३ श्रावण २०८२, शनिबार | Sun Jul 20 2025

नेकपा माओवादी केन्द्र सोलुखुम्बुको अध्यक्षमा असिम राई



सोलुखुम्बु । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सोलुखुम्बु जिल्ला समन्वय कमिटी अध्यक्षको जिम्मेवारी असिम राईले पाएका छन् ।

मंगलबार सम्पन्न नेकपा माओवादी केन्द्र प्रदेश नं. १ कमिटीको बैठकले जिल्ला समन्वय कमिटी सचिव रहेका राईलाई अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो । राई जिल्लाको सबैभन्दा ठूलो गाउँपालिका थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष समेत छन् ।

यसअघि माओवादी केन्द्र जिल्ला समन्वय कमिटीको अध्यक्ष गोम्बु शेर्पा थिए । शेर्पाले पार्टी केन्द्रीय कमिटी सदस्य दावेदारी दिएपछि सचिव राईलाई जिल्ला अध्यक्षको जिम्मेवारी दिइएको हो । निवर्तमान अध्यक्ष शेर्पाको केन्द्रीय सदस्यमा मनोनीत हुने सम्भावना बलियो रहेको बताईएको छ । राई अध्यक्ष भएपछि रिक्त सचिव पद भने जिल्ला समन्वय कमिटीको बैठकले पूर्ति गर्ने विधानतः व्यवस्था रहेको माओवादी केन्द्रका एक नेताले बताए ।

प्रदेश १ बैठकले सोलुखुम्वु जिल्लाको सह–इन्चार्जको जिम्मेवारी ठमनाथ पराजुली (ध्रुव)लाई दिएको छ । इन्चार्ज भने संघीय सांसद समेत रहेका पार्टीका केन्द्रीय सदस्य हेमकुमार राई (सुरवीर) रहेका छन् ।

अध्यक्षको जिम्मेवारी प्राप्त गरेका राई नेकपा माओवादी केन्द्र भित्र मात्रै होइन सोलुखुम्बु जिल्लाकै उम्दा यूवा नेताको रुपमा हेरिएको छ । राई स्थानीय तहको अध्यक्षमा निर्वाचित भएपछि ५ वर्षे कार्यकालमा गरेका गाउँपालिकाको विकास र आम नागरिकको सेवाका कारण जिल्लामा निकै लोकप्रिय नेताका रुपमा स्थापित भएका छन् ।

प्रकाशित मिति : ११ माघ २०७८, मंगलबार  १ : १६ बजे