सोलुखुम्बु । नेपाली कांग्रेस सोलुखुम्बु प्रदेश ‘क’ समितिको पहिलो पूर्ण बैठक थुलुङदुधकोशी गाउँपालिकास्थित मुक्लीमा सम्पन्न भएको छ ।
सोलुखुम्बु प्रदेश ‘क’ समितिको सभापति धनजन राईको अध्यक्षतामा बसेको बैठकले विभिन्न ९ वटा महत्वपूर्ण निर्णय गर्दै पहिलो बैठक सम्पन्न गरेको हो । बैठकले प्रदेश ‘क’ अन्तर्गतका ४ स्थानीय तहको विकास निमार्णमा खर्च भएको सम्पूर्ण योजनाको हिसाब किताब माग गरी जनता समक्ष सार्वजनिक गर्ने निर्णय गरेको नेपाली कांग्रेस सोलुखुम्बु प्रदेश ‘क’का सचिव विजय गुरुङले बताए ।
बैठकले भक्तबहादुर गुरुङको संयोजकत्वमा पार्टी कार्यालय स्थापना गर्न उपसमिति समेत गठन गरेको छ । अन्य सदस्यहरुमा जीवन गुरुङ, कुशराज राई, केदारसिंह गुरुङ, अम्बरकाजी बस्नेत, टिकाराम राई, महेन्द्रदीप राई, फुर्तिमान तामाङ र खड्गबहादुर गुरुङ रहेका छन् ।
त्यसैगरी बैठकले पार्टीको हरेक गतिविधीलाई आम नागरिकमाझ छिटो छरितो र सहज रुपमा पुर्याउनको लागि नेपाली कांग्रेस प्रदेश ‘क’को वेभसाईट बनाउने, फेसबुक पेज बनाउने, पार्टीको नीति, विचारलाई आम कार्यकर्ता माझ पुर्याउनको लागि समय समयमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।
त्यस्तै प्रदेश ‘क’ क्षेत्रिय समितिको प्रवक्तामा प्रदेश क्षेत्रिय सदस्य अश्मिनबाबु थापालाई जिम्मेवारी दिइएको छ । प्रदेश समितिका सचिव विजय गुरुङको संयोजकत्वमा प्रशिक्षणको लागि उपसमिति गठन गरिएको छ । अन्य सदस्यहरुमा प्रदिप खबास, शंकरबाबु कार्की, केदारसिंह गुरुङ, पुस्कर बास्तोला र कैलाश केसी रहेका छन् ।
बैठकमा नेपाली कांग्रेसका नेतृ रिना उप्रेती केसी, पूर्व सभापति विनोद बस्नेत, गाउँपालिका सभापतिहरु, क्षेत्रिय प्रतिनिधीहरु लगायतको उपस्थिति रहेको प्रदेश समितिका सचिव विजय गुरुङले बताए ।