका प्रवासीले सहयोग गरेका छन् । विहार समितिले उक्त रकम विहारको भौतिक संरचना निर्माणमा खर्चने जनाएको छ ।
बौद्ध धर्मावलम्बीलगायत सबै समुदायको धार्मिक तथा पर्यटकीय गन्तव्यस्थलका रुपमा विहारलाई विकास गरिने समितिका अध्यक्ष घर्तीमगरले बताउनुभयो । करिब रु दुई करोडको लागत योजना तयार गरेर विहार निर्माणको काम अघि बढेको उहाँको भनाइ छ । विहार निर्माण गर्न मात्रै रु ३० लाख लाग्ने अनुमान गरिएको छ ।
त्यसबाहेकका संरचना निर्माणमा थप खर्च हुने समितिले जनाएको छ । गुम्बा, चैत्य, आश्रम, पोखरी, बुद्ध मूर्ति, सडक, वनभोज स्थल, प्रवेशद्वारलगायतका संरचना र पूर्वाधार निर्माणको योजना बनाइएको छ । समितिले विभिन्न क्षेत्रबाट सहयोग जुटाएर स्तुपा भने निर्माण गरिसकेको छ ।
गाविस, जिविस, पर्यटन मन्त्रालय, सहरी विकास मन्त्रालयबाट पनि सहायता लिएर स्तुपा निर्माण गरिएको हो । स्थानीय दाताले समेत स्तुपा निर्माणमा सहयोग गरेका छन् । बागलुङ सदरमुकामदेखि २० कोष पश्चिममा अवस्थित रिघा गाविसमा बन्न लागेको विहारले पर्यटनका साथै त्यहाँको आर्थिक, सामाजिक विकासमा समेत टेवा पुग्ने विश्वास लिइएको छ । रासस