आज राष्ट्रिय सभा सदस्यको उम्मेदवारी दर्ता हुँदै

  सगरमाथा अनलाईन
84 Shares

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै छ । माघ १२ गते हुने निर्वाचनका लागि बिहान १० बजेदेखि ३ बजेसम्म मनोनयन दर्ताको कार्यतालिका रहेको छ ।

निर्वाचनका लागि ७ वटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय राखिएको छ । सम्बन्धित प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।

रिक्त १९ राष्ट्रिय सभा सदस्यको पदका लागि निर्वाचन हुने लागेको हो । जसमा ७ महिला, ३ दलित, २ अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक र ७ जना अन्य समूहका रहेका छन् ।

आयोगका अनुसार प्रदेश १ बाट ३, प्रदेश २ बाट २, बागमतीबाट २, गण्डकीबाट ३, लुम्बिनीबाट ३, कर्णालीबाट ३ र सुदूरपश्चिमबाट ३ जना निर्वाचित हुनेछन् ।

चुनावका लागि १२ दल निर्वाचन आयोगमा दर्ता भएका छन् । यो चुनावका लागि सत्ता साझेदार दल र प्रतिपक्षी एमाले प्रतिस्पर्धा गर्दैछन् ।

१९ सिटमा सत्ता गठबन्धनमा रहेका दलले भागबण्डा गरेका छन् । जसअनुसार कांग्रेसले ६, माओवादी केन्द्र र एकीकृत समाजवादीले ५/५, जनता समाजवादीले २ र जनमोर्चाले १ सिटमा प्रतिस्पर्धा गर्नेछन् ।

एमाले भने एक्लै चुनावी मैदानमा छ । उसले एक्लै रिक्त १९ पदमा उम्मेदवारी दर्ता गर्दै छ । एमालेले सबै उम्मेदवारको टुंगो लगाइसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार