सोलुखुम्बुको कांग्रेस सभापतिमा शेर्पा विजयी

  सगरमाथा अनलाईन
112 Shares

सोलुखुम्बु । नेपाली कांग्रेस सोलुखुम्बुको सभापति चयनका लागि मंगलबार भएको दोस्रो चरणको निर्वाचनबाट नाम्गेलजाङ्बु शेर्पा निर्वाचित भएका छन् ।
खसेको कुल मत ८ सय ९७ मध्ये शेर्पाले ५ सय १३ मत ल्याउँदा निवर्तमान सभापति विनोद बस्नेतले ३ सय ७१ मल ल्याएका थिए । सभापतिमा शेर्पा र बस्नेतको १ सय ४२ मतान्तर सहित शेर्पा निर्वाचित भएका हुन् ।

सोलुदुधकुण्ड नगरपालिकाका मेयर समेत रहेका शेर्पाले पहिलो चरणको निर्वाचनमा ४ सय १८ मत ल्याएका थिए, भने बस्नेतले ४ सय २८ मत ल्याएका थिए । ९ सय २३ क्षेत्रिय प्रतिनिधि रहेको सोलुखुम्बुमा पहिलो चरणको निर्वाचनमा ८ सय ८३ मत खसेको थियो । सभापति मात्र चयनका लागि भएको दोस्रो चरणको निर्वाचनमा १५ मत बढि खसेको छ ।

दुई वा भन्दा बढि उम्मेदवार भएको निर्वाचनमा खसेको मतको ५१ प्रतिशत मत कसैको नआए पुनः निर्वाचन गर्नुपर्ने कांग्रेसको विधान अनुसार मंगलबार पुनःनिर्वाचन भएको हो । पहिलो चरणको निर्वाचनमा उम्मेदवार बनेका कांग्रेस नेता रामबहादुर बस्नेतले दोस्रो निर्वाचनमा उम्मेदवार शेर्पालाई समर्थन गरेका थिए । जिल्ला कार्यसमितिका अन्य पदाधिकारी र सदस्यहरु यसअघि नै निर्वाचित भइसकेका छन् ।

सभापतिमा निर्वाचित शेर्पा जिल्लामा आङगेलु शेर्पा पक्षधर हुन् । आङगेलु केन्द्रको राजनितिमा संस्थापन पक्षधर मानिन्छन् । कांग्रेस नेता बलबहादुर केसी पक्षधरबाट विनोद बस्नेत चुनावि मैदानमा आएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार