काठमाडौं । बाहिङ किरात मुलुखिमले बाहिङ वर्ण प्रवद्र्धन तथा साहित्य लेखन कार्यक्रम सम्पन्न गरेको छ ।
बाहिङ भाषा विकास र तुम्लोयालो संरक्षण गर्ने उद्देश्यले बाहिङ वर्णको प्रवद्र्धन तथा साहित्य लेखन कार्यक्रम सञ्चालन गरेको हो । बाहिङ वर्णको प्रवद्र्धन तथा साहित्य लेखन कार्यक्रम ४ जिल्लामा २२ दिन सञ्चालन भएको थियो ।
कार्यक्रम हिमाली आदिवासी समाजको आर्थिक सहयोग तथा बाहिङ किरात मुलुखिम केन्द्रीय समितिको व्यवस्थापनमा सञ्चालन गरिएको संस्थाका महासचिव धिरेन बाहिङले बताए । कार्यक्रम ओखलढुंगा जिल्ला सदरमुकाममा मंसिर २१ र २२, मोली २३ र २४, रातमाटे २५ र २६, माम्खा २७ र २८, अधेरी २९ र ३० गते र पंखु गरि ५ वटा कार्यक्रम सञ्चालन भएको महासचिव बाहिङले बताए । त्यसैगरी सोलुखुम्बु जिल्लाको नेचासल्यान गाउँपालिकास्थित वडा नं. ५ मा पुष २ र ३ गते, खियाम्पुमा ४ र ५ गते, दोदीमा ६ र ७ गते कार्यक्रम सञ्चालन गरिएको थियो ।

सुनसरी जिल्लामा पुषको १० र ११ गते, सुनसरी महेन्द्रनगरमा १२ र १३ गते र काठमाण्डौ उपत्यकामा पुष १६ र १७ गते गरि ११ स्थानमा कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रममा भाषागत सहजकर्ताको रुपमा सोलुखुम्बुबाट शेखर बाहिङ र ओखलढुंगाबाट करुणा बाहिङले सहजीकरण गरेका थिए ।
लोपोन्मुख बाहिङ वर्ण लेखनको परिचय र सोहि आधारमा कथा, कविताहरु लेख्ने अभ्यास गरिएको थियो । सहभागिले लेखेका कथा कवितालाई संस्थाले संकलन गरि उपयुक्त लेख, रचनालाई बाहिङ पाठ्यपुस्तको कक्षा ३, ४, ५ का लागि प्रयोग गरिने छ । बाँकी संकलित कथा, कविताहरु संस्थाले छुटै प्रकाशन गर्ने समेत महासचिव बाहिङले बताए ।
कार्यक्रमको अन्तिम दिन राजधानीको सुकेधारास्थित नवदुर्गा पार्टि प्यालेसमा चिशंखुगढी गाउपालिकाका बाहिङ अल्पसंख्यक जातिबाट मनोनित कार्यपालिका सदस्य काजिमान बाहिङको प्रमुख आतिथ्य तथा मुलुखिमका अध्यक्ष भूपराज बाहिङको सभापतित्वमा कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा बाहिङ भाषा विभागका संयोजक तथा पद्यमकन्य क्याम्पसका उपप्राध्यपक मुगामाया बाहिङले बाहिङ मातृभाषामा व्याकरणका थप आयमहरुको काम अगाडी बढाउनु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा प्रमुख अतिथि काजिमान बाहिङले जनप्रतिनिधिहरुले जुन विचार र सिद्धान्तमा भएता पनि भाषा, संस्कार, संस्कृति, आफ्नो जाति र समुदायको लागि आफुले सक्ने सहयोग गर्नु पर्ने बताए । साथै मुलुखिमलाई आफुले सक्दो सहयोग गर्दै आएको र भावि दिनमा पनि सहयोग गर्ने प्रवद्धता व्यक्त गर्नुभयो । कार्यक्रमका सभापति तथा मुलुखिमका अध्यक्ष भूपराज बाहिङले भाषा, संस्कार र संस्कृति नै जातिको आधार हो त्यसैले भाषा बाँचे जाति बाच्छ र जाति बाँचे संस्कृति, संस्कार बाँच्ने बताउनु भयो । सभापति बाहिङले आर्थिक सहयोग गर्ने संस्था आदिवासी हिमाली समाजप्रति आभार व्यक्तत गर्नुहुदै अहोरात्र सहजकर्ता गर्नेलाई जिम्मेवारी पुरा गरेकामा धन्यवाद दिनु भयो । यस अभियानलाई सफल पार्नमा जिल्ला समितिहरु, दयाल कार्यसमितिहरुलाई पनि धन्यवाद दिनुभयो ।
बाहिङ वर्ण प्रवद्र्धन तथा लेखन कार्यक्रममा सबै क्षेत्र गरेर ३४५ जना सहभागि भएका थिए । बाँकी रहेका स्थानहरुमा उपयूक्त समयमा समन्वय गरि संस्थाले थप ४ स्थानमा कार्यक्रम सञ्चालन गर्ने पनि निर्णय गरेको छ ।