सोलुखुम्बु । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले जिल्ला कमिटी सोलुखुम्बुको अध्यक्षमा डुफकुमार बास्तोला चयन भएका छन् । आईतबार अबेर सम्पन्न सातौँ जिल्ला अधिवेशनको बन्द सत्रले बास्तोलाको अध्यक्षतामा ९० सदस्यीय जिल्ला कमिटी सर्वसहमत चयन गरेको हो ।
कमिटीको उपाध्यक्षमा हर्कबहादुर राई, सचिवमा आसकुमार राई (शिशिर), उपसचिव दिपक राजभण्डारी र मिङमा शेर्पा चयन भएका छन् । पुस २३ देखि दोर्पुस्थित योङ्ग स्टार क्लवको कर्भड हलमा जारी अधिवेशनले एक दिन ढिला गरि अधिवेशन सम्पन्न गरेको हो ।
पुस २४ गते अधिवेशन सम्पन्न गर्ने पार्टीको पुर्वनिर्धारित कार्यतालिका रहेपनि सहमती जुटाउन समय लागेकाले एक दिन ढिला गरी जिल्ला कमिटी पदाधिकारी टुंग्याएको हो । यस अघि तत्कालिन पार्टी अध्यक्ष मानविर राईले पदबाट राजिनामा दिएर बास्तोलालाई नै अध्यक्षको जिम्मेवारी प्रदान गरेका थिए ।
यस्तै तत्कालिन नेकपा विभाजनपछि एमालेमा आएका तत्कालिन माओवादीका नेता आशकुमार राई ‘शिशिर’लाई सातौँ अधिबेशनले सचिवको जिम्मेवारी प्रदान गरेको छ । अध्यक्ष बास्तोला जिल्लाको नेचासल्यान गाउँपालिकाका अध्यक्ष समेत हुन् ।