३१ जेष्ठ २०८२, शनिबार | Sat Jun 14 2025

कांग्रेस उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी



काठमाडौं । नेपाली कांग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका छन् ।

बुधबार राति अबेर प्राप्त मत परिणाम अनुसार सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार खड्का र शेखर कोइराला पक्षका उम्मेदवार गुरुङ निर्वाचित भएको निर्वाचन समिकिा पदाधिकारीले घोषणा गरेका हुन् ।

देउवा पक्षका उम्मेदवार विजयकुमार गच्छदार २ मतान्तरले पराजित भए । निर्वाचन समितिका अनुसार खड्काले २ हजार १ सय २१ र गुरुङले १ हजार ९ सय ८ मत पाए । त्यस्तै गच्छदारले १ हजार ९ सय ६, चन्द्र भण्डारीले १ हजार ५ सय ८०, सुजाता कोइरालाले ६ सय ४४, महेश आचार्यले ५ सय ८९ र दिव्यश्वरी शाहले १ सय ३२ मत पाए ।

१४ औं महाधिवेशनमा खड्का र गच्छदार देउवा प्यानलबाट, गुरुङ र भण्डारी शेखर कोइराला प्यानलबाट, सुजाता कोइराला प्रकाशमान सिंह प्यानलबाट र दिव्यश्वरी शाह विमलेन्द्र निधि प्यानलबाट उम्मेदवार बनेका थिए । आचार्यले कुनै प्यानलमा नरही उम्मेदवारी दिएका थिए ।

कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापति पदको नतिजा सार्वजनिक भइसकेको छ । अब महामन्त्री पदको मतगणना शुरु गर्ने तयारी भैरहेको निर्वाचन समितिका एक सदस्यले भने ।

प्रकाशित मिति : १ पुस २०७८, बिहिबार  ३ : २१ बजे