३ बैशाख २०८३, बिहिबार | Thu Apr 16 2026

निरन्तर अवरोध गरे,संसद विघटन गर्ने :माधव नेपालको चेतावनी


२२ फाल्गुन २०७८, आइतबार  

21
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटनको पक्षमा अभिव्यक्ति दिएका छन् ।

आइतबार संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुको प्रश्नको जवाफ दिँदै उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको वितण्डा सामना गर्न पनि संसद भंग गर्नुपर्ने बताएका हुन् ।


‘हाउस चल्न पनि नदिने, केही गतिविधि गर्न नदिने, भत्तासत्ता खाने, हामीलाई पनि हैरान पार्ने’ अध्यक्ष नेपालले भने, ‘त्यस्तो हो भने त्यो भन्दा पहिले नै संसदले नै केपी ओलीको वितण्डाको सामना गर्नलाई यो सब भंग गरिदिने, न संसद रहन्छ न हंगामा गर्ने ठाउँ नै रहन्छ । चुनावमा जान्छ ।’

२३ भदौदेखि नेकपा एमालेले संसद बैठकमा निरन्तर अवरोध गर्दै आएको छ । माधव नेपालसहितका २३ सांसदलाई पार्टीले निष्कासनको कारबाही गरेर संसदलाई जानकारी गराउँदा सभामुख अग्निप्रसाद सापकोटाले सूचना टाँस नगरेको विषय उठाएर एमालेले संसद अवरोध गरिरहेको छ ।

 

केही दिनअघि सत्तारुढ गठबन्धनको बैठकमा पनि संसद विघटन गरेर अर्लि इलेक्सनमा जाने विषयमा छलफल भएको थियो ।
आइतबार संसद भवनमा एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई पत्रकारहरुले अर्लि इलेक्सनको हल्ला अलि बढी नै भइरहेको छ नि रु भनेर प्रश्न गरेका थिए । नेता नेपालले त्यो स्वाभाविक भएको प्रतिक्रिया दिए ।

अर्लि इलेक्सन भएमा ३० वैशाखको स्थानीय चुनाव अगाडि नै हुन्छ कि पछाडि भन्ने पत्रकारहरुको प्रश्नमा नेता नेपालले सबै कुरा प्याकेजमा नै हुने जवाफ दिए ।

 

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  १० : ४८ बजे