संरक्षणको पर्खाइमा प्रभास ताल

0 Shares

पाल्पा, ११ कात्तिक । जिल्लाकै प्रख्यात ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय महत्व बोकेको प्रभास ताल संरक्षण हुन नसक्दा अहिले कुरुप बन्दै गएको छ । ताल नजिकै रहेको लुम्बिनी मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल र त्यस आसपासका क्षेत्रमा सञ्चालित होटेलबाट निस्कने दुर्गन्धित पानी तालमा मिसिँदा प्रभास ताल दुर्गन्धित बन्न पुगेको हो ।

यस तालमा रहेको पुरानो धान फोहोरका कारण अहिले हराउँदै गएको छ भने तालमा फोहोरजन्य पदार्थ थुप्रिन थालेका छन् । जिविसले ठेक्कामा तालमा माछा पाल्न दिएको थियो तर अहिले फोहोरका कारण माछा मरेर लाखौँ रुपैयाँ नोक्सान भएपछि सो व्यवसाय नै बन्द भएको स्थानीयवासी खुमराज शर्माले बताउनुभयो ।

लुम्बिनी मेडिकल कलेजले फोहोर व्यवस्थापन गर्न नसकेका कारण सो तालमा दुर्गन्ध फैलिएको छ । स्थानीय सरोकारवालाले तालको विषयमा कलेज प्रशासनलाई ध्यानाकर्षण गराए पनि व्यवस्थापनमा चासो नदेखाएको स्थानीयवासीले आरोप लगाएका छन् ।

पर्यटकको आकर्षणको केन्द्रबिन्दु मानिएको यस तालमा सञ्चालन हुँदै आएको डुङ्गा फोहोर पानीकै कारण बन्द भएको छ । कुनै समय कमलपोखरीका नामले पनि चिनिने यस प्रभास तालमा पाइने कमल फूल पनि हराउँदै गएको छ ।

जिल्लामा भित्रने पर्यटकले डुङ्गामा चढेर दिनभर तालको अवलोकन गर्दै आएकामा अहिले फोहोर फैलिन थालेपछि पर्यटकको आवागमन न्यून रहेको छ । यस्ता पर्यटकीय ऐतिहासिक क्षेत्रको संरक्षण गर्नेतर्फ सम्बन्धित निकायले समयमै नसोच्ने हो भने प्रभास ताल भविष्यमा ‘डम्पिङसाइड’का रुपमा परिणत हुन सक्नेछ । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार