बालविवाह मुद्दाका तीन दाजुभाइ कारागार चलान

0 Shares

खोटाङ, १२ कात्तिक । बालविवाह मुद्दामा पक्राउ परेका खोटाङका तीन दाजुभाइ कारागार चलान भएका छन् । अढाइ वर्षअघि भएको बालविवाहको मुद्दामा पक्राउ परेका जालपा–६ का ३५ वर्षीय जापान राई, २४ वर्षीय मदन राई र २० वर्षीय भलाकाजी राईलाई अदालतको आदेशमा कारागार चलान गरिएको हो ।

उमेर नपुगेकी किशोरीसँग विवाह गरेको भन्दै भलाकाजी र विवाहमा सहयोग गरेकामा दाजु जापान र मदनविरुद्ध प्रहरीमा माइती पक्षबाट उजुरी परेको थियो । तीन दाजुभाइलाई गत साउन २५ गते जिल्ला अदालतले जनही पाँच÷पाँच हजार जरिवाना र एक÷एक महिना कैद सजाय तोकेको थियो ।

अदालतको निर्णय आएलगत्तै फरार रहेका उनीहरुलाई खोजी गरी बुधबार जालपाबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सरोज राईले बताउनुभयो । पक्राउलगत्तै जिल्ला अदालतसमक्ष उपस्थित गराइएकामा अदालतकै आदेशमा बिहीबार कारागार चलान गरिएको हो । सुरुमै पक्राउ परेका उनीहरु १०÷१० हजार धरौटीमा रिहा भएका थिए । बकपत्रपछि अदालतको निर्णय आएलगत्तै फरार रहेका उनीहरुलाई खोजेर पक्राउ गरिएको हो । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार