तीन समाजसेवी सम्मानित

  सगरमाथा अनलाईन
147 Shares

काठमाडौ । सिसाखोला तामाङ समाज काठमाडौले तीन जना समाजसेवीहरुलाई सम्मान गरेको छ । तामाङ समाजको पाँचौं साधारण सभा एवं प्रथम अधिवेशनको अवसर पारी समाजसेवीहरु पासाङ काजी तामाङ, तेके तामाङ र गेसमान तामाङलाई सम्मान गरिएको हो ।

सम्मानित तीनै जनालाई कार्यक्रमका प्रमुख अतिथि एवं तामाङ सेवा केन्द्र नेपाल, संरक्षक समितिका संयोजक पाल्देन तामाङले खादा ओढाएर सम्मान गर्नुभयो । त्यसपछि सिसाखोला तामाङ समाजका सदस्यहरुले समेत पालैपालो खादा ओढाएर सम्मान गर्नुभएको थियो ।

सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नं. ९ स्थायी घर भई काठमाडौमा बसोबास गर्दै आउनुभएका पासाङकाजी तामाङले सोही वडाको जनचेतना आधारभूत विद्यालयको शैक्षिक सुधारका लागि विद्यालय पोशाक वितरण एवं शैक्षिक सामग्रीहरु वितरण गर्दै आउनुभएको छ ।

अर्का समाजसेवी तेके तामाङले गत साल कोभिड महामारीको समयमा समेत काठमाडौका ५० भन्दा बढी घरपरिवार र सोलुदुधकुण्ड नगरपालिका वडा नं. ९ लाप्चाका करिब सय घरपरिवारलाई राहत प्रदान गर्नुभएको थियो । लाप्चाको घरघरै सुधारिएको चुल्हो निर्माण एवं भूकम्प पछिको पुनःनिर्माणमा समेत उहाँको ठूलो योगदान रहेको छ ।

सम्मानित हुनुभएका गेसमान तामाङ चर्चित पर्वतारोही हुनुहुन्छ । उहाँले नेपालमा रहेका ८ हजार मिटर माथिका सबै हिमालको आरोहण गरिसक्नुभएको छ भने अब चोयू हिमाल आरोहणको तयारीमा समेत लाग्नुभएको छ । गत साल कोभिड महमारीका बेला सिसाखोला तामाङ समाजको तर्फबाट राहत वितरण गर्दा उहाँले पनि आर्थिक सहयोग प्रदान गर्नुभएको थियो ।

समाजका कोष संयोजक रङडोल तामाङका अनुसार सिसाखोला तामाङ समाज काठमाडौले कोभिड महामारीबाट प्रभावित परिवारका लागि १ लाख ३७ हजार बराबरको राहत सामग्री वितरण गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार