काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीकरण गर्दा ४ करोड २१ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा रामेछापको लिखु तामाकोशी गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्का र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजुप्रसाद न्यौपाने र टंकप्रसाद चौलागाईंसहित २७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
गाउँपालिकाको वडा नं १, ४ र ५ मा आर्थिक वर्ष २०७४ र ०७५ र ०७५ र ०७६ मा विद्युतीकरण गर्दा आफूहरुलाई गैरकानुनी लाभ पुग्ने र सरकारी रकममा हानिनोक्सानी पु¥याउने बदनियत राखेर अनुभव र कार्यक्षमता नभएका उपभोक्ता समितिहरुसँग विद्युतीकरण जस्तो जटिल प्रकृतिको काम गर्न योजना सम्झौता गरेको अख्तियारले आरोप लगाएको छ ।
अख्तियारले गाउँपालिका अध्यक्ष खड्काले वडा नम्बर १ को विद्युतीकरणमा २ करोड ९४ लाख २५ हजार २०२, वडा नम्बर ४ को विद्युतीकरणमा १ करोड २६ लाख ७५ हजार ५०३ रुपैयाँ हिनामिना गरेको उल्लेख गरेको छ ।
अख्तियारले गाउँपालिकाका अध्यक्ष खड्काविरुद्ध ४ करोड २१ लाख रुपैयाँ विगो मागदावी गरेको छ । गाउँपालिका अध्यक्ष खड्कासँगै तल्कालीन प्रमुख प्रशासकीय अधिकृत राजुप्रसाद न्यौपाने, टंकप्रसाद चौलागाईं, तत्कालिन लेखापाल दुर्गाबहादुर डिम्दोङ, उपभोक्ता समितिका अध्यक्ष बेतबहादुर पुँवार, कोषाध्यक्ष ममिता श्रेष्ठ र सचिव सुब्बा थापामगरविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
त्यस्तै अर्को उपभोक्ता समितिका अध्यक्ष सुनबहादुर तामाङ, कोषाध्यक्ष करिष्मा परियार र सचिव दलबहादुर तामाङ, अर्को उपभोक्ता समितिका अध्यक्ष होमबहादुर महत, कोषाध्यक्ष अनिता श्रेष्ठ र सचिव डिल्लीबहादुर सुनुवारविरुद्ध पनि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
त्यस्तै पाइक कन्स्ट्रक्सन प्रालिका सञ्चालक अमृतबहादुर तामाङ (रुम्बा), वडा नम्बर १ को विद्युतीकरण उपभोक्ता समितिका अध्यक्ष काजीबाबु थापा, कोषाध्यक्ष तारा गुरुङ र सचिव यज्ञराज सुनुवार, वडा नम्बर १ कै उपभोक्ता समितिका अध्यक्ष वुद्धिबहादुर तामाङ, कोषाध्यक्ष मेनुका खड्का र सचिव अस्मिन रोका, अर्को उपभोक्ता समितिका अध्यक्ष प्रचण्ड सुनुवार, कोषाध्यक्ष घन्टिका देवी सुनुवार र सचिव क्याल्बु लामाविरुद्ध पनि विशेष अदालतमा मुद्दा परेको छ ।
अख्तियारले वडा नम्बर १ कै अर्को उपभोक्ता समितिका अध्यक्ष अशोककुमार सुनुवार कोषाध्यक्ष दिलमाया थापा र सचिव प्रकाश सुनुवार र गाउँपालिका कार्यालयका तत्कालिन लेखापाल नोर्बु लामाविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।